सौर्यको जहाज छानबिनबारे राप्रपाले सोध्यो : अनुसन्धान गर्नुपर्ने व्यक्ति किन समितिमा राखेको?

हिमाल प्रेस १३ साउन २०८१ १४:५२
20
SHARES
सौर्यको जहाज छानबिनबारे राप्रपाले सोध्यो : अनुसन्धान गर्नुपर्ने व्यक्ति किन समितिमा राखेको? राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्स विमान दुर्घटनामा छानबिन गर्नुपर्ने पहिलो व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भन्दै आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै अध्यक्ष लिङ्देनले समितिको निष्पक्षतामाथि नै प्रश्न उठाएका हुन्। ‘छानबिन समितिको गठनमा नै प्रश्न उठेको छ। सौर्य एयरलाइन्स दुर्घटनामा अनुसन्धानको दायरामा सबैभन्दा पहिलो आउने सुरक्षा प्रमुखका भिनाजुलाई आयोगमा राखिएको छ,’ उनले भने, ‘यसरी एउटै व्यक्तिलाई किन पटक–पटक छानबिनको जिम्मेवारी दिइन्छ ?’

सौर्य एयरलाइन्सको दुर्घटनामा केही गम्भीर प्रश्नहरू उठेको उनको भनाइ थियो। विमानलाई सी–चेकका लागि पोखरा नै लानु पर्ने, काठमाडौँमा नहुने, के कारण थियो ? काठमाडौँमा त्यो हुन सक्ने हो कि होइन ? भन्दै लिङ्देनले प्रश्न गरे।

नेपाल एयरलाइन्स, बुद्ध एयर, यति एयरलाइन्स र नेपाल आर्मीको ह्याङ्गरमा यो सी चेक गराउने सुविधा दिन सकिन्थ्यो कि सकिँदैन थियो र यसका लागि प्रयत्न भयो कि भन्नेमा नियामक निकाय, मन्त्रालय र सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ थियो।

‘योसँग सँगै त्यति ठुलो सङ्ख्यामा कर्मचारीहरू जानुपर्ने, त्यसमाथि पनि गैरप्राविधिकहरू जानुपर्ने आवश्यकता थियो कि थिएन ?,’ उनले प्रश्न गरे, ‘उडान अनुमति दिनुभन्दा अघि को–को जाँदैछन् र कति जना जाँदैछन् भन्ने हेर्ने कुनै निकाय थियो कि थिएन ? हेर्नुपर्थ्यो कि पर्थेन ? असम्बन्धित मानिसहरू कसरी गए ?’

सौर्य एयरलाइन्स दुर्घटनाको घटनाक्रमलाई हेर्दा नियामक निकायको लापरबाही देखिएको उनको भनाइ थियो। यसअघि पोखरा विमानस्थलमा पनि जडान हुनुपर्ने सबै प्रविधि जडान नभई पोखरा विमानस्थललाई उडानका लागि योग्य भनिएकोमा पनि उनले प्रश्न उठाए।

विश्वमा हवाई उडन यात्राका लागि सबैभन्दा सुरक्षित माध्यम मानिए पनि नेपालमा असुरक्षित र सबैभन्दा भयावह रहेको उनले जिकिर गरे। गत बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा पाइलटबाहेक जहाजमा सवार १८ जनाको ज्यान गएको थियो। पाइलट मनीषरत्न शाक्यको भने उपचार जारी छ।

प्रकाशित: १३ साउन २०८१ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =