भारतले चामल निर्यातमा कर लगाउँदा आयात घट्यो

हिमाल प्रेस ११ साउन २०८१ १२:२५
10
SHARES
भारतले चामल निर्यातमा कर लगाउँदा आयात घट्यो प्रतिनिधिमूलक तस्बिर।

पर्सा- प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामल आयातमा गिरावट आएको छ। भारतले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै यसको प्रभाव नेपालमा परेको हो।

कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलोग्राम धान नेपाल आयात भएको छ। आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो।

सरकारले प्राप्त गर्न राजस्व पनि ३९ दशमलव ८१ प्रतिशतले घटेको छ। सरकारले गत आवमा धान आयातवापत राजस्व भने ४० करोड ५३ लाख २६ हजार राजस्व संकलन गरेको थियो। कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले भारत सरकारले गत आवमा धान, चामल निर्यातमा दिँदै आएको कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लगाएसँगै धान, चामलको आयातमा गिरावट आएको बताए।

‘वीरगञ्ज भन्सार कार्यालय हँुदै आयात हुने धान, चामलको परिमाण ठूलोमात्रामा घटिरहेको छ’,उनले भने,‘धान,चामलको आयात मात्रै होइन। राजस्व संकलनमा पनि प्रत्यक्ष असर पारिरहेको छ।’ आव २०८०/८१ म वीरगञ्ज भन्सार कार्यालय हुँदै एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्य बराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७३ किलोग्राम चामल आयात भएको छ।

अघिल्लो आवको तुलनामा गत आवमा यो भन्सार कार्यालय हुँदै आयात हुने चामलको परिमाणमा ६३ दशमलव ८० प्रतिशतले गिरावट आएको छ। कार्यालयले चामल आयातवापत प्राप्त गर्ने राजस्व पनि ४१ दशमलव ८ प्रतिशतले घटेको देखिन्छ। गत आवमा चामल आयात हुँदा राज्यले १९ करोड ८७ लाख ३० हजार राजस्व संकलन गरेको छ।

आव २०७९/८० मा भने दुई अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने तीन करोड ६५ लाख ८२ हजार ६ सय ८३ किलोग्राम चामल आयात भएको थियो। सो चामल आयात हुँदा राज्यले २३ करोड ४३ लाख ८३ हजार राजस्व संकलन गरेको थियो।

प्रकाशित: ११ साउन २०८१ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =