बागमतीमा सधैँ सफा पानी बग्ने योजना अघि बढाउन मन्त्री सिंहको निर्देशन

हिमाल प्रेस ९ साउन २०८१ १५:४९
10
SHARES
बागमतीमा सधैँ सफा पानी बग्ने योजना अघि बढाउन मन्त्री सिंहको निर्देशन

काठमाडौँ- उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन्। बुधबार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकातर्फबाट समितिले गरेका कामहरूबारेको जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन्।

बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरूको संरक्षण हुन नसकेको गुनासो सुनिएको भन्दै मन्त्री सिंहले बागमतीमा बनेका संरचनाको संरक्षणमा पनि ध्यान दिन निर्देशन दिए।

उनले बनेर पनि प्रयोगमा नआएका ढलहरूलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरूको संरक्षचण गर्न आवश्यक काम अघि बढाउन निर्देशन दिए।

‘अहिले नागरिकले प्रश्न गरिरहेका छन्। ढल त बन्छ तर प्रयोगमा किन आइरहेको छैन। यसलाई करेक्सन गर्नुपर्‍यो। तत्काल गर्न सकिने काम अहिले गरौं,’ उपप्रधानमन्त्री सिंहले भने,‘ बनाएको ढलहरू प्रयोगमा त आउनुपर्‍यो नी। बनाएको छ खर्च गरेको छ भनेर मात्र भएन, काम आएको छ की छैन हेर्नुपर्‍यो।’

त्यस्तै मन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरी सम्म बनेका पार्कहरूको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए। यस्तै, उपप्रधानमन्त्री सिंहले बागमतीमा बाह्रै महिना पानी बगाउनुपर्नेमा पनि जोड दिए।

बागमतीमा सफा पानी बगाउनका लागि नाग्मतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए।

‘बागमतीमा १२महिनै पानी बगाउन हामीले सोच्नुपर्छ। धाप ड्यामको क्षमता पशुपतिमा हुने ठूला ठूला जात्रामा पानी बगाउन सकिने मात्र छ। त्यसको अलावा नाग्मती ड्याम बनाउने एआई भएको छ। सम्बन्धित निकायलाई कोअर्डिनेशन गरेर त्यसलाई अघि बढाउनुपर्छ। त्यसका लागि बाधा अड्चन छ भने हटाउन मन्त्रालय सहजीकरण गर्न तयार छ ’ उनले भने, ‘ पानी बगाउनैपर्‍यो। नाग्मतीको ड्याम बन्नुभन्दा अगाडी वैकल्पिक केही गर्न सकिन्छकी , त्यसमा पनि सोच्नुपर्‍यो। नाग्मती बन्न त केही वर्ष लाग्ला। त्यो बनेपछि गरौला भनेर त भएन। त्यसलाई पनि बनाउनुपर्‍यो। तर, यो बीचका लागि बागमतीमा पानी बगाइराख्न वैकल्पिक केही गर्न सकिन्छ की हेर्नुपर्‍यो।’

बागमती भन्दा कुरुप भइसकेका नदिहरूलाई विभिन्न देशले पछि सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै उनले बागमती नदि स्वच्छ रुपमा बगाउनका लागि सरकारले प्रभावकारी योजना ल्याउने पनि बताए।

प्रकाशित: ९ साउन २०८१ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =