एकीकृत समाजवादीमा माधव नेपालले बढाएको टकराव

किरण पौडेल ११ साउन २०८१ १९:०६
272
SHARES
एकीकृत समाजवादीमा माधव नेपालले बढाएको टकराव

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा दुई नेताले दाबी गरेपछि अध्यक्ष माधवकुमार नेपाल सकसमा परेकमा छन्। पार्टीमा नेताहरू बेदुराम भुसाल र राजेन्द्र पाण्डेले वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाएका हुन्।

समाजवादीका नेताहरू अध्यक्ष नेपालबाट भुसाल र पाण्डेलाई भिडाउने काम भएको बताउँछन्। समाजवादी स्थापनाका बेला भुसाल महासचिव र पाण्डे उपाध्यक्ष थिए। घनश्याम भुसाल महासचिव भएपछि बेदुराम उपाध्यक्ष बनेका थिए।

‘घनश्यामजी आउने भएपछि बेदुरामजीले महासचिव छाड्दिनुपर्ने भयो,’ समाजवादीका नेता जगन्नाथ खतिवडा भन्छन्, ‘उहाँ राजी पनि हुनुहुन्थ्यो।’ बेदुरामले महासचिव छाड्नुपर्दा वरीयताको उपाध्यक्ष दिनुपर्ने अडान राखेका थिए। उता पहिलो वरीयताको उपाध्यक्षमा भने पाण्डे थिए।

‘अध्यक्षज्यूले त्यसैबेला वरीयतामामा विवाद मिलाउनुपर्थ्यो,’ समाजवादीका एक नेता भन्छन्, ‘त्यसबेला मौन बस्दा अहिले वरिष्ठ उपाध्यक्षमा विवाद बढ्यो।’ समाजवादी निकट स्रोतका अनुसार झलनाथ-घनश्याम पनि अहिले बेदुरामको पक्षधर बनेका छन्।

नेपाल भने पाण्डेका पक्षमा छन्। प्रकाश ज्वाला पनि उक्त पदका आकांक्षी छन्।  ‘ज्वालाजी जिल्ला बाहिर रहँदा दुई नेतालाई भिडाउने काम भइरहेको छ,’ समाजवादीका एक नेता भन्छन्, ‘यही कारण महाधिवेशनमा पनि कुरा मिलेन। अहिले पनि मिलेको छैन।’

अध्यक्ष नेपाल पाण्डेलाई आफूपछिको अध्यक्षका रूपमा देखाउन चाहन्थे। उनी प्रतिनिधिसभा निर्वाचित साथै कार्यकारी भूमिकाका भएकाले वरिष्ठ दिन चाहेको नेताहरूको बुझाइ छ।

बेदुराम राष्ट्रियसभा सदस्य हुन्। समाजवादीमा अन्य नेताभन्दा पाण्डे ‘लिडरसिप’ भएका नेता मानिन्छन्। बेदुराम महासचिव समेत चलाउन नसकेको आरोप लागेका व्यक्ति हुन्। यही कारण अध्यक्ष नेपालले घनश्याम भित्र्याएर महासचिव हस्तान्तरण गरेको नेताहरूको बुझाइ छ।

समाजवादी स्रोतका अनुसार अझै पनि यी पाण्डे र भुसालमध्ये एकजनालाई ‘वरिष्ठ उपाध्यक्ष’ चुन्न नेपाललाई सकस छ। उपाध्यक्ष, उपमहासचिव र सचिवमा समेत आकांक्षी धेरै छन्।

तीन नेताको भरमा पार्टी

एकीकृत समाजवादीले १० औँ महाधिवेशन सकेको एक महिना बित्दा पनि पदाधिकारी चुन्न सकेको छैन। पदाधिकारी चुन्न नसक्दा अहिले पनि पार्टी तीन नेताका भरमा चलेको छ। महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई मात्र चुन्यो। यसबाहेकका पदमा आकांक्षी धेरै भएपछि महाधिवेशन स्थगित भएको थियो।

एकातिर सत्ता गठबन्धनमा परिवर्तन र अर्कातिर पार्टीभित्रको गुटगत राजनीतिले महाधिवेशनले नेता चुन्न सकेन। समाजवादीको महाधिवेशन चल्दै गर्दा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन बन्यो। यही विषयलाई निहुँ बनाएर समाजवादीले महाधिवेशन छिटै सकेको थियो।

यसबेला महाधिवेशनले चुनाव रोजेको भए, गुट बन्ने सम्भावना थियो। एकातिर माधव पक्ष र अर्कातिर झलनाथ-घनश्याम गुट बन्ने तरखरमा थिए। विद्रोहपछिको पहिलो महाधिवेशन भन्दै नेताहरूले चुनाव हुन दिएनन्।

नेताहरूका अनुसार महाधिवेशनमा टकराव बढनुको अर्को कारण हो, नेपालले आफ्ना पक्षका नेताहरू समेट्न नसक्नु। नेपालपक्षीय गुटका नेताहरू परस्पर प्रतिस्पर्धी जस्तै बन्दा महाधिवेशन अघि बढ्न सकेको थिएन।

समाजवादीका एक नेताका अनुसार अध्यक्ष, सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष, महासचिवमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने नेपालको अडान थियो। त्यसबेला वरिष्ठ उपाध्यक्षमा चुनाव भएको भए माधव पक्षका नेता राजेन्द्र पाण्डे र बेदुराम भुसाल भिड्ने पक्काजस्तै थियो। तर यी दुवै नेता माधवपक्षकै हुन्। यसैले आफ्नो गुटमा फुट ल्याउन नदिन नेपालले यो पदमा कसैलाई चुनेनन्।

झलनाथ-घनश्याम भुसालपक्षबाट सोही पदमा प्रकाश ज्वाला भिड्ने योजनामा थिए। नेपालले आफ्नै गुट व्यवस्थापन गर्न नसक्दा वरिष्ठ उपाध्यक्ष पद पनि रित्तै बन्यो। यही पदको विवादले अन्य पदमा पनि व्यस्थापन हुन सकेन। ‘अध्यक्ष कमरेडले एकजना नेता चुन्न सक्नुभएन। कुरै मिलेन’, समाजवादीका एक नेता भन्छन्। तर यसरी भिडन्त गराउनमा भने नेपालकै हात रहेको नेताहरू सुनाउँछन्।

महाधिवेशनकै मुखमा नेपालले ल्याएका थिए नयाँ पद

असार १६ बाट हुने महाधिवेशनको तयारीका लागि असार १३ मा सचिवालय बैठक बसेको थियो। सोही बैठकले एकाएक ‘वरिष्ठ उपाध्यक्ष’ को प्रावधान समावेश गरेको थियो।

‘यसअघिबाटै चर्चामा थियो। यतिबेला चाहिँ पद स्थापना भयो’, समाजवादीका नेता जगन्नाथ खतिवडा भन्छन्। यो पद अध्यक्ष नेपाल आफैँले स्थापना गरेका थिए। अध्यक्ष, वरिष्ठ नेता, सम्मानित नेतापछिको वरीयतामा यो पद पर्छ। अन्य उपाध्यक्ष रहँदा एक जनालाई ‘शक्तिशाली’ बनाउने प्रयत्न नेपालले गरेका थिए।

महाधिवेशनको मुखमा भएकाले अन्य नेता पनि यसबारे मौन रहे। समाजवादीका नेताहरूका अनुसार नेपालले राजेन्द्र पाण्डेलाई यहाँ लैजान खोजेका थिए। अर्का नेता बेदुराम भुसालले पनि ‘वरिष्ठ उपाध्यक्ष’ पाउनुपर्ने अडान राखेपछि नेपाल अध्यक्षमा दोहोरिएका थिए। ‘यो पद नै किन स्थापना भयो थाहा भएन। यसै कारण पनि महाधिवेशनमा चुनाव हुन सकेन’, समाजवादीका एक नेता भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =