काठमाडौँ- लुम्बिनी प्रदेशबाट नेकपा एमालेको गुटगत राजनीति बाहिरिएको छ। पार्टीका दुई प्रभावशाली नेता उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुटगत राजनीतिक प्रतिस्पर्धाका कारण कतिपय नेताहरू निसानामा पर्न थालेका छन्। यसको पछिल्लो उदाहरण हो- लुम्बिनी सरकारमा देखिएको गुटगत प्रभाव।
एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी विस्थापित हुँदै सोमबार उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त हुनुमा गुटगत प्रभाव रहेको नेताहरूले स्वीकार गरेका छन्। गिरी पौडेल खेमाका हुन् भने आचार्य पोखरेल निकट नेता मानिन्छन्।
उपनेता आचार्य मुख्यमन्त्रीको कुर्सीमा बस्दा गिरीले चाहिँ संसदीय दलको नेताबाटै बाहिरिनुपरेको छ। उनले बुधबार संसदीय दलको नेता पदबाट राजीनामा दिएका छन्। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले लुम्बिनीमा देखाएको गुटगत राजनीतिको बाछिटा बिस्तारै अरू प्रदेशमा पर्न सक्ने बताउँछन्। पदीय जिम्मेवारीका हिसाबले पौडेल र पोखरेल अध्यक्ष केपी शर्मा ओलीपछिका शक्तिशाली नेता हुन्।
लुम्बिनीमा महासचिव पोखरेलले फोन गरेर गिरीको ‘मुख्यमन्त्री-यात्रा’ मा ‘ब्रेक’ लगाइदिएको नेताहरूले बताएका छन्। ‘हामीले दाबी पेस गर्ने पत्रमा गिरीकै नाम थियो। ‘महासचिवज्यूले फोन गरेपछि मात्रै हामीले थाहा पायौँ। पछि टिपेक्स लगायौँ’, लुम्बिनी एमाले अध्यक्ष राधाकृष्ण कँडेल भन्छन्, ‘कसरी भयो, हामीलाई थाहा भएन, माथिकै नेतालाई सोध्नुपर्छ।’ संसदीय दलका नेता गिरी बिहान ११ बजेसम्म गिरी मुख्यमन्त्री हुने पक्कापक्की थियो।
एमालेमा पोखरेल र पौडेलबीचको गुटगत राजनीति नयाँ होइन। एउटै प्रदेशका दुई ‘हेबिवेट’ यी दुई नेता आफ्नो प्रभुत्व स्थापित गर्न एकअर्कामाथि हुने प्रयास धेरै अघिदेखि गर्दै आएको चर्चा एमाले वृत्तमा हुँदै आएको छ। एमालेकै कतिपय नेताहरूका अनुसार २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि पौडेल र पोखरेलले एकअर्कालाई पराजित गराउन रणनीति बुनेका थिए। त्यो तानाबानामा पौडेलले बाजी मारे भने पोखरेलले हारको सामना गर्नुपर्यो।
दाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि पार्टी राजनीतिमा कमजोर बन्दै गएको आकलन भइरहँदा पोखरेलले गुटगत राजनीतिको ‘अस्त्र’ प्रयोग गर्न थालेको एमाले नेताहरू बताउँछन्। ‘पौडेल गुटगत राजनीतिमा खासै भर पर्दैनन्। पोखरेलको चाहिँ राजनीति गुट हो भन्ने भएको छ,’ एमालेका अर्का एक नेता भन्छन्, ‘पोखरेल ओलीसँग मिल्छन् र त्यसैमा भर परेर गुट चलाइरहेका छन्।’
ती नेताका अनुसार पार्टीको आन्तरिक राजनीतिमा यी दुई नेताबीच गुटगत प्रतिस्पर्धा चलिरहे पनि बाह्य रूपमा उघ्रिएको यो पहिलोपटक हो। पोखरेल र पौडेलको गुट देशभर फैलिएको छ। भदौमा सम्पन्न लुम्बिनी प्रदेश अधिवेशनमा पौडेल र पोखरेलबीच कित्ताकाट भएको थियो। अधिवेशनमा पनि पौडेल पक्षले बाजी मारेको थियो। प्रदेश अध्यक्षमा कडा प्रतिस्पर्धाका बीच पौडेल पक्षका राधाकृष्ण कँडेल निर्वाचित भएका थिए। पोखरेलनिकट हरि रिजाललाई २ मतले पराजित भएका थिए।
कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाउँदा रिजालका पक्षमा ४७७ मत खसेको थियो। पोखरेलनिकट रिजाललाई प्रदेश अध्यक्ष बनाउन पार्टी अध्यक्ष ओलीले आफैँ भिडेका थिए। ओलीले अधिवेशन उद्घाटनसत्रमा सर्वसम्मत बनाउन ओलीले निर्देशन दिएका थिए। यद्यपि प्रदेशको नेतृत्वमा आउन चाहेका आकांक्षीहरूले चुनावी प्रक्रियालाई नै रोजेका थिए।
पौडेल-पोखरेल गुटबन्दी प्रदेश सरकारमा मात्रै होइन संघीय सरकारमा पनि देखिन थालेको नेताहरू बताउँछन्। महासचिव पोखरेल ओली नेतृत्वको वर्तमान सरकारमा पौडेललाई मन्त्री बन्न नदिने पक्षमा थिए। ‘महासचिव पोखरेलको चाहना पार्टी उपाध्यक्ष पौडेललाई रोकेर अरू कसैलाई मन्त्री बनाउने थियो’, पौडेल पक्षीय एक पदाधिकारी भन्छन्।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि पछिल्ला समय पार्टीमा गुटको राजनीति मौलाउन थालेको स्वीकार गर्छिन्। उनले हिमालप्रेससँग भनिन्, ‘१०औँ महाधिवेशनपछि एमालेमा गुटको कुरा सुनेको थिइनँ। अहिले लुम्बिनीमा किन यस्तो भयो थाहा छैन। किन अरू नेतालाई विस्थापित गर्न खोजियो बुझिएको छैन।’
गुटबाट फुटको डर
पोखरेल र पौडेल दुवै पार्टी अध्यक्ष ओलीका प्रिय पात्र हुन्।र पछिल्लो समय ओलीले पोखरेललाई नजिक राखेर ‘अतिरिक्त प्रेम’ दिएको एमाले नेताहरू बताउँछन्। १० औँ महाधिवेशनमा दुवै नेता महासचिवका आकांशी थिए। अध्यक्ष ओलीले महासचिवमा पोखरेललाई रोजे र पौडेल उपाध्यक्ष बने।
२०७९ को चुनावमा उम्मेदवार चयनमामा पोखरेलको प्रभाव थियो। आमचुनावमा पोखरेलले आफू निकटलाई टिकट दिएको एमाले नेताहरूको भनाइ छ। यसमा पनि परिवारवादलाई पनि प्रश्रय दिएका थिए। समानुपातिक सांसद मेनुका पोखरेल पोखरलकी बहिनी हुन्। यसअघि उनकी पत्नी सुजिता शाक्य समानुपातिक सांसद थिइन्।
एमालले लगातार समानुपातिक सांसद बन्न नपाउने प्रावधान ल्याएपछि पोखरेलले श्रीमतीको ठाउँमा बहिनीलाई अघि सारेका थिए। पोखरेलले बहिनीज्वाइँ शिवकुमार आचार्यलाई भूमि आयोग दाङको अध्यक्ष बनाए। पोखरेलले पटकपटक गुटको राजनीति गर्दै परिवारभित्रकै नेतालाई अवसर दिएको एमाले नेताहरू सुनाउँछन्। ‘हामी खास गुटमा चासो दिँदैनौँ। माथिकै नेताहरू कित्ताकाट गर्छन्,’ अध्यक्ष कँडेल भन्छन्।
अहिले एमालेमा पोखरेललाई ओली र पौडेललाई पूर्वराष्ट्रपति विद्या भण्डारीसँग जोडेर हेरिन्छ। कतिपय ठाउँमा भने भण्डारीले समेत पोखरेललाई साथ दिने गरेको नेताहरू सुनाउँछन्। उनीहरूसँगै गुटगत राजनीति गर्नेमा पूर्वराष्ट्रपति भण्डारीको समेत नाम जोडिन्छ। भण्डारीले आफूनिकट नेतालाई मन्त्री वा सांसद बनाउन ‘लबिङ’ गर्ने गरेको एमाले नेताहरू बताउँछन्।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी पनि गुटगत राजनीति गर्दै आएका नेता हुन्। भीम रावलनिकट नेताहरूले समेत कतिपय ठाउँमा गुटगत राजनीति गर्ने गरेका छन्। २०७८ मंसिरमा चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीलाई चुनौती दिएका रावल पार्टीको सक्रिय राजनीतिबाट छायामा छन्।
गुटबन्दीकै कारण पार्टीले विभाजन भोग्नुपरेको एमाले नेताहरूको ठम्याइ छ। ‘गुटकै कारण एमाले फुट्यो। अब त्यसो हुन नदिनु पर्नेमा गुटबन्दी झनै चर्किइरहेको छ,’ उपाध्यक्ष शाक्य भन्छिन्, ‘मैले त अध्यक्षज्यूलाई पनि भनेको थिएँ। आफ्नै नेताहरूप्रति गुट चलाउनु कहाँसम्म ठीक हो?’