संस्मरण

बीपीको शोक मनाउँदा शिक्षक जागिर चट्

हिमाल प्रेस ८ साउन २०८१ १८:४१
92
SHARES
बीपीको शोक मनाउँदा शिक्षक जागिर चट्

आज पनि साउन ९, २०३९ को घटना सम्झँदा आङ सिरिंग हुन्छ। गोरखा जिल्लाको तत्कालीन बारपाक गाविसको हिमालय निमाविमा हामीले अध्यापन गरेका थियौँ। नेपालका प्रथम जननिर्वाचित २०१५ सालका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति र साहित्यका विभूति हुन्।

१९७१ साल भदौ २४ गते बनारसमा जन्मिएका कोइराला नेपाली कांग्रेसका संस्थापक नेता हुन्। राणा शासनको विरुद्धमा र पञ्चायत शासनविरुद्धमा सशक्त आन्दोलन गरेका कोइरालालाई २०१७ साल पुस १ गतेदेखि आजीवन काराबासको सजाय सरकारले दियो। सुन्दरीजलमा बसेर उपन्यास, कथा, कविता र डेलि डायरी लेखेका कोइरालाले पाश्चात्य जगतको फ्रायडेली परम्परालाई नेपाली साहित्यमा भित्र्याई आजीवन नेतृत्व गरेका थिए।

भारतले सिक्किम आफ्नो राज्यमा मिलाएपछि राष्ट्रियताको खतरा देखेका कोइरालाले २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपालमा आएका थिए। क्यान्सरका रोगी कोइरालाले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र जोगाउन राजाको घाँटीभन्दा आफ्नो घाँटी माथि राख्न तयार छु भनी नेपालमा आए। २०३७ सालको जनमत संग्रहलाई स्वीकारेर सुधारिएको पञ्चायतमा बहुदल प्रणाली अपनाएमा मान्नसमेत तयार भएको सुनिन्थ्यो।

क्यान्सरका रोगी कोइरालाको २०३९ साल श्रावण ६ गते बेलुका असमायिक निधन भएको कुरा रेडियो नेपालले समाचारमा भन्यो। राजा वीरेन्द्रले शोक सन्देश दिए। हामी बारपाकमा पढाउने र सेभ द चिल्ड्रेनमा जागिर खानेले पनि दु:खद समाचार सुन्यौँ। नेपाल सरकारले पूर्वप्रधानमन्त्री भएको हुनाले शोक मनाउन कार्यालयहरू र विद्यालय बन्द गर्छ भन्ने सोचेका थियौँ। पञ्चायती सरकारले पक्षपात गरी शोक मनाएन। हामीले सल्लाह गरेर विद्यालयमा शोक मनाउने निर्णय गर्‍यौँ। प्रार्थना चलाउने खेलकुद शिक्षक म आफैँ भएको हुनाले मैले नेतृत्व गरेको थिएँ।

शिक्षक साथीहरू ईश्वरी घिमिरे, यम घले, लोकबहादुर घले, विष्णु अधिकारी र सेभ द चिल्ड्रेनका कर्मचारी जीवनाथ अधिकारी र स्थानीय युवा सिमन गुरुङको सल्लाहले शोक मनाउने वातावरण मिलायौँ। प्रार्थनापछि शोक मनाउने भनेर छात्र धनीबहादुर घलेले स्थानीय घले गुरुङ भाषामा ‘दिनी बीपी सिअ शोक मनाउन पर्दिया’ अथवा हिजो बीपीको मृत्यु भयो शोक मनाउनुपर्दछ, नपढौँ भने। विद्यालय बन्द भएपछि पञ्चका पहरेदार र पञ्चसँग साँठगाँठ भएका प्रअ र शिक्षकहरूको टाउको दुख्यो।

गाउँ पञ्चायतले बैठक बोलायो। बैठकमा छात्र धनीबहादुरले शिक्षक नेता इदु (यदु) सरले सबैको सल्लाहअनुसार शोक मनाउन मैले सूचना गरेको हुँ भने। त्यसपछि सल्लाहकार सिमन गुरुङ पनि छन् भनेपछि भागेका उनलाई तत्कालीन पञ्चहरूले दरौँदी नदीको किनार भालुस्वाँराबाट पक्रिएर लगे। गाउँ पञ्चायतको बैठकमा उनले सबैको नाम भने।

त्यसपछि उनलाई ५ हजारभन्दा माथि जरिबाना गरेर छोडे। शिक्षकहरू सबैलाई बरखास्त गर्ने भन्ने बारेमा प्रअ र पञ्चहरूको सहमति भयो। नेविसंघ जिल्ला कार्य समिति गोरखाका उपसभापति सुरबहादुर घलेले शिक्षकहरूलाई जगाउन प्रयास गरे। म आफू नेतालाई माफी मागेमा राख्ने अरूलाई भने कुनै हालतमा पनि नराख्ने निर्णय सुनाए। मैले राख्ने भए सबैलाई राख म मात्र बस्दिनँ भनेर जिद्दी गरेँ। सुरबहादुरले नमज्जा मानेपछि उनी लप्सीबोटमा पढेर बेलायती सेनामा भर्ती भए।

हामी सीधै लप्सीबोटमा गयौँ। ज्ञानज्योतिका प्रअ गुरु विजय अधिकारीसँग स्व. दाइ यदुप्रसाद अधिकारीले कुराकानी गर्नुभयो। विजय सरले गोरखाको कांग्रेसले शोक मनाएन। पञ्चहरूको बाहुल्य भएको बारपाकमा हाम्रो सानु यदु (म) ले शोक मनाउन लगायो अब पञ्चायतकालमा जागिर जोगाउन कठिन हुन्छ भनेर धेरै दु:ख व्यक्त गर्नुभयो।

गोरखाको सभापति वीरेन्द्र थिए। उनलाई शिक्षक नेताहरू विजय अधिकारी, कृष्ण पोखरेल, यदु अधिकारी (ठूलो यदु), चण्डिका भट्ट, चीनकाजी श्रेष्ठ, शुकदेव दवाडी, चित्ररत्न शाक्य, पुष्पलाल धिताल र कांग्रेसका सभापतिलगायत सबैले शोक मनाउँदा जागिर जानु हुँदैन भने। बारपाकीहरूले स्थानीय भाषामा ‘तालबिया’ भनेर शोक मनाउँदा लखेटेको भनेर कुरा गरेको सुनिन्थ्यो।

गोरखामा धेरै चर्चापरिचर्चा भयो। शिक्षा समितिका पूर्वसभापति पञ्चलाई जागिर खानु हुँदैन भनेर हितैषी कांग्रेसले अनुरोध गर्दा, अराष्ट्रिय तत्त्वको नेपा बीपीको शोक मनाउने ‘राँडीका छोरा कांग्रेसी मास्टरहरूको जागिर जोगाउन सकिँदैन’ (उनको भनाइ) भने। त्यसपछि गाउँ पञ्चायतले मनुको परिवारलाई बारपाक गाउँमा प्रवेश निषेध गरेको निर्णय गरेको थियो भनेर सुनियो। मनुको परिवार, पूर्वसभापति हरि घले दुई वर्षसम्म गाउँमा जान सकेनन्।

चाडपर्व बाहिर नै मनाए। मनु घलेकी श्रीमती चिस्माया घले बडो सहासी थिइन्। उनले कत्ति हरेस खाइनन्। २०१५ सालमा मनुका बाबु इमानसिंह र कान्छो बाबु जितबहादुरले कांग्रेसलाई सहयोग गरेका रहेछन्। सबैले दु:ख पायौँ। लोकबहादुरलाई मनु घलेले लोकबहादुरलाई छेकम्पारमा जागिर खाने व्यवस्था मिलाए। जीवनाथको जागिर जिल्ला सदरमुकाममा यथावत् रहयो। यम घले सिंगापुर प्रहरीमा भर्ती भए। विष्णु अधिकारी खानेपानीमा जागिरे भए।

ईश्वरी घिमिरे र मैले मुद्दा जितेर शिक्षकमा बहाली भयौँ। शोक मनाउन सहयोग गर्ने छात्रहरू धनीराज, गणेश, धनीबहादुर, मन्दुर र नन्दे घले थिए। तिनीहरूलाई म आज पनि सम्मान गर्दछु। आफ्नो कुरो भन्नै पर्‍यो। दुल्लभ मावि घ्याम्पेसालमा वीरेन्द्रसिल्डमा सहयोग गरेपछि म ज्ञानज्योति लप्सीबोटमा सरुवा भए। पछि गोरखा क्याम्पस आएर खेलकुदको प्रमुख भई सेवा निवृत्त भएको छु। यो सबै कुरा राजनीतिले संघर्ष गर्न सिकाएको जस्तो लाग्छ।

प्रत्येक वर्ष साउन ६ गते बीपीको शोक मनाउन नेपाली कांग्रेस उसका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरूले विविध कार्यक्रमहरूको आयोजना गर्दछन्। त्यस बेलामा बीपीको फोटोमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली चढाउँदछौँ। बीपीले नै आफू प्रभानमन्त्री भएको बेलामा बिर्ता उन्मूलन, ‘जग्गा जोत्नेको उसको हुन्छ पोत’ भन्दै कार्यक्रम अगाडि ल्याएका थिए। प्रत्येक व्यक्तिको घरमा दूध दिने गाई हुनुपर्छ भनेका थिए। यसलाई हाल प्रत्येकको घरमा गाडी हुनुपर्छ भन्ने बुझ्नुपर्दछ।

समयले नेटो काट्दै गर्दा कलिलो उमेरमा बीपीको शोक मनाएको  ४२ वर्ष पुगेछ। अहिलेका युवाले अग्रजहरूले गरेका कामलाई सम्झेको जस्तो लाग्दैन। कांग्रेसका बीपीलगायतका नेताहरूलाई र्बिसिदैँ गएको जस्तो लाग्छ। कांग्रेसले पनि युवालाई रोजगार र राजनीति दुवैमा अगाडि बढाउनुपर्दछ। अनुशासन गहना हो। पुराना नेताहरूको संघर्ष र योगदानलाई सम्मान गर्नुपर्दछ। युवाले जिम्मेवारी वहन गरेर नागरिकहरूले अनुभूति गर्ने काम गर्न सक्नुपर्छ।

प्रकाशित: ८ साउन २०८१ १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =