बस्तीमा चितुवा पसेपछि बढ्दै त्रास

हिमाल प्रेस ९ साउन २०८१ ९:०१
4
SHARES
बस्तीमा चितुवा पसेपछि बढ्दै त्रास फाइल तस्बिर।

कैलाली- टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्। केही दिनअघि वडा नं ८ फाटाका २२ वर्षीय अरविन चौधरी भाग्यले बाँचे। उनको शरीरमा घाउ लागेको छ। यद्यपि उनी खतरामुक्त छन्। उपचारपछि उनी तंग्रिएका छन्। चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बंगुर र कुकुर मारेको छ।

चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन। ‘राति शौचालय जान निस्केको थिए, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिए’, टीकापुर–७ का शिवम चौधरीले भने, ‘त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ। खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ।’

गाउँमा जंगली जनावरको जोखिम बढेपछि वन सबडिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जीतराम चौधरी बताउँछन्। ‘अझै तीन किलोमिटर वनक्षेत्रमा तारजाली आवश्यक छ’, उनी भन्छन्, ‘जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम रहन्छ।’

यहाँ सत्ती कर्णाली र श्रीलंका सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जंगल भएकाले जंगली जनावरको आक्रमण बढिरहेको वडा नंं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए। पारिबाट हात्ती, बाघ र चितुवा आउछन्, टीकापुरका वडा नं ७, ८, ५ र २ मा जंगल क्षेत्र जोडिएकाले यी वडामा जंगली जनावरको जोखिम छ। वडा नं ८ मा चितुवामात्र होइन हात्तीले समेत त्यत्तिकै सताउने गरेका छन्।

हात्ती नियनत्रणका लागि तारजाली लगाउने, राति उज्यालो बनाउन बत्तीको व्यवस्था गरेको उनले बताए। बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि जंगली जनावर आउने भएकाले बस्ती असुरक्षित भएको उनको कथन छ। सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग कर्णाली करिडोर क्षेत्र जोडिएकाले जंगली जनावरको ओहोरदोहोर हुने जोखिम रहेको वन सबडिभिजन कार्यालयका अधिकृत मोहम्मद ताहा हुसेन निकरानीले बताए।

‘केही महिनादेखि जंगली जनावरको आक्रमण बढेको जानकारी आएको छ’, उनले भने, ‘त्यहाँ बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दिया हुँदै जंगली जनावर कैलालीका सामुदायिक वन प्रवेश गर्ने गरेका छन्, यसले पनि जोखिम बढेको छ।’ डिभिजन कार्यालयले सामुदायिक वनलाई तारजाली लगाउन सहयोग गरेको र त्यहाँका नागरिकलाई सुरक्षित रहन सचेत गराइएको उनले बताए।

प्रकाशित: ९ साउन २०८१ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast