रुमका ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण

हिमाल प्रेस १२ साउन २०८१ ७:४०
2
SHARE
रुमका ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको १ करोड ८७ लाख ९० हजार ९८६ को लागतमा निर्माण भएका ३ वटा आयोजनाबाट ४०९ घरधुरी लाभान्वित भएका छन्।

ठूलोरुममा २७०, बिलबाङमा ६४ र कलान भनारी खानेपानी तथा सरसफाई आयोजनाबाट ७३ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए। यसअघि सार्वजनिक धारा मार्फत खानेपानी वितरण हुने गरेको थियो । घर, आगनकै धारामा नियमित पानी आपुर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको छ । धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ ।

स्थानीयबासीको दैनिकी र जिवनशैली परिवर्तन भएको छ । स्वास्थ्य र सफा खानेपानी आपुर्ति हुन थालेपनि दुषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण हुने अपेक्षा गरिएको छ । खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरि हेरालु राखिएको वडा अध्यक्ष बुढाथोकीले बताए।

१ करोड १५ लाख ७ हजार ४२४ को लागतमा निर्माण भएको ठूलोरुम खानेपानी तथा सरसफाई आयोजना मार्फत १ हजार ४२३ र ३६ लाख ६५ हजार ८०४ को लागतमा निर्माण भएको बिलवाङ खानेपानी तथा सरसफाई आयोजनाबाट ३६२ जनसंख्या लाभान्वित भएका छन्। कुल ३५ लाख ७४ हजार ७५८ को लागतमा निर्माण भएको कलात भनारी खानेपानी तथा सरसफाई आयोजना मार्फत ७३ घरधुरीका ३४४ जनसंख्या लाभान्वित भएका छन् । ४११ जना विद्यार्थी अध्ययनरत विद्यालयमा १ वटा धारा जडान भएको छ।

नेवासँगको साझेदारीमा मालिका गाउँपालिकामा यस वर्ष ६ वटा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। वडा नम्बर २ मा निर्माण भएका ३ वटै आयोजनाको शुक्रबार गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन र वडा अध्यक्ष बुढाथोकीले उद्घाटन गरेको थियो।

प्रकाशित: १२ साउन २०८१ ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =