पुष्पलाल बिर्सिएर बिचौलियातर्फ कम्युनिस्ट आन्दोलन

किरण पौडेल ७ साउन २०८१ १५:०२
24
SHARES
पुष्पलाल बिर्सिएर बिचौलियातर्फ कम्युनिस्ट आन्दोलन पुष्पलालको स्मृतिमा प्रकाशित हुलाक टिकट र पुष्पलाल।

काठमाडौँ- आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस। देशभर वामपन्थी दलहरू संस्थापक नेताको स्मरणमा विभिन्न कार्यक्रम गरिरहेका छन्। यिनै पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टीको बीजारोपण गरेका थिए। यसो भन्दै गर्दा पुष्पलालको परिचय कम्युनिस्टसँग मात्र जोडिँदैन। कांग्रेससँग पनि जोडिन्छ।

‘समयसमयमा कांग्रेसजस्तो पार्टीसँग पनि गठबन्धन गर्न सकिन्छ। त्यो समयको माग हो,’ पुराना कम्युनिस्ट नेता झलनाथ खनाल भन्छन्, ‘पुष्पलाल पनि कांग्रेस हुनुहुन्थ्यो। तर पछि कम्युनिस्ट हुनुभयो।’ यही कारण पुष्पलालको परिचय कांग्रेससँग छ। त्यो कुरा पुष्पलाल आफैँले पनि स्वीकारेका छन्।

कांग्रेसमा सक्रिय

पुष्पलाल सहिद गंगालालका भाइ हुन्। गंगालालकै कारण पुष्पलाल राजनीतिमा संलग्न भएको कुरा इतिहासमा पढ्न पाइन्छ। २००३ माघ १२ र १३ गते कलकत्तामा आयोजित पहिलो सम्मेलन (महाधिवेशन) बाट ‘नेपाली राष्ट्रिय कांग्रेस’ को जन्म भएको थियो। सम्मेलनमा भाग लिन पुष्पलाल र उनका साथी सूर्यबहादुर भारद्वाज पनि गएका थिए। (नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास : पुष्पलाल)

पार्टी गठन भएको केही सातामै विराटनगरस्थित जुद्ध जुट मिलमा मजदुरले हडताल गरे। २००३ फागुन २१ देखि सुरु भएको हडतालको नेतृत्व गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायतले गरेका थिए। हडतालको मागपत्र प्राप्त गरी पुष्पलालको नेतृत्वमा काठमाडौँमा प्रचार गरिएको थियो। हडतालमा नेतृत्व दिन विराटनगर पुगेका बीपी कोइरालालगायतलाई पक्राउ गरी काठमाडौँ ल्याइएको थियो।

बीपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गरियो। २००३ चैत २७ र २८ मा जोगबनीमा बसेको पार्टी प्रतिनिधिहरूको सम्मेलनले कार्यकारी सभापतिमा मातृकाप्रसाद कोइरालालाई चयन गरेको थियो। उक्त सम्मेलनमा काठमाडौँबाट पुष्पलाल पनि सहभागी भएका थिए।

सम्मेलनले नागरिक तथा राजनीतिक अधिकार र राजनीतिक बन्दीको रिहाइको माग राखेर देशभर सत्याग्रह गर्ने र ‘राणाशाही मुर्दावाद!’ को नारा लगाउने कार्यनीति पास गर्‍यो। निर्धारित कार्यक्रम आयोजना पनि भए। पुष्पलालले काठमाडौँमा सक्रिय भूमिका निर्वाह गरे। उनी गिरफ्तार भए। केही समयपछि छुटेका थिए।

मातृकाले २००४ साउन १-३ मा बनारसमा बसेको पार्टी बैठकमा राजीनामा दिए। त्यसपछि नेपाली राष्ट्रिय कांग्रेसको कार्यवाहक सभापतिमा डिल्लीरमण रेग्मीलाई चयन गरिएको थियो। रेग्मीले प्रेमबहादुर कंसाकारलाई महामन्त्री र पुष्पलाललाई सचिव बनाएका थिए। (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस : राजेश गौतम)

बीपी जेलबाट छुटेपछि पार्टी नेतृत्वका विषयमा रेग्मीसँग विवाद भयो। दुवै पक्षले आआफ्नो समूहको नेतृत्व गर्न थाले। अर्को पक्षको गतिविधिलाई अवैधानिक घोषणा गर्न थाले। त्यसपछि पार्टी दुई समूहमा विभाजित हुन पुग्यो। बीपीतिर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत थिए। रेग्मीतिर पुष्षलाल श्रेष्ठ, देवीप्रसाद सापकोटालगायत थिए।

पुष्पलाल रेग्मी समूहमा सक्रिय भए। उनले पार्टी मन्त्रीको हैसियतमा कार्यालयको रेखदेखको जिम्मेवारी पाएका थिए। पुष्पलाललगायतले बीपी र रेग्मी समूहलाई एकत्रित गर्ने प्रयास गरेका थिए। यस क्रममा पुष्पलालले ‘पार्टीमा एकता नभई फुट रहेको खण्डमा देशको कल्याण खातिर हामी आमरण अनशन गर्दछौँ’ भनेर अपिल जारी गरेका थिए। जसमा उनीहरूले दुई पक्षलाई मिलाउन केही सर्त पनि राखेका थिए। तर यस्तो प्रयास सफल भएन।

पछि त पुष्पलाल रेग्मीको शैलीबाट असन्तुष्ट हुँदै गए। त्यसका केही सन्दर्भ पुष्पलालले उल्लेख गरेका छन्। एउटा गोष्ठीमा बोल्न पुष्पलालले रेग्मीसँग नागरिक अधिकार र राजनीतिक अधिकारका विषयमा केही बुँदा मागेछन्। रेग्मीले भने ‘त्यो बुझ्नका निम्ति ठूलो दिमाग चाहिन्छ, एमएबीए हुनुपर्छ’ भनी खिन्न बनाइदिन्छन्। पुष्पलालले कम्युनिस्ट घोषणापत्र र लेनिनको ‘गाउँका गरिब किसान’ बाट ती शब्दावली अध्ययन गर्छन्।

गुट र रेग्मी गुट दुवैमध्ये एकलाई सुवर्णशमशेर र अर्कोलाई महावीरशमशेरले सहयोग गर्ने गरेको पुष्पलालले चाल पाए। त्यो सहयोग ती दुवैलाई बदनाम गराई ‘नेपाल प्रजातन्त्र कांग्रेस’ गठन गर्ने दाउका रूपमा उनले बुझे। एक सन्दर्भमा पुष्पलालले लेखेका छन्, ‘शासक राणाहरूले रेग्मीसँग सम्पर्क बढाएका रहेछन् र उनीहरूबाट प्रशस्त मात्रामा आर्थिक सहयोग पाउँदा रहेछन्।’

नेपालका उदारवादी सामन्तमध्ये एकथरीले रेग्मी गुट र अर्कोथरीले कोइराला गुटलाई हात लिई जनवादी आन्दोलनको नेतृत्व तल्लो वर्गमा जानै नदिई आफ्नै वर्गमा सीमित गर्ने खेल यो उनीहरूको राजनीतिक चालबाजी मात्र हो भन्ने कुराको बोध क्रमिक रूपमा मलाई र अन्य राजनीतिक (दुवै गुटका) कार्यकर्तालाई हुँदै गयो।’ (नेपाल कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास : पुष्पलाल)

कम्युनिस्ट पार्टी स्थापनाको तयारी

कम्युनिस्ट व्यवस्थाप्रति पुष्पलालको प्रभाव थियो। तैपनि उनी कांग्रेससँग जोडिएर सक्रिय भएका थिए। त्यस क्रममा पार्टीभित्र भारतीय नेताहरूको प्रभाव महसुस गरेका थिए। यिनै पृष्ठभूमि र सिकाइबाट उनी फरक बाटो तय गर्दै थिए।

कांग्रेस (रेग्मी समूह) बाट अलग भएपछि उनी ‘तरुण नेपाल मोर्चा’ वा ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको विकल्पमा घोत्लिएका थिए। उनमा मार्क्सवादी ज्ञान क्रमश: बढ्न थाल्यो। अन्तत: नेपाल कम्युनिस्ट पार्टी गठन गर्ने निधोमा पुगे।

कांग्रेसबाट राजीनामा दिएपछि पुष्पलालले मार्क्सवादी पुस्तकको अध्ययनको दायरा बढाउन थालेका थिए। यति मात्रै होइन आफ्नो समूहमा अन्य युवालाई पनि समावेश गर्न थाले। यस क्रममा उनले ‘मार्क्ससिस्ट स्टडी सर्कल’ बनाए। जहाँ उलने भारतमा अध्ययनरत नेपाली विद्यार्थीलाई पनि जोडेका थिए।

‘स्टडी सर्कल’ ले भारतव्यापी रूप लियो। भारतमा अध्ययनरत अधिकांश युवा यसमा आबद्ध हुन थाले। साथै भारतकै विभिन्न क्षेत्रबाट नेपालतर्फ पनि सम्पर्क बढाइयो।’ (नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास : सुरेन्द्र केसी)

त्यसो त पुष्पलालले मार्क्सवादी पुस्तक पसलबाट कमिसनमा ल्याई नेपाली विद्यार्थीका बीचमा बिक्री पनि गर्थे। यही बीचमा उनले कम्युनिस्ट घोषणापत्र, सोभियत रुसमा व्यक्ति र समाज, मार्क्सवाद के हो?, चिनी क्रान्ति र चिनी कम्युनिस्ट पार्टी, गाउँका गरीबलाई अपिलजस्ता पुस्तकहरू नेपाली भाषामा अनुवाद गरेका थिए।

त्यस्ता पुस्तक प्रकाशन गर्न भने पुष्पलालसँग पैसा हुँदैनथ्यो। कम्युनिस्ट घोषणापत्र प्रकाशनका लागि उनले सुवर्णशमशेरदेखि जुद्धबहादुर नामका एक नेपाली पुँजीपतिसँग पनि पैसा मागेको उल्लेख गरेका छन्।

कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद प्रकाशनको महत्त्वलाई पुष्पलालले चार वटा बुँदामा प्रकाश पारेका छन्। पहिलो बुँदा छ- ‘यसको प्रकाशनले गर्दा हजारौँ वर्षदेखि नेपालको बौद्धिक क्षेत्रमा सामन्ती पुँजीवाद र साम्राज्यवादी विचारधाराले एकाधिपत्य जमाएर बसेको थियो- त्यसलाई तोडी नेपालको बौद्धिक क्षेत्रमा वैज्ञानिक समाजवादी विचारधाराले प्रवेश पायो।’ (नेपाल कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास : पुष्पलाल)

भारतमा खुल्यो नेपाल कम्युनिस्ट पार्टी

पुष्पलालले भारतीय नेताहरूसँग सम्पर्क बढाउन प्रयासरत थिए। कलेज स्क्वायरको नेसनल बुक एजेन्सीमा मार्क्सवादी साहित्यका लागि आउँदाजाँदा त्यहीँबाट भारतीय कम्युनिस्टहरूसँग सम्पर्क गर्न खोजेका थिए। तर सम्भव भएन।

श्रीलंकाका एकजना वामपन्थी सांसदलाई पत्राचार गरे तर उत्तर पाएनन्। राहुल सांकृत्यानलाई पत्र पठाउन तयार पारे। उनको आसय थियो, ‘म नेपालमा कम्युनिस्ट पार्टी गठन गर्न चाहन्छु। तर त्योभन्दा पहिले म केही मार्क्सवादी ज्ञान हासिल गर्न चाहन्छु।’ यद्यपि यो पत्र भने पठाएनन्।

विभिन्न प्रयत्नमार्फत उनको पश्चिम बंगालका मन्त्री नृपेन्द्र चक्रवर्तीसँग चिनापर्ची भएको थियो। पुष्पलाललाई चक्रवर्तीले सुझाएका छन्, ‘मार्क्सवादी साहित्यले भन्दा सही नीतिले क्रान्तिकारीहरूको ध्यान पार्टीप्रति आकर्षित गर्नेछ। अत: तपाईंले पार्टीको नाममा एउटा दस्ताबेज तयार गर्नुहोस् र पार्टी गठनको तरखरमा लाग्नुहोस्।’ (नेपाल कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास : पुष्पलाल)

नेपाल कम्युनिस्ट पार्टी स्थापनाका लागि होमिएका पुष्पलालले अन्तिम समयमा थप दुई प्रतिकूल सुझाव पनि पाउँछन्। पहिलो, मजदुर-किसान या श्रमिक पार्टी गठन। तर उनी यसमा सहमत हुँदैनन्। अर्को कुनै नामले पार्टी खोल्ने हो भने देश र दुनियाँलाई परिचय दिन धेरै समय लाग्ने उनको बुझाइ थियो।

दोस्रो, छुट्टै कम्युनिस्ट पार्टी गठन नगरी कांग्रेसभित्रै वामपन्थी दलका रूपमा काम गर्दै जाने र पछि उपयुक्त समयमा कम्युनिस्ट पार्टी गठन गर्ने। त्यसमा पनि उनी सहमत हुँदैनन्।

यसबीच काठमाडौँ उपत्यका र पूर्व-पश्चिमका केही क्रान्तिकारी साथीहरूसँग भेटघाट र कुराकानी भएकै थियो। साथीहरूको राय पार्टी गठनको पक्षमा थियो। त्यसपछि २२ अप्रिल, सन् १९४९ (२००६ वैशाख १०) का दिन कलकत्ताको श्यामबजार इलाकाको २८, नवीन सरकार लेनमा एउटा बैठक बस्यो। बैठकमा पुष्पलाल, निरञ्जन गोविन्द वैद्य, नारायणविलाश जोशी र नरबहादुर कर्माचार्य थिए।

काठमाडौँबाट दुर्गादेवी (मोतीदेवी) पनि आइपुगेकी हुनाले तिनलाई पनि संस्थापक सदस्यको रूपमा लिने भन्ने कुरा भयो। पार्टीको संगठन समितिमा थपियो। संगठन समितिले पुष्पलाललाई पार्टीको महामन्त्री पदमा नियुक्त ग¥यो। उनलाई केन्द्रीय रूपमा संगठन गर्ने अभिभारा दियो। (नेपाल कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास : पुष्पलाल)

१९८१ साल असार १५ मा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भएको थियो। तिनै पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी विभिन्न चिरामा विभाजित हुँदै आएको छ। यद्यपि सबै कम्युनिस्ट पार्टीले पुष्पलाई आदर्श मान्दै आएका छन्।

कम्युनिस्ट पार्टीबाट अहिलेसम्म ६ जना प्रधानमन्त्री बनेका छन्। मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री बनेका हुन्।

‘वर्ग विश्लेषणको सूत्रपातकर्ता’

लेखक एवम् वामपन्थी राजनीतिका जानकार केशव दाहाल संसारभर परम्परागत लोकतन्त्र धनीहरूको हो भनेर व्याख्या भइरहेका बेलालोकतन्त्रलाई नयाँ ढाँचाले परिभाषित गर्न, सर्वहारा, श्रमिक, गरिब, पछाडि पारिएका समुदायहरूको मुद्दा राज्यका लागि महत्त्वपूर्ण हुन्छ भन्ने कुरा स्थापित गर्न पुष्पलालको योगदान महत्त्वपूर्ण रहेको बताउँछन्।

कम्युनिस्ट पार्टीको स्थापनाअघिसम्म नेपालमा समाजको विश्लेषण गर्ने, आर्थिक समन्वयको विश्लेषण गर्ने, श्रम सम्बन्धको विश्लेषण गर्ने त्यति ठूलो चलन थिएन। नेपाली समाज कस्तो हो? नेपाली समाजमा कस्ताकस्ता वर्गले काम गर्छन्? वर्गको भूमिका के छ? समाजको उत्पादन सम्बन्ध कसरी बनेर आएको छ जस्ता सबालमा पुष्पलालभन्दा अगाडि व्यवस्थित ढंगले चर्चा भएको थिएन।

दाहाल भन्छन्, ‘पुष्पलालले अनेकौँ वर्गमा विभाजित नेपाली समाजको अन्तरविरोध हल नगरीकन न्यायपूर्ण बन्न सक्दैन भन्ने तथ्य बुझेका थिए। त्यसैले उनलाई व्यवस्थित वर्ग विश्लेषणको सूत्रपातकर्ताका रूपमा बुझ्ने गरिन्छ।’

समाजमा पछाडि पारिएका वर्गको मुक्ति, कम्युनिस्ट पार्टी र मार्क्सवादको स्थापना गर्ने संसारभर चलेको राजनीतिक प्रवृत्तिलाई नेपालमा स्थापित गर्न पुष्पलालको योगदान छ। दाहाल भन्छन्, ‘कमजोर वर्गका लागि, श्रमिकका लागि, महिलाका लागि, किसानका लागि, मजदुरका लागि बोलिदिने ठूलो राजनीतिक शक्ति आवश्यक थियो। त्यो शक्ति निर्माणको अगुवाइ पुष्पलालबाट भएको हो।’

पुष्पलाल नेपालमा प्रजातन्त्र स्थापनाका लागि कांग्रेस र कम्युनिस्ट मिलेर अघि बढ्नुपर्नेमा दृढ थिए। दुई शक्ति नमिलुन्जेलसम्म लोकतन्त्रको स्थापना असम्भव रहेको उनको निष्कर्ष थियो। दाहाल भन्छन्, ‘एकीकृत जनआन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलनको चरित्र हो। लोकतन्त्रको मुद्दामा कांग्रेस र कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ भन्ने मुद्दालाई पुष्पलालले पैरवी गरेका थिए।’

सादा जीवन र सरल स्वभावका पुष्पलाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव भए पनि निरन्तर अन्तरसंघर्षमा सहभागी भए। यस क्रममा कहिले किनारातिर लागे। जस्तोसुकै दुःखको अवस्थामा पनि उनले अविचलित ढंगले सर्वहारा वर्ग, गरिब र श्रमिकका आवाज उठाएका थिए।

पुष्पलालको यति धेरै योगदान भए पनि अहिलेका कम्युनिस्ट पार्टीले त्यसलाई बुझ्न नसकेको दाहाल बताउँछन्। उनले भने, ‘पुष्पलालको योगदानलाई आजका कम्युनिस्ट पार्टीले राम्ररी बुझेनन्।’ अहिलेको कम्युनिस्ट आन्दोलन बिचौलियातर्फ लागेकाले भुइँको सपना पूरा गर्न सफल नरहेको मूल्यांकन उनको छ। दाहालले भने, ‘कम्युनिस्ट आन्दोलन भुइँमान्छेको सपना पूरा गर्नतिर लागेन। यो त शासकीय प्रवृत्तितिर गयो, यो कुरा दुःखद् हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =