खस्कियो वीरगन्जको आन्तरिक राजस्व

हिमाल प्रेस ७ साउन २०८१ ८:१७
8
SHARES
खस्कियो वीरगन्जको आन्तरिक राजस्व

वीरगन्ज- आन्तरिक राजस्व कार्यालय वीरगन्जले गत आर्थिक वर्ष २०८०/८१ मा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत आवमा अन्तशुल्क र आयात घटेसँगै राजस्व संकलनमा प्रत्यक्ष असर देखापरेको छ। कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा २७ करोड १५ लाख कम राजस्व संकलन गरेको छ।

आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको बताए। ‘गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर संकलन र आयकर संकलन उत्साहजनक देखिएको छ’, उनले भने, ‘गत आवमा अन्तःशुल्क करवापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ। यसले समग्र राजस्व संकलनमा असर पारेको छ।’

आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले गत आवमा आयकरतर्फ दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार संकलन गरेको छ। मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब २० करोड २५ लाख चार हजार संकलन गरेको छ।

सोही अवधिमा अन्तःशुल्कतर्फ चार अर्ब २० करोड २५ लाख ३६ हजार संकलन गर्ने लक्ष्य राखिएको थियो। तर गत आवमा हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ। कार्यालयले अन्तःशुल्कबापत दुई अर्ब ३९ करोड ८६ लाख २० हजार रुपैयाँ संकलन गरेको छ। प्रमुख कर अधिकृत तिवारीले राजस्व संकलन बढाउन नियमित रूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताए।

आन्तरिक राजस्व विभागले आव २०७९र८० मा कार्यालयलाई १० अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने सात अर्ब १४ करोड संकलन गरेको थियो। कार्यालयले विशेषगरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ।

प्रकाशित: ७ साउन २०८१ ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =