प्रधानमन्त्री ओली विमानस्थलमा

हिमाल प्रेस ९ साउन २०८१ १४:३१
46
SHARES
प्रधानमन्त्री ओली विमानस्थलमा विमान दुर्घटनास्थलको निरीक्षण तथा अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रासस

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगेका छन्। यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका थिए।

काठमाडौँबाट पोखरा उड्ने क्रममा विमान बिहान दुर्घटनमा परेको थियो। सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनग्रस्त विमानमा सवार १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

यसरी भयो उद्धार कार्य

बिहान ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडान भर्ने क्रममा उड्नेबित्तिकै दायाँतिर मोडिन गएको थियो। रनवेको पूर्वतिर दुर्घटना भएको खबर ११:१५ बजे प्राप्त भएपछि सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठको कमान्माड ८५ जना उद्धार टोली आवश्यक उद्धार सामानसहित खटिएका थियो।

यसैगरी काठमाडौँ मेडिकल कलेजको चिकित्सक टोलीसहित ११:२० बजेको समयमा खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ। उद्धारमा नं १९ गणबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक समिककुमार महर्जनको कमान्डमा ३५ जनाको एसटीएफ टोली, जुद्ध वारुणयन्त्र रामहिटीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद खतिवडाको कमान्डको १ वटा दमकल टोली परिचालन गरिएको थियो।

सौर्य एयरको जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थलमा सवार १८ जना कर्मचारीको शवको उद्धार गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत विमानस्थलका कर्मचारी। तस्बिर : रासस

विमानस्थल सुरक्षामा रहेको अग्नि नियन्त्रक टोली, नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सरोकारवाला निकायका उद्धारकर्मी तथा चिकित्सक टोली खटिएका थिए। दर्घटनामा परेका पाइलट मनीष शाक्यको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ भने शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्यांगर’ भएका कारण सौर्य एयरलाइन्सको विमान प्राविधिक परीक्षण लागि आउँदा दुर्घटनामा परेको बताएकी छन्।

‘विमानमा कुनै खराबी आएर नभई निश्चित घण्टा उडेपछि नियमित तालिकाअनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो’, सुवेदीले भनिन्, ‘पोखरामा रहेको सुविधासम्पन्न ह्यांगरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिक विमान सवार रहेको जानकारी आएको छ।’

प्रकाशित: ९ साउन २०८१ १४:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =