नेपालका आकाश र सडक दुवै सुरक्षित छैनन्। त्रासदीपूर्ण र बारम्बार दोहोरिरहने सडक दुर्घटना र हवाई दुर्घटनाले नै यसको पुष्टि गर्छन्। काठमाडौँ गौचर हवाईअड्डामा अवतरणका क्रममा रनवेमा सन् १९५६ मे १५ को अपराह्न ०३:०५ मा इन्डियन एयरलाइन्सको विमान दुर्घटना भयो। यो काठमाडौँमा दुर्घटना भएको पहिलो, नेपालमा दुर्घटना भएको दोस्रो विमान हो। त्यसै वर्षको अप्रिल ३० मा राजा महेन्द्रको राज्याभिषेक समारोह हुँदा गौचर हवाईअड्डामा त्यतिबेलासम्मको सबैभन्दा बढी १० घण्टामा ६० वटा विमान (प्रत्येक १० मिनेटमा एउटा विमान) अवतरण भएका थिए।
सिमराबाट यात्रु लिएर गौचर हवाईअड्डामा आइपुगेको उक्त विमानमा चालकदलका सदस्यसहित ३१ जना यात्रु थिए। विमान हवाईअड्डाको रनवेमा आएर पनि चालकले नियन्त्रण गर्न नसक्दा मनहरा फाँटमा खसेको थियो। १५ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनालगत्तै सरकारले एउटा छानबिन समिति गठन गरेको थियो।
तत्कालीन सञ्चार सचिव सुरेन्द्रशमशेर जबराको अध्यक्षतामा गठन भएको छानबिन समितिका सदस्यहरुमा सञ्चार मन्त्रालयका डेपुटी सेक्रेटरी योगप्रसाद उपाध्याय, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ज्यानबहादुर प्रधान, भारतीय नागरिक उड्डयन प्राधिकरणका एमएन सीताराम र एएमएन शास्त्री थिए। त्यसैगरी पर्यवेक्षकका रूपमा प्रारम्भिक चरणमा इन्डियन एयरलाइन्स कर्पोरेसन कलकत्ताका डेपुटी चिफ इन्जिनियर केएन काट्जु र अन्तिम चरणमा इन्डियन एयरलाइन्स कर्पोर्सन कलकत्ताका चिफ इन्स्पेक्टर एसजी रंगस्वामी थिए।
समितिले जहाज दुर्घटनाको मुख्य कारणका रूपमा चालकको खराब प्राविधिक प्रक्रियाका कारण विमान तीव्र गतिमा उत्रँदा उछुट्टिएर दुर्घटना भएको औँल्याएको थियो। त्यस्तै उक्त समितिले केही महत्त्वपूर्ण सुझाव पनि दिएको थियो। गौचर हवाईअड्डाको रनवे छोटो र साँघुरो भएकाले रनवे लामो र फराकिलो बनाउन सुझाव दिइएको थियो।
त्यतिबेलासम्म गौचर हवाईअड्डामा तारबार गरिएको थिएन। समितिले गाईबस्तु एवम् अनधिकृत व्यक्ति प्रवेश नगरून् भनी तारबार गर्न सुझाव दिएको थियो। त्यस्तै हवाईअड्डामा आपत्कालीन अवस्थाका लागि चौबीसै घण्टा तैनाथीमा रहनुपर्ने गरी दमकल र एम्बुलेन्सको व्यवस्था गर्न सुझाव दिएको थियो। हवाईअड्डामा मौसमसम्बन्धी जानकारीका लागि तत्काल मौसमी उपकरण राख्नसमेत सुझाव दिइएको थियो।
समितिका सुझावहरू एउटा विमानस्थलका लागि अत्यावश्यकीय न्यूनतम पूर्वाधार थिए। त्यसपछिका दिनमा विमानस्थलमा ती सुधारका काम भए। बितेका सात दशकमा नेपाली आकाशमा १०० भन्दा बढी विमान दुर्घटना भए। ती दुर्घटनालगत्तै छानबिन अझ त्यसलाई उच्चस्तरीय छानबिन समितिको नाम दिइन्छ। ती आयोगका केकति प्रतिवेदन सार्वजनिक भए? ती प्रतिवेदन कति तथ्यगत र वस्तुपरक थिए? यी आयोगले कुनै सुझावहरु सिफारिस गरेका थिए कि थिएनन्? सुझाव सिफारिस गरेको भए केकति सुझाव कार्यान्वयनमा आए? नेपालमा बारम्बार हुने हवाई दुर्घटनाको दोष चालक पक्ष र प्राविधिक पक्षलाई दिएर आफू पानीमाथिको ओभानो हुन मिल्छ?
जति तत्परता र तादरुकता सरकारले विमान दुर्घटनामा दिन्छ त्यति सडक दुर्घटनामा किन दिँदैन? किन सरकारको प्राथमिकतामा सडक, बस र सडकका यात्रु पर्दैनन्? देशका असंख्य नागरिकले सडक यात्रा गर्छन् तर तिनको सुरक्षा सधैँ रामभरोसामा छ।