जानकी आँखा अस्पताल : राजनीतिक ‘कुदृष्टि’ को सिकार

नेहा झा १० साउन २०८१ २१:२४
32
SHARES
जानकी आँखा अस्पताल : राजनीतिक ‘कुदृष्टि’ को सिकार

जनकपुरधाम-जनकपुरधामस्थित जानकी आँखा अस्पताल नेपालमा मात्र नभई भारतमा पनि आँखाको उपचारका लागि प्रसिद्ध छ।

जनकपुरधाम आसपासका बिरामीहरू उपचारका लागि भारतको विभिन्न स्थानमा जाने गरे पनि आँखाको उपचारका लागि सीमापारीबाट यहाँ आउनेहरूको दिनहुँ भीड हुन्छ। आँखाको सामान्य उपचारदेखि शल्यक्रियाका लागि ठूलै संख्यामा भारतीय नागरिक यो अस्पतालमा पुग्ने गरेका छन्।

जानकी आँखा अस्पतालको सेवाबाट भारतीय लाभान्वित भइरहँदा स्थानीय र यस क्षेत्रका बिरामीलाई लाभ नहुने कुरा नै भएन। जनकपुरधाम–८ स्थित जानकी आँखा अस्पताल यो क्षेत्रकै पाको आँखा अस्पताल हो। तर, पछिल्लो समय यो अस्पताल विवादमा बल्झिएको छ।

अस्पताल विवादको अखाडा बनेपछि उपचारका लागि नेपाल तथा भारतको विभिन्न स्थानबाट आएका बिरामी बिचल्लीमा परेका छन्। यसअघि पनि कैयौंपटक विवादको चपेटामा आइसकेको यो अस्पताल अहिले फेरि विवादकै कारण चर्चामा छ।

केही दिन यतादेखि अस्पतालमा ताला लागेको छ, चिकित्सकीय सेवा प्रभावित बनेको छ। केही राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताले अस्पताल सुधारका लागि दबाब सिर्जना गर्ने उद्देश्यले बनाएको सर्वदलीय तथा सर्वपक्षीय समितिले अस्ताललाई गोजीको संस्था बनाएको भन्दै अस्पताल परिसरमै हातपातका साथै तोडफोड भएपछि उत्पन्न विवादले झनै उग्र रुप लिएको छ।

अहिले आएर दुवैपक्ष आरोप प्रत्यारोपमा उतरिएका छन्। सर्वपक्षीय समितिले अस्पताल भ्रष्टाचारको अखाडा बन्दै गइरहेको आरोप लगाएको छ भने अस्पताल पक्षले अमुक व्यक्तिलाई स्थापित गर्न अस्पतालमा आन्दोलन चलाइएको दाबी गरेको छ।

विवादका बीच बिहीबार दुवैपक्षले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर आआफ्नो पक्ष राखेको छ। समितिले पत्रकार सम्मेलन गरेर रेडक्रस धनुषाका सभापतिसमेत रहेका जानकी आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले अस्पताललाई गोजीको संस्था बनाउनुका साथै भ्रष्टाचारको अखाडा बनाएको आरोप लगाएको छ।

अस्पतालका कोषाध्यक्ष एवं सर्वदलीय सर्वपक्षीय समितिमासमेत रहेका धिरेन्द्रमोहन झाले अस्पतालको सञ्चालक समिति नै अवैधानिक रहेको दाबी गरे। उनले सिंहअघि सभापति बनेका गंगाराम यादव ७७ को नियमावलीअनुसार बनेको तर उनीपछि सभापति बनेका सिंह ७५ को नियमावलीलाई टेकेर कसरी बनेको भन्दै प्रश्न गरे। उनले भने, ‘अस्पतालको यो समिति नै अवैधानिक छ, समितिको म कोषाध्यक्ष हुँ, तैपनि यो समिति अवैधानिक रहेको स्वीकार गर्छु।’

झाले आफू यो समितिमा नाममात्रको कोषाध्यक्ष रहेको भन्दै सिंहलगायत उनका आसेपासेहरुका र उनीसँगै लागेका केही चिकित्सकहरुले मेरो हस्ताक्षर विनै करोडौं रुपैयाँ झिकेर अस्पतालको रकम अपचलन गरेको आरोप लगाए।

यसका साथै अस्पतालको एनएमबी बैंकमा रहेको १ करोडबढी एफडी नवीकरण गर्नका लागि मेरो स्वीकृति समेत नलिइएको उनले बताए। सर्वदलीय सर्वपक्षीय समितिका संयोजक रामसिंह यादवले अस्पतालमा कार्यरत चिकित्सकमाथी श्रम शोषण समेत भइरहेको आरोप लगाए।

सर्वपक्षीय समितिका अध्यक्ष यादवले अस्पतालमा पाँच वर्षदेखि कार्यरत चिकित्सक डा.अमित यादवको तलब रोक्का गर्नुका साथै सञ्चालक समितिले दुव्र्यवहार गरेको दाबी गरे। डा. यादवका साथै डा.सन्तोष साह र रञ्जना ठाकुरसँग पनि दुव्र्यवहार भएको उनको भनाइ छ।

अस्पतालको बेथितिविरूद्ध बोल्दा सञ्चालक समितिका अध्यक्ष सिंहलगायतका व्यक्तिहरू डा.यादवमाथि जाइलागेको यादवले बताए। नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन भइरहेको आँखा अस्पतालको सञ्चालन नियमावली, २०७५ मा व्यवस्था गरिएअनुसार अस्पतालको सञ्चालन समिति पाँच सदस्यीय रहने व्यवस्था गरिएको छ।

सोही नियमावलीको पहिलो संशोधन २०७७ मा सञ्चालन समिति ७ सदस्यीय हुने व्यवस्था छ। नियमावलीको व्यवस्थाअनुसार सञ्चालन समितिमा रेडक्रसले नियुक्त गरेको एक अध्यक्ष र एक कोषाध्यक्ष हुने व्यवस्था छ। त्यसैगरी रेडक्रसका जिल्ला शाखा अध्यक्ष अस्पताल सञ्चालन समितिका पदेन उपाध्यक्ष रह्ने व्यवस्था छ।

समितिका निवर्तमान अध्यक्ष समितिमा पदेन सदस्य र अस्पताल प्रमुख पदेन सचिव रहने व्यवस्था नियमावलीमा छ। अस्पतालका वर्तमान अध्यक्ष नरेश सिंह रेडक्रस धनुषाका अध्यक्षसमेत रहेकाले पदेन उपाध्यक्ष पनि छन्।

सिंहले नियमावलीअनुसार निवर्तमान अध्यक्ष गंगाराम यादवलाई पदेन सदस्य चयन गर्नुपर्नेमा उनले आफूनिकट पूर्वअध्यक्ष डा. विजय सिंहलाई पदेन सदस्यमा राखेको आन्दोलनरत पक्षको भनाइ छ।।

सञ्चालन समितिमा बहुमत भएपछि अध्यक्ष सिंहले एक्लौटी निर्णयहरू गर्दै आएको र अस्पताललाई गोजीको संस्था बनाएको आरोप लगाइएको छ।

यता आँखा अस्पतालका अध्यक्ष नरेश सिंहलगायतका अस्पताल प्रशासनपक्षले पनि छुट्टै पत्रकार सम्मेलन गरेर सर्वदलीय सर्वपक्षीय समितिले लगाएका सम्पूर्ण अरोपको खण्डन गरेको छ।

आँखा अस्पतालका अध्यक्ष सिंहले यो अस्पतालको विनोद शर्मा, डा. विजय सिंह, गंगाराम यादवपछि मात्रै आफू अध्यक्ष भएको भन्दै अस्पताल गोजीको संस्था नरहेको प्रमाणित भएको बताए।

यसका साथै गंगाराम यादव निर्वाचित अध्यक्ष नरहेको र डा.विजय सिंह निर्वाचित पूर्वअध्यक्ष रहेकाले उनलाई निवर्तमान अध्यक्षको नाताले पदेन सदस्य राखिएको उनले स्पष्ट गरे।

‘धिरेन्द्रमोहन झा हाम्रै समितिको कोषाध्यक्ष हुनुहुन्छ अहिले,’ अध्यक्ष सिंहले भने,‘ ‘उहाँ आफैं रेडक्रसको सदस्य हुनु हनुहुन्न, उहाँको नियुक्ति राजनीतिक रुपमा गरिएको छ।’

अहिले आएर झाले रेडक्रसविरुद्ध जथाभावी र अनर्गल प्रचारबाजी गर्नुका साथै अस्पतालको गरिमा तल झार्ने काम गरिरहेको सिंहले आरोप लगाए ।

आँखा अस्पतालका प्रमुख डा. आशिष बोहोराले कुनै पनि चिकित्सक वा कर्मचारीलाई बलजफ्ती हटाउन लागिएको आरोप निराधार रहेको दाबी गरे।

उनले डा. अमित यादव इन्टर्न गर्नका लागि यहाँ आएको र करार अवधि नथप्ने निर्णय भएपछि आन्दोलनको रुप दिइएको आरोप लगाए।

बोहराले डा. यादवलाई विज्ञापनमार्फत आफूहरु राख्न तयार रहेको भनेपछि उनले बखेडा झिकेको बताए।।

डा. यादवले आँखा अस्पतालमा आउने बिरामीलाई रेफर गर्ने, वैकल्पिक पूर्जीको प्रयोग गर्ने लगायतका कृयाकलापमा लागेको देखिएपछि उनको करार अवधि नथप्ने निर्णय भएको उनको भनाइ थियो।

डा. रञ्जना ठाकुरलाई मधेशको स्वास्थ्य मन्त्रालयले आँखा अस्पतालमा २०८०/०४/२९ मा काजमा खटाएको र पछि मन्त्रालयले नै काज फिर्ता लिएको डा. बोहोराले स्पष्ट पारे।

मन्त्रालयबाट सेवा सुविधा खाइपाइरहेको अवस्थामा उनलाई यहाँबाट पनि सेवासुविधा दिनुपर्ने हाम्रो बाध्यता नरहेको उनको भनाइ थियो।

बोहोराले अस्पतालको खरिद प्रकृयामा भ्रष्टाचार भएको आरोप समेत निराधार रहेको दाबी गरे।

चिकित्सक र कर्मचारीमाथि हातपात, छानबिन समिति गठन

गत शुक्रबार अस्पतालका प्रशासकीय अधिकृत दीपेन्द्र सिंह र अस्पतालका प्रमुख डा. आशिष बोहोरामाथि कार्यक्षेत्रमै हातपात भयो।

अस्पताल सञ्चालन समितिको विरुद्धमा उत्रिएका केही स्थानीयले बिरामी जाँच्दै गर्दा चिकित्समाथि हातपात गरेको भिडियोहरू अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका छन्।

यो घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय धनुषाले आँखा अस्पतालमा भइरहेको विवाद समाधानका लागि छानबिन समिति गठन गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको बताए।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आवा र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत निरजकुमार श्रीवास्तव रहेका छन्।

कसरी निर्माण भयो आँखा अस्पताल?

सन् १९८२ मा बेग्लै परस्थितिमा जानकी आँखा अस्पतालको स्थापना भएको थियो।

तत्कालीन समयमा जनकपुर क्षेत्रमा अन्धोपन निवारण र आँखाका बिरामीका लागि केही सहयोग गर्ने उद्देश्यले आँखा शिविरलाई संस्थागत स्वरूप दिन उपचार केन्द्रका रूपमा सेवा सञ्चालन गरिएको थियो।

सन् १९५९ देखि वर्षको एकपटक आँखा शिविर सञ्चालन गरी समस्या समाधान गर्ने ध्येयले जनकपुरमा सुरु भएको अभियानले संस्थागत उपचार सेवा, केन्द्रको स्वरूप ग्रहण गर्न करिब २० वर्ष लागेको थियो।

२०३८ चैत १७ गते प्रतिष्ठित समाजसेवी मकेश्वरप्रसाद सिंहको नेतृत्वमा गठित समितिको सोच, योजना र पहलकदमीबाट सुरुवात भएको यो अस्पतालले कालान्तरमा गुणस्तरीय सेवाप्रवाह र आँखा स्वास्थ्यबारे गाउँ–गाउँमा फैलाएको चेतनाका कारण जनविश्वास आर्जन गर्न सफल भएको छ।

जनकपुरधामको पुरानो बसपार्क नजिक समाजसेवी लक्ष्मणप्रसाद साहले दिएको दुई कट्ठा जग्गा र तीन कोठे कच्ची घरबाट आँखा उपचार सेवा सुरु भएको थियो।

पछि जनकपुरधाम–८, रामानन्द चोक नजिकै गुठी संस्थानबाट प्राप्त एक बिघा, १३ कट्ठा, ९ धुर र केन्द्रले खरिद गरेको ४ कट्ठा जमिनमा रहेको संरचनाबाट अस्पतालको सेवा विस्तार भयो।

सन् १९९१ मा स्विस रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगपछि २५ शय्याको अस्पतालमा रूपान्तरित भएकोमा हाल १ सय शय्या क्षमतामा सेवा प्रवाह भइरहेको छ।

प्रकाशित: १० साउन २०८१ २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =