‘नाफा’ को जीवनबाट समाजवादी यात्रामा झलनाथ

किरण पौडेल १३ साउन २०८१ १३:०५
480
SHARES
‘नाफा’ को जीवनबाट समाजवादी यात्रामा झलनाथ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल। फाइल तस्बिर

काठमाडौँ- पटकपटक जिम्मेवार पदमा पुगेर पार्टी र देशको नेतृत्व लिएका झलनाथ खनालमा अझै पनि राजनीतिमा सक्रिय छन्। समाजवादी यात्राबाटै देशको आमूल परिवर्तन गर्न सकिने अठोटमा दृढ रहेका खनाल वर्गीयता उन्मूलन र धनीगरिबको खाडल पुर्ने अन्य उपाय नरहेको बताउँछन्। बाँचुन्जेल समाजवादको वकालत गरिरहने संकल्प लिएकाले तत्काल  राजनीतिबाट विश्राम लिने सोचाइमा नरहेको  खनालले बताए।

खनाल एकपटक प्रधानमन्त्री भए। दुईपटक मन्त्री भए। एकपटक नेकपा एमालेका अध्यक्ष भए। अहिले उनी नेकपा एकीकृत समाजवादीमा दोस्रो कार्यकालमा सम्मानित नेताको जिम्मेवारीमा छन्। उनी मदन भण्डारीभन्दा पहिला महासचिव भएका हुन्।

मन्त्री भइसकेको, पार्टी अध्यक्ष भइसकेको र प्रधानमन्त्री पनि बनिसकेका व्यक्तिले अवकाश लिनु पर्दैन? खनालको जबाफ आउँछ, ‘जबसम्म जनतामा सुख मिल्दैन तबसम्म संघर्ष गरिरहनुपर्छ।’ आफ्ना लागि पद मामूली रहेको र राजनीति जनताका लागि गरेको खनाल बताउँछन्। मिर्गौला प्रत्यारोपण गरेर तंग्रिएका खनाल ७५ वर्षका भए।

खनाल २०६७ माघ २३ देखि २०६८ भदौ ११ सम्म प्रधानमन्त्री बने। संविधान निर्माणको जिम्मेवारी पाए पनि उनले त्यो पूरा गर्न सकेनन्। २०६५ फागुनमा सम्पन्न एमालेको आठौँ राष्ट्रिय महाधिवेशनबाट उनी केपी शर्मा ओलीलाई पराजित गर्दै अध्यक्ष चुनिएका थिए। खनाल अध्यक्ष भएपछि एमालेमा बहुपदीय पद्धति सुरु भएको हो।

लामो राजनीतिक यात्रामा पटकपटक महत्त्वपूर्ण जिम्मेवारी पाउने नेतामध्ये खनाल अगाडि छन्। उनी २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले)का संस्थापक सदस्य भए। चार वर्षपछि महासचिव चुनिए। ‘मैले नै मदन भण्डारीलाई महासचिव प्रस्ताव गरेको थिएँँ’, खनालले भने। भण्डारीको २०५० सालमा चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो।

खनाल जनआन्दोलनपछि गठित अन्तरिम सरकारमा कृषि, भूमिसुधार तथा व्यवस्था र वन तथा वातावरणमन्त्री बनेका थिए। २०५३ सालमा खनाल सूचना तथा सञ्चारमन्त्री भए। खनाल अहिले पनि उत्तिकै सक्रिय छन्। ‘खनाल पहिले जस्तै सक्रिय देख्छु। हामीजस्तै बिहानबेलुकै सबै काममा सक्रिय’, समाजवादीका युवा नेता सञ्जीव राई भन्छन्, ‘खनाल अहिले पनि पहिलेजस्तै काममा रहनुहुन्छ उहाँ।’

खनाल निवास डल्लुमा भेटघाटमा आउनेको चाप उत्तिकै देखिन्छ। उनी सबैलाई भेट्छन्। ‘बिहानबेलुका त भेटघाटमै जान्छ। देशभरका कार्यकर्तासँग छलफल गर्नुपर्छ,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराई भन्छन्।

समाजवादको भोक

हरेक सभासमारोह वा कुनै कार्यक्रममा खनालले दोहोर्‍याउने शब्द हो- समाजवाद। नेपालमा समाजवादीको रटान दिने काम नौलो होइन। संविधानमा पनि समाजवादउन्मुख लेखिएकै छ। झलनाथ भने यसमा खुलेरै लागेका छन्। उनी भन्छन्, ‘अबको हाम्रो यात्रा समाजवाद मात्र हो, अरू हुँदै होइन।’

उनको भनाइमा समाजवादबाटै वर्गीयता उन्मूलन हुन्छ भने धनी र गरिबको खाडल पुरिन्छ। यही मुद्दा बोकेर खनालमा अझै पनि देशको नेतृत्व गर्ने हुटहुटी छ। ‘देशलाई समाजवादी दिशामा लैजान म जुनसुकै जिम्मेवारी निर्वाह गर्न सक्छु,’ खनाल भन्छन्।

खनाल सदावहार समाजवादको प्रचारक हुन्। एमालेमै रहँदा जनताको बहुदलीय जनवाद (जबज) को खनालले विरोध गर्थे। जबजको समय सकिएको र अब समाजवादी क्रान्तिमा लाग्नुपर्ने खनालको अडान छ। उनको यो अडानले कुनै बेला एमालेमा सैद्धान्तिक बहसमा मतदान भएको थियो।

एमालेका तत्कालीन वरिष्ठ नेता केपी शर्मा ओलीको निवासमा २०६६ कात्तिक ७ गते आयोजित रात्रिभोजमा  एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, ओली र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल। तस्बिर : विकास कार्की

उनले समाजवादको वकालत गर्न छाडेनन्। जबजलाई ‘दक्ष प्रजापतिको टाउको’ को उपमा दिन्थे खनाल। यसर्थ, उनी कहिल्यै जबजको पक्षपाती भएनन्। अहिले पार्टीमा पनि उनले समाजवाद भित्र्याएका छन्।

खनालले १० औँ महाधिवेशनबाट समाजवादीको मार्गदर्शक सिद्धान्त ‘नेपाली विशेषताको समाजवाद’ ल्याएका हुन्। अहिले समाजवादीमा सैद्धान्तिक जित भएको उनको निष्कर्ष छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले जबजलाई निरन्तरता दिने पक्षमा थिए। खनालले मानेनन्। यसपछि अध्यक्ष नेपाल पछि हटे।

खनाल सैद्धान्तिक मात्र नभई महाधिवेशनमा सांगठनिक राज गर्न चाहन्थे। उनी अध्यक्षकै दाबेदार थिए। अन्तिममा नेपाल र महासचिव घनश्याम भुसालबीच भिडन्त हुने बुझेपछि आफू दाबेदारबाट बाहिरिए। महाधिवेशनबाट पनि खनाल सम्मानित नेता बनेका छन्।

अभिभावकत्व ग्रहणपछि सकियो महाधिवेशन

खनाल अहिले समाजवादीको संगठन विस्तारमा लागेका छन्। हालै सम्पन्न महाधिवेशनबाट समाजवादको यात्रा सुरु भएको खनालको दाबी छ। महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव मात्र चुनिए।

अब अन्य पदाधिकारी र केन्द्रीय कमिटी निर्माण लाग्नुपर्नेछ। त्यसपछि प्रदेश कमिटी र जिल्ला कमिटीको अधिवेशन गर्नै बाँकी छ। महाधिवेशनमा खनालले अध्यक्ष मण्डलको अध्यक्ष बनेका थिए।

खनालले नै सर्वसम्मत नेतृत्व छान्न पहलकदमी गरे। अध्यक्षबाट पछि हटेर सम्मानित नेता बनेपछि अरू नेतालाई सहजीकरण गरेका थिए। पाँच दिन लम्बिएर भए पनि महाधिवेशन सकियो।

खनालको ठोकुवा छ, ‘हामीले उन्नत लोकतन्त्रमा हुने उन्नत व्यवस्था महाधिवेशनबाट ल्याएका छौँ।’ उनी अब समाजवाद बुझाउन देश घुम्ने प्रयत्नमा छन्।

सकसपूर्ण त्यो क्षण

०७८ साउनमा तत्कालीन नेकपा एमालेका नेता झलनाथ खनालको जीवन एकाएक सकसपूर्ण बन्यो। एकातिर स्वास्थ्य समस्या र अर्को पार्टीमा आन्तरिक विवाद। यसैबेला उनी उपचारका लागि भारत गए।

७० वर्षमाथिको जीवनमा मिर्गौला प्रत्यारोपण गर्दा उपचार सफल हुन्छ वा हुँदैन, अन्योल थियो। भाग्यको कुरा! खनालको मिर्गौला प्रत्यारोपण सफल भयो। दुःखको कुरा! उनी भारतमै रहँदा पार्टी विभाजित भयो।

यसबेला पार्टीमा अध्यक्ष केपी शर्मा ओलीसँग माधवकुमार नेपालसहितबीच तिक्तता बढेको थियो। भारत जानुपूर्व उनले पार्टी विभाजित नगर्न अनुरोध गरेका थिए। उनको अनुरोधको सुनुवाइ भएन।

२०७८ भदौ २ मा एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा उनी भारतै उपचार गराइरहेका थिए। उपचारकै क्रममा खनालले समाजवादीमै सनाखत गराए। यसपछि खनालको जीवन र पार्टी नयाँ गतिमा सुरु भयो।

खनाल भारत जाँदा एउटा र फर्किँदा अर्कै पार्टीका नेता भए। यसो हुनुमा तत्कालीन प्रधानमन्त्री ओलीले असंवैधानिक तवरले संसद् विघटन गरेपछि साक्षी बस्न नसकेको उनी बताउँछन्। खनाल भन्छन्, ‘आफैँले जन्माएको र हुर्काएको पार्टी छाडेर नयाँ बनाउन लाग्नुपर्‍यो।’ २०४६ पछि एमाले निर्माण गर्दा खनालको मुख्य भूमिका थियो।

एकीकृत समाजवादी गठन भएपछि खनाल पहिलेभन्दा सक्रिय बन्न लागे। उनमा फुर्तिफार्ती बढ्यो। घर्किँदो उमेर, प्रत्यारोपणपछिको मिर्गौला र नयाँ पार्टी, खनालका लागि जीवनमा सहज त थिएन।

पार्टीमा पहिलेभन्दा सक्रिय बन्न थाले। किनभने शल्यक्रियाबाट जीवन सफल हुनुलाई उनले महत्त्वपूर्ण ठाने। ‘शल्यक्रियापछि मलाई नाफाको जीवन बाँचिरहेको अनुभव हुन्छ। म बाँच्न सफल भएँ,’ खनाल भन्छन्, ‘हामी समाजवादकै जगमा हिँड्ने हो। यसैबाट अघि बढ्न सक्छौँ।’

उनी यसपछिको जीवन उपहार पाएको खनाल बताउँछन्। यसैले पनि बाँकी जीवन देश र जनताकै लागि छुट्याएको उनी सुनाउँछन्।

यसैले पनि संगठन विस्तारमा देशव्यापी अभियानमा सक्रिय छन्। महाधिवेशनको मुखमा पनि उनी देशभर दौडिए। ‘म पर्याप्त समय जनतालाई दिन सक्छु। म रोगी छैन अहिले’, खनाल भन्छन्।

उनको सक्रियताको पनि अर्कै कारण छ। किनभने उनी अहिले ‘समाजवाद’को वकालतमा लागेका छन्। जनतालाई समाजवाद बुझाउन आफू सक्रिय भएको खनालको दाबी छ।

उनी अहिले देशमा विकृत राजनीति फैलिएको सुनाउँछन्। ‘लुछाचुँडीबाहेक अहिले देशमा केही भएको छैन। सबैतिर अकर्मण्यता बढेको छ,’ खनाल भन्छन्, ‘देशमा विरक्तपना बढेको छ। युवाहरू बिदेसिन बाध्य छन्। यी सबै विषयको उपचार समाजवाद हो। जसरी पनि त्यहाँ पुग्नुपर्छ।’

शिक्षकको जागिर र चित्रबहादुर केसीको सहयोग

खनालले भूमिगत जीवनदेखि जेलको जीवनसम्म भोगेका छन्। ‘म बागलुङमा रहँदा दिउँसो पढाउने र बिहानबेलुका संगठन बनाउने काम गर्थे,’ खनाल भन्छन्। उनको जिल्ला इलाम हो। पेसाको आवश्यकता देखाउँदै जागिरका लागि उनी बागलुङ पुगेका थिए। योभन्दा रोचक कुरा उनी २०२७/२८ सालमा बागलुङको गलकोट माध्यमिक विद्यालयमा विज्ञान शिक्षक थिए।

विद्यालयको प्रधानाध्यापक अहिलेका जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी थिए। खनालका अनुसार केसीले नै उनलाई जागिरमा लगाइदिएका थिए। उनी त्यसैबेला राजद्रोहको आरोपमा केही महिना जागिरको निलम्बनमा परेका थिए। खनाल २०३० सालमा सार्वजनिक सुरक्षा ऐनअन्तर्गत १४ महिना जेल परे। केही समयपछि छुटेका खनाल भूमिगत भएका बेला २०३३ सालमा झापामा पक्राउ परेका थिए।

खनाल २०३६ सालको प्रजातान्त्रिक आन्दोलनपछिको आममाफीमा झापा जेलबाट रिहा भएका थिए। पार्टीले जनमतसंग्रह बहिष्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भएका थिए।

प्रकाशित: १३ साउन २०८१ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =