
काठमाडौँ- बर्खायाममा धेरै मानिसहरूमा कान पाक्ने समस्या हुन्छ । बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन अर्थात् संक्रमण (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो। कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ।
पछिल्लो समय ग्राण्डी अस्पतालमा कानसँगै नाकका बिरामीसमेत बढी मात्रामा आउने गरेका छन्। नाक बन्द हुने, हाच्छिउँ आउने, पिनासका कारण टाउको दुखेका बिरामीहरू यस अस्पतालमा आउने गरेका हुन् । घाँटीको एलर्जी, इन्फेक्सन भएका बिरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन् ।
कानको रोगका लक्षणहरू
– कान चिलाउने
– कान अत्यधिक मात्रामा दुख्ने
– कान डम्म हुने
– कान भित्रबाट पिप वा पानी बग्ने समस्या
धेरैजसो मानिसले कान अत्यधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने गर्यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले वडले कान कोट्याउने गरेको पाइन्छ । यसरी अनावश्यक रूपमा औषधि, तेल वा कान कोट्याउँदा कानभित्र रहेको कानको जाली फुट्ने समस्या हुन्छ ।
उपचार विधि
कान अत्यधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कानभित्र पिप तथा पानी बग्ने समस्या देखिएमा नजिकको चिकित्सककोमा गएर देखाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा कानको जाली फुट्दा समेत कान दुख्न सक्छ।
यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ ।
यसबाट कसरी बच्ने?
– पौडी खेल्न जाँदा एअर प्लग लगाउने
– पौडी खेल्दा कान छोप्ने
– डाइभ भरसक नगर्ने
– पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने भयो भने विशेषज्ञलाई देखाउने
कान दुख्ने समस्या देखियो भने कानेगुजी हटाउनुपर्छ भन्ने छैन । धेरै भएमा चिकित्सकको सल्लाह बमोजिम उचित ढङ्गले हटाउनुपर्छ । वडले कानेगुजी हटाउँदैन । वडको प्रयोग गर्दा उल्टो कानेगुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ ।
त्यसैले वडको प्रयोग नगर्नु राम्रो हुन्छ । कानले कानेगुजी आफैँ सफा हुने ुमेकानिज्मु बनाएको हुन्छ । कानले जति कानेगुजी चाहिने हो त्यो राखेर बाँकी कानेगुजी आफैँ फाल्छ । यस्तै कान पाक्ने समस्यासम्बन्धी आमजनमानसमा जनचेतना फैलाउन जरुरी रहेको छ ।