काठमाडौँ- वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई कामु मुख्य सविच बनाएको थियो। त्यसको १० दिनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई छोटो समयको लागि भए पनि पहिलो महिला मुख्य सचिवको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। महिलासम्बन्धी वकालत कर्मचारीकै तहबाट गर्दै आएकी लीलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज महिलाकै विषयमा निर्णय गर्ने भन्दै पहिलो एजेण्डा नै मुख्य सचिव बनाउने निर्णय लिए।
त्यो निर्णय हुँदा सबैभन्दा बढी खुसी मन्त्रिपरिषद्की सदस्य परराष्ट्रमन्त्री आरजु राणा देउवा भएको लीलाले बताइन्। ‘महिलामहिला भएर त्यो स्तरको खुसी उनले साँटेको हुन सक्ने’ संकेत गड्तौलाले गरिन्। अनि परराष्ट्रमन्त्रीले महिलाहरूको भोट सबै प्रधानमन्त्री ज्यूलाई नै जाने भयो भन्दै एकछिन हाँसो पनि चल्यो मन्त्रिपरिषद्मा।
‘प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अन्य सबै मन्त्रीको सद्भाव, महिलाप्रतिको भावना, सबै साथीभाइ र महिलालाई मुख्यसचिव बनाउनु पर्छ भन्ने आवाज उठाउनेहरूको दबाबका साथै मेरो भाग्य र कर्मले यो संयोग जुटेको हुन सक्छ,’ उनले सञ्चारकर्मीसँग भनिन्। उनी १० दिन कामु मुख्य सचिव भएर चलाइन् भने त्यसअघि ज्येष्ठ सचिवको रूपमा जिम्मेवारी लिएकी थिइन्।
उनी अर्को महिना नै सेवा निवृत्त हुने भए पनि उनी आठौँ नम्बरमा रहेकी सचिव हुन्। उनी आफैँ भन्दै थिइन, ‘लिलामणि सर पनि आठौँ नम्बरबाट मुख्य सचिव हुनुभयो फेरि अर्को लीला आठौँ नम्बरबाट मुख्य सचिव भएँ, यो संयोग हो। उनले छोटो अवधिको लागि भए पनि इतिहासमा नाम लेखाउन पाएको र यसको श्रेय वर्तमान मन्त्रिपरिषद्, विशेष गरी प्रधानमन्त्रीलाई जाने बताइन्।
मुलुकमा २६ जना मुख्य सचिव बन्दा पनि महिला मुख्य सचिव बन्ने अवसर कसैलाई जुरेको थिएन। अहिले लीलालाई जुर्यो। उनी कानुन मन्त्रालयमा एक नम्बरमा नाम निकालेकी शाखा अधिकृत हुन्। उनी २०५२ पुस २६ मा न्याय सेवाबाट शाखा अधिकृत भएकी थिइन्।
‘म पहाडमा जन्मेकी हर्केकी हुनाले घाँस दाउरा, मेलापात सबै गरे पनि पढ्न सधैँ जाने र एसएलसीपछि पनि उच्च शिक्षाको लागि चार दिन लगाएर काठमाडौँ आएर पनि पढेको हुँ,’ उनले भनिन्, ‘काम गर्नुछ भन्दैमा नपढ्ने होइन। अनि जो ठाउँमा पुग्छ त्यहाँ पनि महिलाको हितमा काम गर्ने हो। यसको मतलब पुरुषलाई अहित गर्ने होइन।’
तेह्रथुममा जन्मिएकी गड्तौलाका अनुसार उनी गाउँमा घाँस काट्ने, गोबर सोहोर्ने, पानी पोक्ने घर लिप्नेजस्ता ग्रामीण परिवेशमा काम गरेरै अध्ययन गरेको बताइन्। उनी विद्यालय शिक्षा पूरा गरेर थप अध्ययनका लागि काठमाडौं आइन् र डेरामा बसेर पढ्न थालिन्। ‘जबकि त्यो समयमा केटी मानिस डेरा खोजेर पढ्ने भन्ने नै थिएन, कोही बाहिर बसे पनि आफन्तकोमा बस्थे,’ उनले भनिन्, ‘मैले त्यतिबेलै पनि त्यो आँट गरेको हुँ।’
प्रधानमन्त्री ओलीले पहिले भनेका कुरा स्मरण गर्दै उनी भन्छिन्, ‘हामी बाहिर कराएर के हुन्छ र? भित्र काम गर्ने महिलाले नै जोड गरिदिँदा अधिक काम हुन्छ। कलम चोब्ने स्थानमा महिलाप्रति उदार व्यक्ति हुनैपर्छ अनिमात्र हामी कराएको सार्थक हुन्छ।’ उनी कानुन मन्त्रालयमा हुँदा कानुन तय गर्दा कमिटीहरुमा एक जना महिला चाहिन्छ भनेर लेखेकी थिइन्। अहिले पनि त्यही भनिरहेकी छन्।
कानुन मन्त्रालयमा रहेर अधिक कानुन बनाउने काम गरेको र त्यहाँ महिलालाई हित गर्ने काम गरेको उनले जिम्मेवारी लिएपछि सुनाइन्। उनले अहिले एकै पटक कैयन् महिला कसरी राजनीतिमा देखिए भन्ने कुरा सुनाउँदै भनिन्, ‘सहसचिव भएपछि निर्वाचन आयोगमा गएँ। प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, तपाईं कानुन बनाउन एकदम जान्ने हुनुहुन्छ रे। स्थानीय निर्वाचन सम्बन्धी कानुन आफैँ ड्राफ्ट गर्नु भन्नुभयो। अनि कानुन बनाउन लागेँ। त्यही बेला दिमागमा आयो अधिक महिलालाई कसरी राजनीतिमा ल्याउने? अनि मैले प्रमुख र उपप्रमुख मध्ये एक जना महिला नै हुन पर्ने भन्ने तय गरेँ।’
त्यो एजेन्डालाई निर्वाचन आयोगका सदस्य इला शर्माले निकै अघि बढाएर पछिसम्म लबिङ गरेपछि त्यो कानुन बन्यो। र, अहिले कलिला मुहारका उपमेयर हामी देख्न पाएको उनले सुनाइन्। ‘हामीले बनाएको विषयलाई राजनीतिक नेतृत्वले पनि साथ दिँदा सहज हुन्छ,’ उनले भनिन्, ‘कतिपय सकारात्मक विषयलाई पनि नकारात्मक रुपमा लिइदिए भने चाहि सहज हुन्न।’
हुन त सचिव भएर मन्त्रालय हाँक्न भने उनले पाइनन्। तर मुख्य सचिव भएर भने नेतृत्व दिन पाएँ भन्दै उनले भनिन्, ‘साथ पाउँदा र नेतृत्वको सकारात्मक सोच हुँदा मुलकको पहिलो मुख्य सचिव भएको छु।’ उनले सचिवका रूपमा कुनै मन्त्रालय चलाइनन् तर एकै पटक मुख्यसचिव भएर केही साता नेतृत्व दिनेछिन्।
सहसचिवको प्रतिस्पर्धामा एक पटक फेल भएर दोस्रोपटक नाम निकाल्न सफल हुँदा आज उनी मुलुकको पहिलो मुख्य सचिव हुन पाइन्। ‘कहिलेकाहीँ फेल नै हुँदा पनि फाइदा हुने रहेछ,’ उनले भनिन्। उनी २०७० माघमा सहसचिव भएकी थिइन् भने २०७७ कात्तिकमा सचिव भएकी हुन्। न्याय सेवाको सचिवका रूपमा उनी कानुन मन्त्रालयमा सचिव हुन पाइनन् तर मुख्य सचिव भइन्।
आउँदो १५ भदौमा उमेर हदका कारण उनी अवकाश हुँदैछिन्। उनले ३७ दिन मुख्य सचिव भएर चलाए पनि इतिहासमा पहिलो मुख्य सचिव भनेर नाम लेखाइन्।
अवकाशअघि लीलाले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सचिव हुन नपाउने अवस्था थियो। अन्यत्र भन्दा फुर्सदिलो मानिने प्रधानमन्त्री कार्यालयमा अवकाश प्रतीक्षामा रहेकी थिइन्।
कानुन मन्त्रालयमा पहिलो महिला सचिव हुने प्रयास गरेकी लीलाको सम्भावना टर्दै गयो। तर उनी पहिलो महिला मुख्य सचिव नै भइन्। लीला सचिवमा बढुवा भएपछि ३४ महिनासम्म नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको नेपाल कानुन आयोगमा काम गरेपछि मात्रै उनी सिंहदरबारमा पस्न पाएकी थिइन्।
अवकाश हुन पाँच महिना बाँकी थियो लीलाको। त्यही समय अर्थात् १० असार २०८० मा तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा पर्यो। त्यसपछि लीलाको करिअरले नयाँ मोड लियो। अर्यालको निलम्बनसँगै प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिवमध्ये वरिष्ठताका आधारमा उनी निमित्त मुख्यसचिव बनिन्।
एमाले र कांग्रेसको नयाँ गठबन्धन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उनलाई कायममुकायम मुख्यसचिव नियुक्त गर्योयो। पहिलो महिला कानुन सचिव बन्ने अभिलाषा राखेकी लीला पहिलो मुख्य सचिव नै भइन्। ‘मैले जिम्मेवारीबोध भएको महसुस गरेको छु, मैले कल्पना गरेको पद होइन,’ मुख्यसचिव नियुक्तिपछि भनिन्, ‘कसैले भाग्यले भन्छन्, कसैले कर्मले, मैले बुझेसम्म कर्म गर्दै जानुपर्छ, भाग्यले पनि साथ दिन्छ।’ आफू छोटो अवधिका लागि महिला मुख्यसचिव भए पनि यसमा सबै महिलाहरूको अव्यक्त चाहना र भावनाले काम गरेको पनि बताइन्।