विश्वव्यापी गजल प्रतियोगिताका लागि गजल आह्वान

हिमाल प्रेस ११ साउन २०८१ १०:५४
14
SHARES
विश्वव्यापी गजल प्रतियोगिताका लागि गजल आह्वान

काठमाडौँ– नेपाल गजल प्रतिष्ठानले १५९औँ मोती जयन्तीका अवसरमा विश्वव्यापी गजल प्रतियोगिता, २०८१ आयोजना गरेको छ। प्रतिष्ठानले प्रतियोगितामा संसारभरका नेपाली गजलप्रेमीहरूलाई सहभागी हुन आग्रह गरेको छ।

प्रतियोगितामा सहभागी हुन चाहने गजलकारहरूले आफ्नो प्रतियोगी गजलको साथमा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी २०८१ साउन २५ गतेसम्म [email protected] मा पठाइसक्नुपर्ने बताइएको छ।

प्रतियोगी गजल शुद्ध नेपाली भाषामा (देवनागरी लिपिमा) लेखिएको ५ शेरको हुनुपर्ने र कुनै पनि शेरमा गजलकारको नाम वा तखल्लुस् प्रयोग गर्न नपाइने साथै गजल पठाउँदा गजलको साथमा कुनै पनि भूमिका, आग्रह तथा अनुरोध समावेश नगर्न सूचित गरिएको छ।

गजल पूर्णत: मौलिक हुनुपर्ने, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित र प्रसारित नभएको, कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने बताइएको छ।

प्रतियोगी गजलको कुनै अंश वा पूरा भाग साभार गरिएको, छापिएको, प्रसारित भएको वा अन्य कुनै पनि प्रतियोगितामा सहभागी भएको पाइएमा यस प्रतियोगिताका लागि अयोग्य मानिने तथा विजयी रचनामा यस प्रकारको दाबी विरोध भई आएमा गजल खारेज गरी उत्कृष्टता क्रममा रहेको गजल विजयी मानिने जनाइएको छ।

उपरोक्त इमेल ठेगानामा प्राप्त भएका गजलहरू मात्र प्रतियोगी गजल मानिनेछ। एकजना प्रतियोगीले एउटा मात्र गजल पठाउन अनुरोध गरिएको छ। एउटै गजलकारको एकभन्दा बढी गजल सहभागिताका लागि प्राप्त भएमा पहिलो पटक प्राप्त एउटा गजललाई मात्र प्रतियोगी गजल मानिनेछ।

गजल मूल्यांकनका मापदण्ड विचार, शिल्प, शैली, व्याकरण भाषा हुने र गजलका आधारभूत सबै मान्यताहरूको पालना गरी रचना गरिएको गजल मात्र प्रतियोगिताका लागि योग्य मानिने बताइएको छ। गजल मूल्यांकनका लागि तीन जना गजल मर्मज्ञ निर्णायकहरूको गोप्य निर्णायक समितिसमेत छ।

प्रतियोगितामा नेपाल गजल प्रतिष्ठान कार्यसमितिका सदस्यहरूबाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहेका इच्छुक नेपालीभाषी गजलकारहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्। प्रतियोगिताको नतिजा २०८१ भदौ १५ गते सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने विजेता गजलकारको गजलसंग्रह प्रकाशन गरिनेछ। उत्कृष्ट ५ गजलकारलाई प्रमाणपत्रद्वारा सम्मान गरिनेछ। विजयी गजलकारले प्रतियोगिता समापन भएको मितिदेखि ६ महिनाभित्रमा संग्रहका लागि आवश्यक गजलहरू आयोजक समितिले उपलब्ध गराउने ठेगानामा वा प्रतिनिधिलाई पठाइसक्नुपर्नेछ। गजलहरू तोकिएको समय अगावै प्राप्त भएमा सोहीअनुरूप सम्पादन तथा प्रकाशन कार्य अगाडि बढाइने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ११ साउन २०८१ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =