यी हुन् पेरिस ओलम्पिकमा सहभागी सात नेपाली खेलाडी

हिमाल प्रेस ११ साउन २०८१ १२:२३
24
SHARES
यी हुन् पेरिस ओलम्पिकमा सहभागी सात नेपाली खेलाडी

काठमाडौँ– ग्रीष्मकालीन ओलम्पिकमा नेपालबाट सात खेलाडी सहभागी भएका छन्। विशेष समारोहबीच फ्रान्सको पेरिसमा शुक्रबार नेपाली समयअनुसार राति ३३औँ ग्रीष्मकालीन ओलम्पिक उद्घाटन हुँदैछ। यसपटकको ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका छन्।

म्याराथन, सुटिङ, पौडी, टेबल टेनिस, ब्याडमिन्टन र जुडोका गरी चार महिला र तीन पुरुष खेलाडी सहभागी भएका हुन्। ओलम्पिकमा सहभागी हुने खेलाडीमा सन्तोषी श्रेष्ठ (म्याराथन), डुवाना लामा र एलेक्स शाह (पौडी), सन्तु श्रेष्ठ (टेबलटेनिस) प्रिन्स दाहाल (ब्याडमिन्टन), सुस्मिता नेपाल (सुटिङ), मनिता श्रेष्ठ प्रधान (जुडो) छन्।

सात खेलाडीको संक्षिप्त परिचय

सन्तोषी श्रेष्ठ (म्याराथन) : धादिङको ज्वालामुखीकी सन्तोषीले नेपालका तर्फबाट महिला म्याराथनमा सहभागिता जनाएकी छन्। सन् २०१९ मा दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा स्वर्णपदक जितेर उनले नेपालका लागि कीर्तिमान बनाएकी थिइन्। यस्तै सन् २०२२ मा उनले १ घण्टा १४ मिनेट १४ सेकेन्डमा हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

सोही वर्ष १० हजार मिटर दौडमा उनले स्वर्णपदक जितेकी थिइन्। यसैगरी श्रेष्ठले नेपालमा भएको गोल्डेन एथलेटिक्स मिटमा ५ हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् भने जर्मनीमा भएको १० हजार मिटर दौडमा ३४ मिनेट ३१ सेकेन्डमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो जितको सिलसिला कायमै राखेकी थिइन्।

डुवाना लामा (पौडी) : डुवाना लामाले ११ वर्षको उमेरमा महिला ओपन २०० मिटर ब्रेस्टस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। साथै उनले ११ वर्ष पुरानो कीर्तिमान ५ सेकेन्डभन्दा बढीले तोडेकी छन्। मनाङमा जन्मिएकी लामाले विद्यालय शिक्षा थाइल्यान्डमा लिएकी हुन्। जहाँ उनले पौडी खेल्ने सीप पनि विकास गरेकी थिइन्। उनले १३औँ एसियाली खेलकुदमा रिले इभेन्टमा नेपाललाई तीनवटा कास्य पदक जिताएकी थिइन्।

साथै लामाले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा नौ स्वर्ण र एक रजत पदक जितेकी थिइन्। उनी युनिभर्सिटी कोटाबाट ओलम्पिकका लागि छनोट भएकी हुन्। डुवानाले महिलाको २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्।

एलेक्स शाह (पौडी) : शाहले पेरिस ओलम्पिकमा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछन्। उनी ओलम्पिकको संस्करणमा निरन्तर भाग लिने तेस्रो पौडी खेलाडी हुन्। शाहले २०२० टोकियो ओलम्पिकमा १०० मिटर फ्रिस्टाइलमा ५३।४१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए।

सन्तु श्रेष्ठ (टेबलटेनिस) : सन् २०२४ को ओलम्पिकका लागि काठमाडौँमा भएको दक्षिण एसियाली टेबलटेनिस छनोट प्रतियोगिताको पुरुष फाइनलमा संजोग कपालीलाई ४-३ सेटमा पराजित गर्दै सन्तुले पेरिसको टिकट बुकिङ गरेका थिए। उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा कास्यपदक जितेका थिए। सन्तु संगीना वैद्य र दीपक विष्टपछि ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी हुन्। उनले पुरुष एकलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रिन्स दाहाल (ब्याडमिन्टन) : प्रिन्स दाहाल ओलम्पिकमा ब्याडमिन्टनबाट नेपालको प्रतिनिधित्व गर्ने पहिलो खेलाडी हुन्। २० वर्षीय दाहालले पुरुष एकल प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। सन् २०१८ को दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिज जितेपछि दाहाल ब्याडमिन्टन खेलाडीका रूपमा चर्चामा आएका हुन्। उनी मार्च २०२० मा विश्व जुनियर वरीयताको विश्व नम्बर सातमा पुगेका थिए। साथै २०२२ मा उनी विश्वको नम्बर एक जुनियर खेलाडीमा परेका थिए। दाहालले २०१९ दक्षिण एसिया यू-२१ च्याम्पियनसिपमा रजत पदक जितेका थिए।

मनिता श्रेष्ठ प्रधान (जुडो) : मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। पाँचथरमा जन्मिएकी मनिताले २०१६ को दक्षिण एसियाली खेलकुदमा ५७ केजी तौल समूहमा रजत पदक जितेकी थिइन्। यसैगरी सन् २०१७ मा उनले ११ औँ एसियाली क्याडेटमा महिला ५७ केजी तौल समूहमा कास्य पदक जितेकी थिइन्। प्रधानले जकार्तामा भएको २०१८ को एसियाली खेलकुदका साथै चीनको गोन्जाओमा भएको २०२२ को एसियाली खेलकुदमा पनि भाग लिएकी थिइन्।

सुस्मिता नेपाल (सुटिङ) : सुस्मिता नेपालले महिला १० मिटर एयर राइफल इभेन्टमा प्रतिस्पर्धा गर्नेछिन्। उनी युनिभर्सिटी कोटाबाट पेरिस ओलम्पिकका लागि छनोट भएकी हुन्। काभ्रेको मण्डनमा जन्मिएकी नेपाल सन् २०१६ मा विद्यालयव्यापी ट्यालेन्ट हन्टबाट तालिमका लागि छनोट भएकी थिइन्।

एक साता लामो तालिमपछि विद्यालय तहको छनोटमा उनी शीर्ष स्थानमा पुगेकी थिइन्। उनले इन्डोनेसियामा भएको एसियन च्याम्पियनसिपको छनोटमा ६.१६.२ अंक जोडेकी थिइन्। उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता २०१७ मा जापानमा भएको दसौँ एसियन एयर गन जुनियर च्याम्पियनसिप हो।

३३औँ ग्रीष्मकालीन ओलम्पिक उद्घाटन आज

प्रकाशित: ११ साउन २०८१ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =