खुद पुल दरबन्दी विवरण पठाउन स्थानीय तहलाई मानव स्रोतकाे पत्राचार

हिमाल प्रेस १० साउन २०८१ १२:३८
818
SHARES
खुद पुल दरबन्दी विवरण पठाउन स्थानीय तहलाई मानव स्रोतकाे पत्राचार

काठमाडाैँ-  शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापन समन्वय शाखा)  ले स्थानीय तहलाई खुद पुल दरबन्दी विवरण पठाउन पत्राचार गरेकाे छ। केन्द्रले बुधबार खुद पुल दरबन्दी भएका मात्र स्थानीय तहलाई पत्राचार गरेकाे हाे।

उक्त विषयमा शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसार शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनको कार्य हुँदै आएको छ। खुद पुल दरबन्दी भएका अधिकांश स्थानीय तहले खुद पुल दरबन्दी कट्टा गर्न केन्द्रमा समयमै विवरण उपलब्ध गराएका कारण दरबन्दी मिलान तथा व्यवस्थापन कार्यमा सहयोग पुगेको केन्द्रले जनाएकाे छ।

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनको कार्यलाई निरन्तरता दिने प्रयोजनार्थ हालसम्म अझै पनि खुद पुल दरबन्दी कट्टा गर्न बाँकी रहेका स्थानीय तहले सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमार्फत भदाै १५ गतेभित्र केन्द्रको ईमेल [email protected] मा विवरण उपलब्ध गराउन अनुरोध गरिएकाे छ।

केन्द्रबाट विभिन्न मितिमा जारी भएको पत्रानुसार समयमै कट्टा गर्नुपर्ने खुद पुल दरबन्दी नपठाई दरबन्दी मिलान कार्यमा सहजीकरण नगर्ने खुद पुल दरबन्दी रहेका स्थानीय तहमा खुद पुल दरबन्दी बराबरको संख्यामा शिक्षक तलब भत्ता निकासा नगरिएको र नगरिने हुँदा शिक्षक दरबन्दी मिलानको कार्य यथाशीघ्र सम्पन्न गर्ने व्यवस्था हुन समेत निर्देशानुसार अनुरोध गरिएकाे छ।

केन्द्रले  खुद पुल दरबन्दी भएका मात्र शिक्षा विकास तथा समन्वय एकाइलाई आवश्यक समन्वय र सहजीकरणका लागि अनुराेध गरेकाे छ।

उपलब्ध गराउनुपर्ने विवरण

१. खुद पुल रहेको कट्टा गर्नुपर्ने रिक्त दरबन्दी/राहत अनुदान कोटाको विवरण।

२. कटौती हुने खुद पुल दरबन्दी रहेको स्थानीय तहबाट तोकिएको सोही जिल्लाको अर्को दरबन्दी थप हुने स्थानीय तह वा सोही प्रदेशको दरबन्दी थप हुने अर्को जिल्लाको स्थानीय तहमा दरबन्दी थपसहित सरुबा भई जान ईच्छुक शिक्षकको निवेदन माग र संकलन गरी सो सहितको विवरण।

३. माथि बुँदा नं. १ र २ अनुसारको विवरण पठाउँदा समेत खुद पुल दरबन्दी बाँकी रहने भए राहत अनुदान कोटा र दरबन्दीमा अस्थायी/करारमा कार्यरत शिक्षकको अलग अलग कनिष्ठताको सूची अद्यावधिक गरी पठाउनु हुन।

४. खुद पुल दरबन्दी रहेको स्थानीय तहले उक्त खुद पुल दरबन्दीमा स्थायी पदपुर्ति नगर्नु नगराउनु हुन र कुनै पनि व्यहोराले रिक्त रहने भए सो विवरण बुँदा १ बमोजिम गर्नुहुन।

प्रकाशित: १० साउन २०८१ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =