कोशी प्रदेश भागबन्डा : केन्द्रमा ओली प्रधानमन्त्री रहुँञ्जेल हिक्मत मुख्यमन्त्री रहने

हिमाल प्रेस १३ साउन २०८१ ६:३९
18
SHARES
कोशी प्रदेश भागबन्डा : केन्द्रमा ओली प्रधानमन्त्री रहुँञ्जेल हिक्मत मुख्यमन्त्री रहने

इटहरी- कोशी प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलेको छ। भागबन्डा अनुसार एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा कांग्रेसले चार मन्त्रालय पाउनेछ। यसैगरी केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिने सहमति भएको छ।

वतर्मान एमाले नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको कांग्रेस नेता एव प्रदेश सभासद भीम पराजुलीले जानकारी दिए। प्रदेश सांसद पराजुलीका अनुसार दुवै दलका नेताहरूको शनिबार काठमाडौंमा सम्पन्न बैठकले सरकारको नेतृत्व आलोपालो गर्नेसँगै मन्त्रालय भागबन्डाको विषयमा सहमति गरेका हुन्।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाबीचको बैठकले मुख्यमन्त्रीमा आलोपालोसहित प्रदेशमा चार–चार वटा मन्त्रालय लिने गरी सहमति गरेको बैठकमा सहभागी छ। यी दुई दलका नेताहरूले मुख्यमन्त्री पदमा दुवै दलले आलोपालो गर्ने र त्यसको समयको निर्धारण केन्द्रीय गठबन्धन अनुसार गर्ने सहमति भएको छ।

कोशीमा अहिले एमालेका कार्की मुख्यमन्त्री छन् भने संघमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । यो सहमति अनुसार अब केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले मुख्यमन्त्री लिनेछ । पराजुलीका अनुसार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, वन वातावरण तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने निश्चित भएको छ। यी तीन वटै मन्त्रालय यसअघि माओवादीसँग थियो । कांग्रेसले यी बाहेक सामाजिक विकास र कृषि मन्त्रालयमध्ये एउटा लिने सहमति भएको छ।

यससँगै कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन बाँकी छ । अहिले कांग्रेस सांसदहरू मन्त्रीका लागि दौडमा छन् । कांग्रेस सोमबारसम्म सरकारमा सहभागी हुने जनाइएको छ ।

प्रकाशित: १३ साउन २०८१ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =