काठमाडौँ – काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्सेर राणाले ‘सत्तासीन ‘कुम्भकर्ण’ लाई जगाउन र जनताको पक्षमा परिवर्तन ल्याउन राप्रपाले उपत्यकामा अर्जुन दृष्टि कायम राखेको बताएका छन्।
‘जनताको पीरमर्का बेवास्ता गरेर सरकारमा मस्त सुतिरहेको कुम्भकर्णलाई प्रभावकारी धक्का दिन राप्रपा रणनीतिक रुपमा अघि बढेको छ उनले बताएका हुन्।
‘सशक्त युवा दस्ता र उपत्यकाकेन्द्रीत संगठन त्यसै लक्ष्यको माध्यम हो,’ संगठन विभाग प्रमुखसमेत रहेका राप्रपा महामन्त्री राणाले शनिबार भने।
राप्रपा संगठन विभागको कार्ययोजनाअनुरुप सम्पन्न नगरस्तरीय संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै राणाले स्थानीय तहमा हुने बजेट दुरुपयोग र भ्रष्टाचारविरुद्ध कडा खबदारी गर्न कार्यकर्तालाई निर्देशन दिए।
‘स्थानीय तहको जगमा देश बन्ने हो, समाज बन्ने हो। त्यसैले नगरपालिका र वडा तहमा जनताको पक्षमा र भ्रष्ट मनोवृत्ति विरुद्धमा राप्रपाले खबरदारी गर्नुपर्दछ,’ उनले भने ।
महामन्त्री कृन्ती शाहीले स्थानीय तहमा महिला जागरणको महत्व उजागर गर्दै महिला शक्तिको बलमा घरपरिवारमा मात्र नभएर देशमा सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए।
प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले पात्र र प्रणालीमा विद्यमान समस्या सरकार र प्रधानमन्त्री परिवर्तनले सम्बोधन नहुने भएकोले नवीन समझदारी गरेर सबै शक्ति र विचार अटाउने संरचना र सहमति आवश्यक रहेको बताए।
नगर अध्यक्ष अनिल पराजुलीको अध्यक्षता सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले आफ्नो सगठन आफैं बनाउनुपर्छ भन्ने यथार्थ मनन् गरेर स्थानीय संगठन मजबुत बनाउनु पर्ने बताए ।