पूर्वमन्त्री महतोले घुस दिएको भन्ने विषयमा छानबिन गर्न समिति गठन

हिमाल प्रेस ८ साउन २०८१ १८:००
पूर्वमन्त्री महतोले घुस दिएको भन्ने विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ – पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस दिनुपरेको विषयमा छानबिन गर्न शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

पूर्वमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का सांसद वीरेन्द्र महतोले पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस दिनुपरेको बताएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवप्रसाद दाहालले शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनअनुसार छानबिन समिति गठन गरिएको बताएका छन्।

जसपाका सांसद महतोले प्रतिनिधिसभाको आइतबारको बैठकमा पाठ्यक्रम विकास केन्द्रबाट छोराको समकक्षता लिन पाँच हजार रूपैयाँ घुस दिनुपरेको बताएका थिए।

भारतीय सीबीएससी पाठ्यक्रम पढेर नेपालबाट समकक्षता लिँदा घुस दिएपछि मात्रै काम भएको उनले संसदमा भनेका थिए।

समकक्षता प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुरलगायतका विषयमा आवश्यक छानबिन गरी समितिलाई सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ।

प्रकाशित: ८ साउन २०८१ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast