परराष्ट्रमन्त्री राणा सामाजिक सञ्जालमा सीमित, बंगलादेशका नेपाली विद्यार्थी भारतीय शरणमा

हिमाल प्रेस ७ साउन २०८१ १३:१२
544
SHARES
परराष्ट्रमन्त्री राणा सामाजिक सञ्जालमा सीमित, बंगलादेशका नेपाली विद्यार्थी भारतीय शरणमा

काठमाडौँ– बंगलादेशमा आरक्षणविरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी भारतीय दूतावास र उनीहरूले बनाएको सेल्टरतर्फ शरण लिन बाध्य भएका छन्। भारतीय परराष्ट्र मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई उद्धार गरिएको छ। भारतीय सेल्टरमा बसेका केही नेपाली विद्यार्थी नेपाल आइसकेका छन्। नेपाली पक्षबाट उनीहरूको उद्धार र स्वदेश फिर्तीमा बेवास्ता गरिएपछि आफूहरू भारतीय शरणमा जान बाध्य भएको विद्यार्थीहरूले बताएका छन्।

थप पाँच सय नेपाली आउने क्रममा रहेको बताइएको छ। भारतीय सञ्चारमाध्यमले नेपाली विद्यार्थी चिटगाउँ, राजसाही, सिलहेट र खुल्नाबाट भारततर्फ लागेको जनाएका छन्। यसरी सुरक्षित स्थानतर्फ हिँडेका नेपालीलाई भारतीयहरूले नै सहयोग गरिरहेको समाचारमा उल्लेख छ।

ढाकास्थित नेपाली दूतावासले उपलब्ध गराएको ‘हन्टिङ लाइन’ मा सम्पर्क गर्दा हतपत्ति फोन नउठ्ने र उठे पनि बाहिर ननिस्कनु र नआत्तिनु मात्र भन्ने गरेकाले आफूहरू भारतीय शरणमा गएको नेपाली विद्यार्थीले बताएका छन्। नेपाली दूतावासले घर पठाउन ध्यान नदिएपछि भारतीय दूतावास र कन्सुलर सेवामा फोन गरेर भारतको शरणमा पुगेको उनीहरू बताउँछन्।

परराष्ट्र मन्त्रालयले भने नेपाली विद्यार्थी सुरक्षित रहेको जानकारी दिएको छ। आफूहरूलाई ल्याउने पहल नगरेको भन्दै नेपाली विद्यार्थी आक्रोशित बनेका छन्। भारतीय परराष्ट्र मन्त्रालयले आफ्ना विद्यार्थीलाई विभिन्न वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित स्थानतर्फ लगेको छ।

नेपालले नेपाली विद्यार्थीलाई ल्याउन भारतसँग अनुरोध भने गरेको छैन। भारतले खाडीमा समस्या हुँदा होस् या अन्यत्र आफ्ना नागरिक उद्धार गर्दा नेपालीलाई पनि उद्धार गर्दै आएको छ।

भारतीय परराष्ट्र मन्त्रालयले आइतबारसम्मको तथ्यांक बाहिर ल्याउँदै भनेको छ, ‘हाम्रा ४५ सय नागरिक उद्धार गर्दा पाँच सय नेपाली, ३८ भुटानी र १ माल्दिभियन पनि भारत आइपुगेका छन्।’ यसरी उद्धार गरिएका नेपालीसहित अन्य देशका नागरिकलाई आफ्नो भूभागबाट सम्बन्धित मुलुकतर्फ पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले पनि १२ सयभन्दा बढी नेपाली काँकडभिट्टा आइपुगेको जनाएको छ। यद्यपि उनीहरु सबै नेपाली दूतावासको सहयोगमा आएका हुन् या होइनन् भन्ने स्पष्ट छैन।

ढाकामा रहेका राजदूत घनश्याम भण्डारी पनि नेपाली विद्यार्थी फर्काउन अलमलिएका छन्। दूतावासमा नेपाली कर्मचारीको संख्या थोरै छन्। सबै काम राजदूत र नियोग उपप्रमुखले नै हेर्नुपर्दा केही अलमल भएको हुन सक्ने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए।

कोशी प्रदेशमा रहेका अधिकृतलाई काकडभिट्टा पठाउने र दिल्लीस्थित दूतावासमा रहेका कर्मचारीलाई पनि परिचालन गरेर नेपालीलाई उद्धार गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। मन्त्रालय भने पर्ख र हेरको अवस्थामा छ।

परराष्ट्र मन्त्रालय जहिले पनि घटना भएपछि मात्र तात्दै आएको छ। कहाँ कति विद्यार्थी छन् त्यसको तथ्यांक राख्ने र त्यसअनुसार सम्पर्क गरेर घर फर्कन चाहनेलाई आन्दोलन सुरु हुँदैमा ल्याउनुपर्ने थियो।

बंगलादेशमा अदालतको फैसला आइसकेपछि आन्दोलन मत्थर भएको छ। त्यसपछि मात्रै नेपाली पक्षबाट उद्धार थालेको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले दिनहुँ एक्समा लेख्दै नेपाली सुरक्षित रहेको बताइरहेकी छन्। नेपालीहरू भने भारतीय सेल्टरमा बस्दै आएका छन्। त्यहाँ बस्ने र खाने सुविधा रहेकाले आन्दोलन मत्थर भएपछि फर्कने योजनमा कतिपय नेपाली त्यहीँ बसिरहेका छन्। बज्राचार्य थर बताउने एक एमबीबीएस विद्यार्थीले सोमबार भनिन्, ‘हामी भारतीय सेल्टरबाट नेपालतर्फ आउँदैछौँ। सायद भोलि विराटनगरबाट काठमाडौँ उत्रनेछौँ।’

बंगलादेशको सबैभन्दा माथिल्लो अदालतले सरकारी र अर्धसरकारी निकायमा ९३ प्रतिशत कर्मचारी खुला प्रतिस्पर्धाबाट लिनुपर्ने आदेश दिएपछि त्यहाँको आन्दोलन मत्थर हुन थालेको छ।

आन्दोलनका क्रममा एक सयजनाभन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुनका लागि भएको युद्धका क्रममा लड्ने व्यक्तिका आफन्त र परिवारका सदस्यहरूलाई बंगलादेशको सरकारी र अर्धसरकारी निकायमा एकतिहाइभन्दा बढी आरक्षण दिइएको थियो। अदालतले उक्त आरक्षणलाई ५ प्रतिशतमा सीमित पार्न र अन्यलाई मेरिटबेसमा लैजान आदेश दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =