बढ्यो भक्तपुर घुम्न आउने पर्यटकको संख्या, एक वर्षमा २७ करोडबढी रूपैयाँ आम्दानी

हिमाल प्रेस ११ साउन २०८१ १५:५३
बढ्यो भक्तपुर घुम्न आउने पर्यटकको संख्या, एक वर्षमा २७ करोडबढी रूपैयाँ आम्दानी

काठमाडौँ – भक्तपुर घुम्न आउने पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

पछिल्लो एक वर्षमा भक्तपुर घुम्न आउने आन्तरिका तथा बाह्य पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको हो।

भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका अनुसार गत आर्थिक वर्षमा मात्र २ लाख बढी पर्यटकले भक्तपुर अवलोकन गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा २ लाख ४५ हजार ५९३ पर्यटकले भक्तपुर अवलोकन गरेको नगरपालिकाको पर्यटन सूचना केन्द्रले जनाएको छ।

जसमध्ये १ लाख ४६ हजार ४०१ जना गैरसार्क र १ लाख २९ हजार १९२ जना सार्क राष्ट्र र चीनका पर्यटकहरू रहेका छन्।

आर्थिक वर्ष २०७९/८० मा १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरू भक्तपुर पुगेकोमा ८६ हजार ३२४ जना गैरसार्क र सार्क राष्ट्र तथा चीनका ८१ हजार ३१८ जना रहेका थिए।

यो आर्थिक वर्षको तुलनामा गत वर्षमा ७७ हजार ९४१ पर्यटकको संख्यामा वृद्धि भएको पर्यटन सूचना केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा पर्यटन शुल्कबाट भक्तपुर नगरपालिकाले रू. २७ करोड ४५ लाखबढी रूपैयाँ संकलन गरेको छ।

भक्तपुर नगरपालिकाले यो अवधिमा गैरसार्क पर्यटकबाट रू.२० करोड ९९ लाख ७५ हजार ९५० र सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रू. ६ करोड ४५ लाख ९६ हजार पर्यटन शुल्क उठाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा रू. ९ करोड १ लाख ४७ हजार ७६० बढी शुल्क उठेको छ।

नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ मा सबैभन्दा बढी भारतबाट पर्यटकहरू भक्तपुर घुम्न आएका छन्।

भारतबाट मात्रै ८७ हजार ७९८ पर्यटक भक्तपुर घुम्न आएको केन्द्रले जनाएको छ।

भारतपछि सबैभन्दा बढी चीनका पर्यटकले भक्तपुर घुमेका थिए। भक्तपुर घुम्न ४० हजार ४०१ बढी चिनियाँ नागरिक पुगेको केन्द्रले बताएको छ।

त्यस्तै अमेरिका, जर्मनी, फ्रान्स, इटली, स्पेन, जापान, इंग्ल्यान्ड, हल्यान्ड, ताइवान, अर्जेन्टिना, अष्ट्रेलिया, पोल्यान्ड, रसिया, दक्षिण कोरिया, इजरायल, सिंगापुरलगायतका मुलुकबाट पर्यटकहरू भक्तपुर घुम्न आएको पर्यटन केन्द्रले जनाएको छ।

नगरपालिकाले गैरसार्क पर्यटकहरूसँग प्रतिव्यक्ति नेरू. १ हजार ८ सय र नेपाल, सार्क तथा चिनियाँ पर्यटकहरूबाट रू. ५ सय शुल्क संकलन गर्दै आइरहेको छ।

नगरपालिकाले १४ वटा काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरूसँग शुल्क उठाउँदै आइरहेको छ।

शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरूसँग जरिवाना असुल गर्ने व्यवस्था नगरपालिकाले गरेको छ।

भक्तपुर घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकहरूको संख्यामा वृद्धि भएसँगै पर्यटकहरूको चहलपहल बढेको केन्द्रको भनाइ छ।

भ्रमणमा आएका पर्यटकहरूलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्यस्थलको रूपमा विकास गर्न नगरपालिकाको तर्फबाट पर्यटन प्रवद्र्धनमा विशेष जोड दिइएको केन्द्रले बताएको छ।

प्रकाशित: ११ साउन २०८१ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =