रंगमञ्चमा ‘एक जोर जुत्ता’ र ‘घरको माया’

हिमाल प्रेस १० साउन २०८१ २०:०१
122
SHARES
रंगमञ्चमा ‘एक जोर जुत्ता’ र ‘घरको माया’

काठमाडौँ- पाठ्यसामग्री भनेको लेख्ने र पढ्ने मात्र होइन, विद्यार्थीहरूले अरू धेरै माध्यमबाट पाठलाई बुझ्न र सम्झन सक्छन्। नाटक पनि एउटा त्यस्तै माध्यम हो। जसबाट विद्यार्थीहरूले राम्रोसँग पाठलाई बुझ्न र सम्झन सक्छन्। माथि उल्लेखित कुरालाई सार्थकता दिन यही साउन ८ गतेबाट कीर्तिपुरको राराहिल मेमोरियल विद्यालयस्थित थियटर मलमा दुई नाटक मञ्चन भइरहेको छ।

कक्षा ८ र १० को नेपाली किताबको पाठबाट ‘एक जोर जुत्ता’ र ‘घरको माया’ पाठलाई निर्देशक शंकर भण्डारीले नाट्य रूपान्तरण गरेर तयार पारेको नाटकको मंगलबार प्रिमियर गरिएको थियो। शताब्दी, राराहिल मेमोरियल विद्यालय, थियटर मल र थियटर सेन्टर फर चिल्ड्रेनको सहकार्यमा निर्माण भएको उक्त नाटकले विद्यार्थीहरूलाई पाठ बुझ्न धेरै नै सहज हुने शताब्दीका सचिव तथा कलाकार शालिक काकाले बताए। नाटक उपत्यका बाहिरका विद्यार्थीहरूको लागि मानसिक स्वास्थ्य बारेको कार्यशाला, व्यक्तित्व विकाससम्बन्धी कार्यशाला र अभिनय कला सम्बन्धीको कार्यशाला आयोजना गर्नका लागि सहयोगार्थ तयार पारिएको शताब्दीका अध्यक्ष तथा निर्देशक भण्डारीले जानकारी दिए।

नाटक हेरेपछि प्रतिक्रिया दिँदै ‘एक जोर जुत्ता’ का लेखक महेशविक्रम शाहले पाठ पढ्नु भन्दा पनि नाटकमा जीवन्त अभियनका साथ हेर्दा कथालाई विद्यार्थीले सहज रूपमा बुझ्न सक्ने धारणा व्यक्त गरे।

मनोविज्ञानमा आधारित कथालाई नाट्य रूपान्तरण गर्नु आफैँमा चुनौतीपूर्ण रहे पनि निर्देशकले उत्कृष्ट तवरले कथालाई नाटकमा प्रस्तुत गरेको उनले बताए।

त्यस्तै नाटक धेरै नै राम्रो बनेको र विद्यार्थीहरूलाई यसले पढ्न, बुझ्न र सम्झन निकै नै सहयोग पुग्ने राराहिल मेमोरियलका प्रधानाध्यापक जगतबहादुर महर्जनको भनाइ छ। शताब्दीसँगको सहकार्यमा आफूहरूले नाटक प्रस्तुत गर्न पाउँदा खुसी लागेको उनले बताए।

नाटकमा शालिक काका, सुशिल भुसाल, सुधा खनाल, सुजाता भट्ट, ओसिन राई, आँचल पाण्डे र आशिष लामाले अभिनय गरेका छन्। नाटक साउन २० गते सम्म चल्ने निर्देशक भण्डारी बताउँछन्।

 

प्रकाशित: १० साउन २०८१ २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =