भेडेटारको वैकल्पिक पाथीभरा, ताप्लेजुङ पुग्न नसक्नेका लागि सहज

हिमाल प्रेस १३ साउन २०८१ १०:१५
8
SHARES
भेडेटारको वैकल्पिक पाथीभरा, ताप्लेजुङ पुग्न नसक्नेका लागि सहज

सुनसरी- सिराहाबाट आएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिए। यो मन्दिरमा पूजा गरेमा मनोकांक्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उनले बताए। दुहवी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको पूरा हुने विश्वासका कारण भेडेटार आएको बताए।

विराटनगरका उमेश साहले परिवारको प्रगति र शान्तिको कामना मन्दिर आएको बताए। उनले भने, ‘ताप्लेजुङको पााथिभर पुग्न हामीलाई केही दिन लाग्छ, ठूलो पाथिभराको झै महत्व भएकाले यहीँ पूजा गरेको हो।’ उक्त मन्दिरमा पूजार्चजना गरेमा मागेको कुरा पूरा हुन्छ भन्ने विश्वासका कारण प्रायः आफू सपरिवार आउने गरेको उनले सुनाए।

देशका विभिन्न भागका साथै भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ भक्तजन आउने गरेका मन्दिरका पुजारी आइतबहादुर लिम्बूले बताए। दैनिक सरदर दुई सय ५० तथा वार्षिक ५० हजार भक्तजन आउने गरेका उनले बताए। यहाँ बिहानदेखि बेलुकासम्म पूजा हुने गरेकाले बेलुकासम्म नै मान्छेको चहलपहल हुने गर्दछ। मन्दिरका कारण कोशी प्रदेशको धार्मिक पर्यटकीयस्थलका रूपमा भेडेटार विकसित भएको पुजारी लिम्बूले बताए।

विगतमा देवीको यो मन्दिरमा भेडा–बोकाको बलि दिने गरिएकामा हाल परेवा उडाउने, फलफूल चढाउने र शृंगारका सामग्री चढाउने थालिएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न नसक्नेहरूले यहीँबाट भाकल पूरा गर्ने पुजारी लिम्बू बताउँछन्।

समुद्र सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको देवीको मूर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरी पूजा गरिँदै आइएको छ। यो मन्दिरबाट ताप्लेजुङको पाथीभरा देखिने भएकाले यसलाई सोही मन्दिरको प्रतीक मानेर पूजाआराधना हुने गरेको छ।

प्रकाशित: १३ साउन २०८१ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast