विमान दुर्घटना : ‘अनुमति नभएका यात्रु’ को बिमा अन्योलमा

धैर्यकान्त दत्त ११ साउन २०८१ १६:२२
142
SHARES
विमान दुर्घटना : ‘अनुमति नभएका यात्रु’ को बिमा अन्योलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान सौर्य एयरको विमान दुर्घटना भएको स्थलमा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारी । तस्बिर : रासस

काठमाडौँ- पाइलट र एयरलाइन्सका प्राविधिकमात्रै यात्रा गर्नुपर्ने उडानमा दुर्घटनामा परेर मारिएका अन्य व्यक्तिको बिमा रकम दाबीबारे अन्योल उत्पन्न भएको छ। पाइलट, प्राविधिक र क्षतिग्रस्त जहाजको बिमाका लागि दाबी गर्न सकिए पनि अनुमति नभएका यात्रुको विषयमा भने अन्योल रहेको जानकारहरू बताउँछन्।

काठमाडौँको त्रिभुवन विमानस्थलमा बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान ‘फेरी फ्लाइट’ मा थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फेरी फ्लाइट (खाली उडान) मा एयरलाइन्सले पाइलट र आवश्यक प्राविधिकबाहेक अन्य यात्रुलाई राख्न मिल्दैन।

एयरलाइन्सका प्राविधिक मनुराज शर्मासँगै उनकी श्रीमती प्रिजा खतिवडा र चार वर्षीय छोरा अधिराज शर्माले जहाज दुर्घटनामा ज्यान गुमाएका हुन्। दुर्घटनामा ज्यान गुमाएकी प्रिजा नेपाल सरकारको ऊर्जा मन्त्रालयकी कर्मचारी हुन्। मनुराजका हकमा बिमा मागदाबी गर्न सकिए पनि उनका पत्नी र छोराको बिमा मागदाबी गर्न सहज नभएको प्राधिकरणका अधिकारीहरू बताउँछन्।

जहाजलाई एयरलाइन्सले ‘फेरी फ्लाइट’ मा लगिरहेको थियो। फेरी फ्लाइट (खाली उडान) मा एयरलाइन्सले पाइलट र आवश्यक प्राविधिकबाहेक अन्य यात्रुलाई राख्न मिल्दैन। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले ‘फेरी फ्लाइट’ भनेको पाइलट र प्राविधिकको उडानका लागि मात्रै रहेको बताए।

उनका अनुसार यस्तो उडानमा पाइलट र प्राविधिकबाहेक अरूलाई राख्नु एयरलाइन्सको त्रुटि हो। ‘‘फेरी फ्लाइट’ हो, पाइलट, को-पाइलट र आवश्यक प्राविधिक कर्मचारीबाहेक अरूलाई राख्न मिल्दैन,’ सूचना अधिकारी भूलले हिमालप्रेससँग भने, ‘यीबाहेकका अन्यलाई एयरलाइन्सले राख्नु भनेको त्रुटि हो। छानबिन आयोग बनेको छ, आयोगले थप निष्कर्ष निकाल्ला।’

कार्गो जहाजमा मालसामानबाहेक अरू केही राख्न नमिलेजस्तै ‘फेरी फ्लाइट’ मा पाइलट र आवश्यक प्राविधिकबाहेकका यात्रीलाई सवार गराउन नपाइने उनले बताए।
भूलले ‘फेरी फ्लाइट’ मा पाइलट र प्राविधिकबाहेकका यात्रु सवार भएको विषयमा एयरलाइन्सले पनि छानबिन गर्नुपर्ने बताए।

बिमा के हुन्छ?

एयरलाइन्स कम्पनीहरूले नेपाल सरकारले तोकेको मापदण्डअनुसार जहाज र यात्रुको बिमा गराउनुपर्ने हुन्छ। दुर्घटना हुँदा एयरलाइन्सले सम्बन्धित बिमा कम्पनीसँग क्षतिअनुसार दाबी पेस गर्छन्।

नेपाल बिमा प्राधिकरणका अवकाशप्राप्त सचिव दिनेशलाल कर्ण एयरलाइन्स कम्पनीहरूले दुईखाले बिमा गर्नुपर्ने प्रावधान रहेको बताए। उनका अनुसार एयरलाइन्स कम्पनीहरूले पार्टपुर्जासहित जहाजको पूर्ण बिमाका साथै यात्रुको छुट्टै बिमा गर्नुपर्ने हुन्छ।

‘एयरलाइन्स कम्पनीहरूले जहाज र यात्रुको छुट्टाछुट्टै बिमा गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘दुर्घटना हुँदा सोहीअनुसार सम्बन्धित बिमा कम्पनीसमक्ष उनीहरूले दाबी गर्छन्।’
कर्णले सौर्य एयरलाइन्सको हकमा पाइलट, प्राविधिक र क्षतिग्रस्त जहाजको बिमाका लागि दाबी गर्न सकिए पनि अनुमति नभएको यात्रुको विषय भने नौलो रहेको कर्णले बताए।

‘उडान गराउनै नमिल्ने यात्रुको दुर्घटनामा ज्यान गएको छ, यो एकदम नौलो कुरा हो,’ उनले भने, ‘यस्तो अवस्थामा दाबी गर्न मिल्छ होला जस्तो लाग्दैन। तैपनि एयरलाइन्सले बनाएको नीतिमा यो कुरा भर पर्छ।’

‘फेरी फ्लाइट’ मा जाने पाइलट र प्राविधिक कर्मचारीहरूको बिमा एयरलाइन्सले गराएको हुन्छ। यात्रुका रूपमा कर्मचारीका परिवारको पनि मृत्यु भएकाले उनीहरूको बिमा के हुने अन्योल बनेको छ।

उड्डयन प्राधिकरणका सूचना अधिकारी भूल ‘फेरी फ्लाइट’ का पाइलट र प्राविधिक कर्मचारीको मात्रै बिमा हुने गरेको बताए। ‘‘फेरी फ्लाइट’ मा जाने कर्मचारीको बिमा एयरलाइन्सले गरेको हुन्छ, यसमा परिवार पनि भएकाले बिमाका लागि दाबी गर्न मिल्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘एयरलाइन्सले कस्तो पोलिसी बनाएको त्यो पनि हेर्नुपर्ने हुन्छ।’

सौर्य एयरलाइन्सले दुर्घटनामा परेको जहाजको बिमा प्रभु इन्स्योरेन्समा गराएको बुझिएको छ। जहाज दुर्घटनामा परेको जानकारी एयरलाइन्सले प्रभु इन्स्योरेन्सलाई गराइसकेको छ।

नियमअनुसार मृतकका नाममा सम्बन्धित हकवालाले २० हजार अमेरिकी डलरको दाबी गर्नसक्ने बताइएको छ। बिमा प्राधिकरणका पूर्वसचिव कर्णका अनुसार दुर्घटनामा परी घाइते भएका पाइलट शाक्यको उपचार खर्च पनि बिमा कम्पनीले नै बेहोर्नुपर्छ। त्यस्तै जहाज र तेस्रो पक्षलाई भएको क्षति खर्च पनि बिमा कम्पनीले बेहोर्नुपर्छ।

प्रभु इन्स्योरेन्सले सौर्य एयरलाइन्सको यो जहाजको बिमाको हकमा भने ०.३ प्रतिशत जोखिम आफूले राखेको छ भने ९९.७ प्रतिशत जोखिम पुनर्बिमा कम्पनीमा गरेको छ।

त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको सीआरजेसेभेन विमान बुधबार बिहान कोटेश्वरतर्फ (रन्वे ०२) छाडेको केही सेकेन्डमै अनियन्त्रित भई दाहिनेतिर मोडिएर दुर्घटनामा परेको थियो।

रन्वेबाट करिब दुई सयमिटर पर बज्रिएको जहाज त्यहाँ राखिएको एक कन्टेरनमा ठोक्किएर दुई टुक्रा भयो। केहीबेर नबित्दै दुर्घटनाग्रस्त क्षेत्र धुवाँको मुस्लोले भरिएको थियो।
जहाजमा पाइलट र को-पाइलटसहित १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजका पाइलट मनीषरत्न शाक्यलाई जीवित उद्धार गरिएको थियो। दुई टुक्रा भएको जहाजको ककपिटबाट उद्धार टोलीले शाक्यलाई जीवित निकालेको थियो।

पाइलट शाक्यको अहिले सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) को आईसीयूमा उपचार भइरहेको छ। केएमसीका चिकित्सकहरूले उनको अवस्था खतरामुक्त रहेको जनाएका छन्।

सौर्य एयरलाइन्सले जारी गरेको विवरणअनुसार जहाजको उडान समय बिहान १०ः०५ बजे तय भएको थियो। झन्डै एक घण्टा ढिलो उडेको यो विमान ११ः११ बजे दुर्घटनामा परेको थियो।

जहाज मर्मतका लागि पोखरातर्फ उडेको थियो। त्रिभुवन विमानस्थलमा ‘ह्याङर’ खाली नहुँदा एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ह्याङर’ एक महिनाका लागि भाडामा लिएको थियो। विमान पूर्ण मर्मत (सी-चेक) का लागि पोखरातर्फ उडेको थियो।

सौर्य एयरको इतिहास

दीपक पोखरेल अध्यक्ष रहेको सौर्य एयरलाइन्स सन् २०१४ अगस्तदेखि सञ्चालनमा आएको हो। त्यही वर्ष यो एयरलाइन्सले पहिलो नाइन-एलई जहाज भित्र्याएको थियो।
त्यस वर्षको नोभेम्बरमा सौर्य एयरलाइन्सको यो जहाजले माउन्टेन फ्लाइटमार्फत पहिलो उडान सुरु गरेको थियो।

सन् २०१५ फेब्रुअरीबाट चन्द्रगढी विमानस्थल भद्रपुरसम्म पहिलोपटक दैनिक उडान सुरु गरेको सौर्य एयरलाइन्सले त्यही वर्षको जुन महिनादेखि नेपालगन्जसम्म सञ्चालनमा ल्याएको थियो। जहाज सन् २०१७ मार्च मा नेपाल भित्रिएको थियो। दुर्घटनामा परेको यो जहाज २१ वर्षअघि क्यानडामा तयार पारिएको थियो।

टाट पल्टिएको कम्पनी

झापाका दीपक पोखरेल २०४९ सालतिर सरकारी कर्मचारी थिए। पछि उनी सुपारी व्यवसायमा छिरे। राजनीतिक छात्रछाया पाउँदै गरेका उनले व्यापारको दायरा बढाउँदै चिया बगानदेखि अस्पतालमा लगानी गरे।

व्यापारमा अनुभव बटुलिसकेका पोखरेलको झुकाव एयरलाइन्सतिर मोडियो र सौर्य एयरलान्सको स्थापना गरे।  २०७८ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ५० लाख रूपैयाँसहित सौर्य एयरलाइन्सकी कर्मचारी रेशा शाक्यसहित तीन जना पक्राउ परेपछि पोखरेल विवादमा तानिएका थिए।

उनले एयरलाइन्सकै लेटरप्याडमा ५० लाख रुपैयाँ आफ्नो भएको जिकिर गर्दै कर्मचारीलाई रिहा गरिदिन अनुरोध गरेका थिए। सन् २०१७ मा ५० सिटे जहाज किनेको सौर्यले त्यसपछि भने क्षमता बढाउन सकेन। सौर्य एयरलाइन्सको तीनमध्ये एउटा जहाज ग्राउन्डेड थियो। अपरेसनमा रहेका दुई जहाजले भद्रपुर र विराटनगर उडान भर्दै आएका थिए। तीमध्ये एउटा जहाज दुर्घटनामा परेको छ।  घाटामा गइरहेको यो कम्पनीले केही समयअघि कर्मचारीसमेत कटौती गरेको थियो।

प्रकाशित: ११ साउन २०८१ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =