मौद्रिक नीति : ‘अब अर्थतन्त्र लयमा फर्किनेछ’

रमेश भारती ११ साउन २०८१ १५:३०
16
SHARES
मौद्रिक नीति : ‘अब अर्थतन्त्र लयमा फर्किनेछ’

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिका सम्बन्धमा सरोकारवालाहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र थप गतिशील बनाउने उद्देश्यसहित मौद्रिक नीति सार्वजनिक गरेका हुन्। गभर्नर अधिकारीले अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको बताएका छन्।

मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जाने कामदारलाई ऋण दिइने, निर्माण व्यवसायीलाई कालोसूचीमा नराख्ने, चेक बाउन्स नगर्ने, गैरबैंकिङ लगानीलाई व्यवस्थित गर्ने, बैंकमा थुप्रिएको पैसा लगानीको वातावरण बनाइने, बैंकहरूको सम्पत्ति व्यवस्थापन गर्न कम्पनी खडा गरिने, आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लगायतका लक्ष्य राखिएको छ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल खातामा पर्याप्त नगद मौज्दात नभएको चेक काट्दा कालोसूचीमा नराख्ने प्रावधान स्वागतयोग्य रहेको बताउँछन्। उनी भन्छन्, ‘यो निर्माण क्षेत्रका लागि सकारात्मक र स्वागतयोग्य योजना हो। चेक बाउन्स हुँदा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेर बैंकिङ कारोबार बन्द गर्ने र यसै कारण निर्माण व्यवसायी जेल जानुपर्ने बाध्यता अन्त्य भएको छ।’

दाहाल मौद्रिक नीतिले समस्या समाधान गर्नुभन्दा समस्यालाई औँल्याएको बताउँछन्। दाहालले मौद्रिक नीतिमा ल्याएका योजना अर्थतन्त्रको लक्ष्य समाउन गरी ल्याउन खोजिए पनि त्यस्तो नदेखिएको बताए। ‘मौद्रिक नीतिमा केही कुरा अस्पष्ट छन्। ती विषयमा कार्यान्वयन हुनेमा शंका छ’, उनले भने।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउन खोजिएको बताए। उनले बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई पनि मौद्रिक नीतिमार्फत सम्बोधन गर्न खोजिएको बताए।

‘मौद्रिक नीतिमा केही नीतिगत विषयलाई बढी प्राथमिकतामा राखिएको छ। त्यसको असर अर्थतन्त्रमा देखिन सक्छ। कर्जा, ऋण र बैंकिङ कारोबारमा बढी उदार हुँदा समस्या आउन सक्छ’, उनले भने।

केसीले लगानीमैत्री मौद्रिक नीति ल्याउने खोजिए पनि केही त्रुटि देखिएको बताए। कर्जा प्रवाह, लगानी र त्यसका लागि सीमा तोक्दा कर्जा प्रवाह गर्ने संस्था र ऋणीबीच समस्या उत्पन्न हुन सक्ने शंका उनको छ। उजले भने, ‘मौद्रिक नीतिमा कर्जा प्रवाह र लगानीका लागि केही महत्त्वपूर्ण विषय समेटिएका छन्। ती प्रावधान कार्यान्वयन हुनुपर्छ।’

अर्थविज्ञ डिल्लीराज खनाल मौद्रिक नीति अर्थतन्त्रलाई लयमा फर्काउँदै आर्थिक उन्नतितर्फ लैजाने गरी आएको बताउँछन्। ‘आर्थिक दृष्टिकोणबाट हेर्ने हो भने मौद्रिक नीति सबै क्षेत्र समेटेर ल्याइएको छ।’ मौद्रिक नीतिमा समस्या मात्र होइन, समाधान पनि खोजिएको प्रतिक्रिया उनले दिए। खनालले भने, ‘बैंक, कर्जा, सहकारीका अवस्था, ऋणीका समस्या र अन्य क्षेत्रलाई सहज हुने गरी मौद्रिक नीति आएको छ।’

मौद्रिक नीतिले उद्योग व्यवसाय बन्द भए कर्जाको सावाँब्याज भुक्तानी नियमित गर्ने, उद्योग व्यवसायको कर्जा वर्गीकरण र जोखिम व्यवस्थाका लागि आवश्यक सुविधा दिने प्रावधानले लगानीकर्ता आकर्षित हुने खनाल बताउँछन्। उनी भन्छन्, ‘मौद्रिक नीति कडा रुपमा कार्यान्वयन गर्नुपर्छ। त्यसो भएमा आर्थिक वद्धिदर पनि सन्तुलित अवस्थामा फर्किन सक्छ’, खनाल भन्छन्।

लचिलो मौद्रिक नीतिलाई निरन्तरता : गभर्नर अधिकारी

यस्तो छ मौद्रिक नीति [पूर्ण पाठसहित]

प्रकाशित: ११ साउन २०८१ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + three =