जनावरमैत्री जंगलका लागि वृक्षारोपण

हिमाल प्रेस ७ साउन २०८१ २०:२९
30
SHARES
जनावरमैत्री जंगलका लागि वृक्षारोपण

इटहरी- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा ‘जनावरमैत्री जंगल’ का लागि जामुनबारी सामुदायिक वनबाट सुरू भएको वृक्षारोपण अभियान सोमबार मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलीया सामुदायीक वनमा आइपुगेको छ।

बीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस वेलबारी नगर कार्यसमिति, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिसमेतको सहकार्यमा उक्त सामुदायिक वनमा वृक्षारोपण गरिएको हो।

कार्कीले असार २९ गतेदेखि ‘जसको जंगल, उसको मंगलका लागि जनावरमैत्री जंगल’ अभियानअन्तर्गत वृक्षारोपण सुरु गरेका थिए। अभियानअन्तर्गत कोशी प्रदेशका जंगल क्षेत्रभित्र जंगल भित्रका जनावरका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्ने अभियान पूर्वमुख्यमन्त्री कार्कीले चलाउँदै आएका छन्।

हालसम्ममा मोरङ र झापाका विभिन्न सामुदायिक वन क्षेत्रभित्र पाँच हजार बढी विरुवा रोपिएको दाबी गरिएको छ।

कार्कीले आफू मुख्यमन्त्री हुँदै जनावरमैत्री जंगल निर्माणका लागि अभियान चलाएको तर अहिलेको सरकारले जंगल र जनावर र त्यस छेउका नागरिकहरूप्रति कुनै पनि नीति, कार्यक्रम तथा योजना नल्याएको भन्दै जनावरका लागि जंगल निर्माणमा सबै नागरिकले कम्तीमा एउटा बिरुवा रोपेर अभिया सफल आग्रह गरेका छन्।

कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए।

विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जंगलमा जनावरका लागि आहारा र जनावरमैत्री जंगल नभएकाले जंगली जनावरले नागरिकलाई दुःख दिने गरेको निष्कर्ष निकाल्दै आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम र बजेटमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।

तर, कोशी प्रदेशको सरकार परिवर्तन भएपछि वर्तमान सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको भन्दै कार्कीले सरकारलाई खबरदारीका साथ आफैंलेअभियान चलाएको बताएका छन्।

उनले भने, ‘सरकारले जनताको बाँच्ने अधिकारका साथै जीविकोपार्जन पनि सुरक्षित गर्न र जंगली जनावरको अधिकारलाई पनि संरक्षण गर्ने हो। तर अहिलेको सरकार त्यसप्रति विमुख भएको अवस्था छ।’

जंगलमा जनावरले खाने आहारा र जनावरको बासस्थानसमेत मासिएकाले हात्ती, बाँदरलगायतका जंगली जनावर वन क्षेत्रका गाउँबस्ती पसेर अन्नबाली, घर मास्नुका साथै मान्छेको समेत ज्यान लिने गरेको उनको भनाइ छ।

जंगल क्षेत्रमा बसोबास गर्ने यस प्रदेशका ३६ प्रतिशत नागरिकको जनधनको सुरक्षाका लागि जनावरमैत्री जंगल हुनु अहिलेको अपरिहार्यता भएकाले वृक्षारोपण अभियान सञ्चालन गरेको पूर्वमुख्यमन्त्री कार्कीले बताए।

‘बस्ती छेउमा रहेको जंगलका प्रत्येक रूखमा माहुरीको घार राखेर माहुरी पालन अभियानसमेत सञ्चालन गर्नु जंगली जनावरबाट सुरक्षित रहन र अर्थोपार्जनका लागि अपरिहार्य छ,’ उनले भने, ‘माहुरी पालनले सर्वसाधारणले खेतबारी विषादी प्रयोग गर्न रोक्ने र त्यसले अर्ग्यानिक खेतीको सुरूवात हुन्छ।’

प्रकाशित: ७ साउन २०८१ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =