नेता निधिको सुझाव : स्थानीय तह निर्वाचनमा दलीय व्यवस्था हटाऔंं

हिमाल प्रेस १२ साउन २०८१ १६:०९
388
SHARES
नेता निधिको सुझाव : स्थानीय तह निर्वाचनमा दलीय व्यवस्था हटाऔंं

काठमाडौं – नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अहिलेको सत्ता गठबन्धन २०८४ को चुनावसम्म टिक्ने बताएका छन्।

यसअघि भएकाभन्दा फरक भएकोले यो गठबन्धन पूर्णकाल टिक्ने उनले बताएका हुन्।

‘अहिलेको गठबन्धन टिक्छ कि टिक्दैन भनेर धेरैले आशंका गरेको हेर्छु, केही शंका आशंका गर्नु पर्दैन,’ ४२ औं बीपी स्मृति दिवसको अवसरमा भक्तपुर कांग्रेस क्षेत्र नम्बर २ ले शनिबार आयोजना गरेको कार्यक्रममा निधिले भने,‘यो गठबन्धन पूर्णकालसम्म चल्छ, म दाबीको साथ भन्नसक्छु।’

उनले यसपालिको सम्झौता बढी शक्तिशाली र आधिकारिक भएकाले नटिक्ने भनेर शंका गर्ने ठाउँ नरहेको जिकिर गरे।

‘यसअघि भएका सम्झौताहरू संसदमा प्रस्तुत भएको थिएन, यसपालि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्ट्रमबाटै सातबुँदे सम्झौता वाचन गर्नु भएको छ,’ निधिले भने,‘दुई वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुन्छ भनेर उहाँले संसदबाटै भनिसक्नु भएको छ, सबै गठबन्धन तुहिन्छ भन्ने होइन।’

कांग्रेस र एमालेबीच भएको सात बुँदे सम्झौता प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत गरेकाले यो गठबन्धन शक्तिशाली र आधिकारीक रहेको उनको भनाइ छ।

दुई वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने संसदमा रेकर्ड भएको बताउँदै निधिले दुई दलकै संख्या पर्याप्त भएकाले अरू दललले केही गर्न नसक्ने जिकिर गरे।

वर्तमान गठबन्धन पूर्णकालसम्म चल्ने भए पनि आगामी निर्वाचनमा कांग्रेसले एक्लै बहुमत ल्याउने गरी संगठन बिस्तार अभियानमा जुट्न उनले कार्यकर्ताहरूसँग आग्रह गरे।

नेता निधिले गठबन्धन निर्माणमा दुई दलबीच भएका सात बुँदामध्ये संविधान संशोधनको सम्झौता महत्वपूर्ण रहेको बताए।

उनले विगतमा संविधान संशोधनका लागि तयार नभएका दल यतिबेला सकारात्मक भएको उल्लेख गरे।

‘संविधान जारी भएकैबेला संशोधन जरूरी छ भनेर कांग्रेसले स्वीकार गरेकै हो, केही संशोधन पनि भएको छ, तर, त्यो पर्याप्त होइन,’ निधिले भने,‘संविधान संशोधनबारे अहिले आधिकारिक छलफल अगाडि बढेको छैन, सम्झौता भएपछि संशोधन हुन्छ नै।’

उनले स्थानीय चुनावलाई दलीय आधारमा नभइ स्वतन्त्र रूपमा हुनेगरी संविधान संशोधन गर्न सुझाव दिएका छन्।

‘पहिले प्रतिनिधिसभा, त्यसपछि प्रदेस र अन्त्यमा चुनाव हुनेगरी संविधान संशोधन होस् भन्ने मेरो सुझाव हो,’ निधिले भने,‘स्थानीय तह चुनावलाई दलीय आधारमा नगरी स्वतन्त्र रूपमा गर्दा उपयुक्त हुन्छ जस्तो लागेको छ, यो छलफलको विषय बन्नुपर्छ।’

उनले कांग्रेस लोकतान्त्रिक दल भएकोले गुटबन्दीलाई धेरै गम्भीर रूपमा लिन नहुने बताए।

स्थापनाकालदेखि नै गुटगत राजनीति हुँदै आएकोले यो अन्त्य हुने सम्भावना पनि नरहेको उनको भनाइ छ।

‘गुटबन्दी धेरै चिन्ताको विषय होइन, बीपी र गणेशमानका बेला पनि गुटबन्दी भएकै थियो, तर उहाँहरू सँधै पार्टीको हितमा लागि रहनुभयो’ निधिले भने।

उनले गुटबन्दी भए पनि व्यक्ति केन्द्रित नभएर विचार केन्द्रित राजनीति गर्नुपर्नेमा जोड दिए।

निधिले कांग्रेसले बीपीको बाटो नछोडेर उनकै बाटोमा अगाडि बढिरहेको उल्लेख गरे।

प्रकाशित: १२ साउन २०८१ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 18 =