‘बिर्सनै नसकिने’ लोकगायक एलपी जोशी

विवेक विवश रेग्मी ११ साउन २०८१ १०:३३
74
SHARES
‘बिर्सनै नसकिने’ लोकगायक एलपी जोशी गायक एलपी जोशी।

इटहरी– वरिष्ठ लोकगायक एलपी जोशीको निधन भएको छ। ८८ वर्षको उमेरमा वरिष्ठ गीतकार तथा गायक लक्ष्मीप्रसाद जोशी (एलपी) को बिहीबार साँझ निधन भएको हो। झापाको दमक नगरपालिका-१ स्थित घरमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

गुरुपूर्णिमाको दिनदेखि उनको स्वास्थ्यमा समस्या आएको थियो। स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिए पनि बिहीबार भने उनलाई घरमै ल्याइएको थियो। जोशीको अन्त्येष्टि कन्काइमाईमा शुक्रबार ११ बजे गरिनेछ। उनी छोरा मिलन र परिवारका अन्य सदस्यका साथ दमकमा बस्दै आएका थिए।

को हुन् जोशी?

१९९३ सालमा धनकुटा-६ बिचबजारमा जन्मिएका जोशीले आजीवन लोक संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका थिए। बाल्यकालदेखि गीतसंगीतमा चासो राख्ने जोशीले लोकगीत सम्राट्को उपाधिसमेत पाइसकेका छन्। खासगरी उनको रिटिङ रिटिङ, वल्लो खोलो, पल्लो खोलो, निगालो घारीमा च्याखुरा नाच्यो, खिपीमा खिपी बिनायो बाजालगायतका गीतहरू बहुचर्चित छन्। २०१३ सालमा पहिलो गीत ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको रेकर्ड गराएका थिए।

२०२० साल पहिल्यै उनका धेरैजसो गीत रेकर्ड भइसकेका छन्। उनले २०५३ सालमा म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकालेका थिए। जोशी कुनै बेला रंगकर्मी, चित्रकार तथा नृत्य कोरियोग्राफरको भूमिकामा रहे। चलचित्र ‘हिजो आजभोलि’ मा नेपालकी पहिलो नायिका भुवन चन्दसँगसमेत काम गरेका उनले जीवनभर ९ वटा चलचित्रमा काम गरेका थिए।

सातजना दाजुभाइका छैटौं सन्तानका रूपमा रहेका जोशीका ५ दिदीबहिनी छन्। उनका श्रीमती र एक छोराको निधन भइसकेको छ। जोशी प्राय: दमकस्थित आफ्नै घरअगाडि सटरमा पसल राखेर त्यहीँ हुन्थे। आफ्ना शुभचिन्तक र प्रशंसकहरूसँग कुराकानी गरेर दिन बिताउँथे।

मृतक जोशीका भाइ नारायण जोशीका अनुसार एलपी सानै छँदा फुटबल खेलमा समेत रुचि राख्थे। पछि लोक संस्कृतिको क्षेत्रमा नामी भएका उनले केही महिना पहिले मात्रै डाक्टरको मानार्थ पाएका थिए। ‘उहाँलाई डेढ महिना पहिले भारतको इन्डियन युनभिर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो। गत महिना राष्ट्रपतिबाट सम्मानित हुनुभएको थियो। हामीले यति चाँडै गुमाउँछौँ भन्ने कल्पनासमेत थिएन’,उनले भने।

उनका अनुसार जोशीले नियमित सुगरको औषधि खाने गरेका थिए। त्यसबाहेक अरु केही पनि समस्या थिएन। खासगरी जोशीको ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो भनेर…’ बोलको गीत आममानिसले गुनगुनाउने गर्छन्। लोकगीत दोहोरी होस् वा कुनै पर्व नै। यो गीत गाएर मानिसहरू रोमाञ्चित बन्छन्। उनले किराँत नृत्यलाई राष्ट्रिय स्तरमा चिनाउने कामसमेत गरेका थिए। यसैगरी पहिलोपटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनको गीतिनाटकसमेत मञ्चन गरेका थिए।

स्रष्टाहरू यी र यस्ता लोकगीतका धनी जोशीको निधनले नेपाली गीत, संगीतको क्षेत्रमा अपूरणीय क्षति भएको  बताउँछन्। वरिष्ठ कवि एवम् लोकसंस्कृतिविद् तुलसी दिवसले एलपीको निधनले नेपाली गीतसंगीत र चित्रकारितामा ठूलो क्षति भएको बताए।

एलपीका भतिजासमेत रहेका दिवसले भने, ‘उहाँका कतिपय लोकगीतहरू लोकप्रिय छन्। रेडियोलगायतका प्रसारणमा मात्रै नभएर फिल्ममा पनि गीत गाउनुभयाे। लोकगीत गायनको क्षेत्रमा उहाँको भूमिका अत्यन्त महत्त्वपूर्ण ऐतिहासिक छ। त्यसलाई बिर्सन सकिन्न।’

यसैगरी चित्रकारितामा पनि एलपीको योगदन स्मरणीय रहने दिवस बताउँछन्। एलपीले गाएका कतिपय गीतको संकलन आफूले गरेको पनि दिवसले बताए। दिवसले भने, सबैसँग हार्दिकता कायम राख्ने एलपीको प्रदर्शनकारी कलाका क्षेत्रमा संलग्न भएका व्यक्तिसँग घनिष्ठ सम्बन्ध थियो।’

प्रकाशित: ११ साउन २०८१ १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =