उम्मेदवार बन्ने दौडबाट बाइडन हटे, अब डेमोक्रयाटिक पार्टीले के गर्छ?

हिमाल प्रेस ७ साउन २०८१ ६:५५
80
SHARES
उम्मेदवार बन्ने दौडबाट बाइडन हटे, अब डेमोक्रयाटिक पार्टीले के गर्छ?

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडनले अन्ततः आगामी राष्ट्रपतीय निर्वाचनमा नलड्ने घोषणा गरेका छन्। बाइडनले फेरि एक पटक राष्ट्रपति बन्ने लालसा त्यागे सँगै अमेरिकी निर्वाचन दौडले अब फरक आकार ग्रहण गरेको छ। बाइडनलाई उनको पार्टी पंक्तिले निर्वाचन प्रतिस्पर्धाबाट हट्न दबाब दिँदै आएको थियो।

बाइडन सन् २०२० को निर्वाचनमा विजयी हुँदै ह्वाइट हाउस छिरेका थिए। त्यसबेला बाइडनसँग पराजित भएका डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट यसपल्ट पनि उम्मेदवार छन्। तर डेमोक्रयाटिक पार्टीका नेताहरुले बाइडनलाई उम्मेदवारीबाट हट्न बारम्बार आग्रह गरिरहेका थिए।

निर्वाचन मिति नजिकिँदै जाँदा बाइडनलाई गरिएको आग्रह दबाबमा रुपान्तरण हुन थालेको थियो। विशेषगरि पछिल्लो महिनामा भएका प्रचार प्रसारमा बाइडनको प्रस्तुति डेमोक्रयाटिक पार्टी पंक्तिका लागि चिक्तबुझ्दो थिएन। त्यसमाथि अर्का उम्मेदवार ट्रम्पमाथि गोली प्रहार हुनु र उनको प्रचार प्रसारले थप लोकप्रियता पाउनु बाइडनका लागि हानीकारक साबित भयो।

सोमबार बिहान एक खुला पत्र लेख्दै बाइडनले आफू निर्वाचन होडबाट बाहिरिएको घोषणा गरेका हुन्। यही पत्रमार्फत उनले उपराष्ट्रपति कमला ह्यारिसलाई साथ र समर्थनका लागि धन्यवाद दिएका छन्। ह्यारिस अब डेमोक्रयाटिक पार्टीको उम्मेदवार बन्ने चर्चा छ। उनले अब उम्मेदवारी घोषणा गरिहाल्ने अमेरिकी सञ्चारमाधयमले लेखेका छन्।

‘अमेरिकी नागरिकले छिट्टै डेमोक्र्याटिक पार्टीबाट नयाँ घोषणा सुन्ने छन्,’ डेमोक्र्याटिकको राष्ट्रिय समितिका अध्यक्ष जेमी ह्यारिसनले भनेका छन्।

बाइडनको विकल्प को?

बाइडन आफैँले ह्यारिसको सम्भावित उम्मेदवारीलाई समर्थन गरेका छन्। यद्यपि यतिले मात्र ह्यारिसको उम्मेदवारी पक्का हुँदैन। सामाजिक सञ्जाल एक्समा बाइडनले ‘डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्न कमलालाई मेरो पूर्ण समर्थन छ’ लेखेका छन्।

डेमोक्र्याटिकले ह्यारिसलाई साँच्चै उम्मेदवार बनाए, पार्टीभित्रको निराशा हट्ने धेरैको दाबी छ। र यसले सिकागोमा आगामी महिना हुने पार्टी महाधिवेशनमा पनि कुनै तनावको स्थिति उत्पन्न नहुने आकलन छ। यस्तो नहोस् भनेर बाइडनले पार्टी पंक्तिलाई ह्यारिसको पक्षमा एक भएर उभिन पनि आव्हान् गरेका छन्। ‘यो समयमा हामी एक भएर ट्रम्पलाई हराउनमा लाग्नुपर्छ,’ ८१ वर्षीय बाइडनको भनाइ छ।

के ह्यरिस सर्वसम्मत उम्मेदवार बन्लिन्?

ह्यारिस सर्वसम्मत रुपमा उम्मेदवार बन्ने सम्भावना बढी छ। हुन त यसअघि मिसिगनका गर्भनर ग्रेचेन विट्मर र क्यालिफोर्नियाका गर्भनर गाभिन न्युसन बाइडनको विकल्प बन्ने दौडमा थिए। तर यी दुवैले अब ह्यारिसलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कुन पार्टीले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा चन्दा दिने दाताहरुको पनि भूमिका हुन्छ। यस्तोमा डेमोक्र्याट पार्टीका मुख्य दाताहरुमध्येका जर्ज र एलेक्स सोरसले ह्यारिसलाई समर्थन गर्ने यसअघि नै बताइसकेका छन्। बाँकी दाता पनि ह्यारिसको पक्षमा उभिने अनुमान छ।

उसो त ह्यारिसविरुद्ध कोही खडा हुँदै हुँदैन भन्ने छैन। यसो भएमा डेमोक्र्याटिक पार्टी विवादको अर्को चरणमा प्रवेश गर्नेछ। तर त्यसो नभए विट्मर वा न्युसनमध्ये एक उपराष्ट्रपति बन्ने दौडमा सामेल हुनेछन्।

कसरी चुनिने छन् बाइडनको विकल्प?

डेमोक्रयाटिक पार्टीले यस निर्वाचनका लागि आधिकारीक रुपमा उम्मेदवार चुन्न बाँकी छ। आगामी पार्टी महाधिवेशनमा उम्मेदवार चुनिने पूर्वनिर्धारित तालिका छ। अब बाइडन यो दौडबाट हटेसँगै डेमोक्र्याटले अरुबेला झैँ प्रक्रिया पार गर्नेछ।

महाधिवेशनमा कुल ३ तीन हजार ९ सय ३७ प्रतिनिसधि भेला हुनेछन्। यीमध्ये कम्तीमा १ हजार ९ सय ७६ को समर्थन पाए मात्र राष्ट्रपतीय निर्वाचनको उम्मेदवार बन्न सकिन्छ। बाइडनलाई करिब ९९ प्रतिशत प्रतिनिधिको समर्थन भएको बताइन्छ। अब बाइडन उम्मेदवार बन्ने प्रक्रियाबाट बाहिरिएपछि प्रतिनिधिहरुले आफूले चाहेको आकांक्षीलाई मत दिन स्वतन्त्र छन्। यद्यपि पार्टी नेतृत्वबाट तय हुने उम्मेदवारलाई नै उनीहरुको औपचारिक समर्थन रहनेछ।

‘हाम्रा प्रतिनिधिहरुलाई आआफ्नो जिम्मेवारी थाहा छ। उनीहरुले अमेरिकाका लागि उपयुक्त राष्ट्रपति बन्नसक्ने व्यक्तिलाई पार्टीको उम्मेदवारका रुपमा चुन्नेछन्,’ ह्यारिसनले भनेका छन्।

बाइडनको नाममा आएको चन्दा अब के हुन्छ?

बाइडन र उपराष्ट्रपति ह्यारिसको निर्वाचन प्रचार प्रसार समिति एकै हो। यसकारण बाइडनको नाममा आएको चन्दा ह्यारिसको नाममा सजिलै सर्न सक्छ। जुलाई महिनको सुरुवातसम्ममा डेमोक्र्याटिक पार्टीले ९६ करोड अमेरिकी डलर नगद चन्दा प्राप्त गरेको तथ्यांक छ। अब दोस्रो चरणको चन्दा संकलन अभियानमा कोषमा २७६ करोड अमेरिकी डलर जम्मा हुने आकलन छ।

यदि ह्यारिसबाहेक अर्को उम्मेदवार बने, डेमोक्रयाटिकले उठाएको चन्दा फिर्ता गर्नुपर्नेछ। त्यसपछि चन्दादाताले नयाँ उम्मेदवारका नाममा चन्दा दिनसक्नेछन्।

यद्यपि यो विषयमा प्रष्टता छैन। फरक फरक तर्क आइरहेका छन्। यसको कारण अमेरिकी कानुन पनि हो। जस अनुसार एक उम्मेदवारले अर्को उम्मेदवारको नाममा दुई हजार डलरभन्दा बढी रकम स्थान्तरण गर्न पाउँदैनन्। उसो त बाइडनसँग सबै चन्दा पार्टीको खातामा स्थान्तरण गर्ने विकल्प पनि छ।

बाइडनको भविष्य?

सन् १९६८ मा लिन्डन बी जोन्सनले पनि बाइडनले झैँ राष्ट्रपतीय उम्मेदवार बन्ने दौडबाट आफूलाई अलग गराएका थिए। उनको यो घोषणाले त्यसबेलाको अमेरिकी समाजलाई अचम्मित तुल्याएको थियो। भियतनाम युद्ध चलिरहेको त्यो बखत डेमोक्र्याट जोन्सनले आफू निर्वाचनमा केन्द्रित हुन नसक्ने बताएका थिए। अहिले जस्तै त्यतिबेला पनि डेमोक्रयाट पार्टीभित्र उम्मेदवारीलाई लिएर विवाद थियो।

जसरी जोन्सनले उम्मेदवार बन्ने दौडबाट आफूलाई अलग गराएर विद्यमान समस्यामा ध्यान दिए, त्यसरी नै बाइडन पनि हालका अमेरिकी र विश्वव्यापी विषयमा केन्द्रित हुने अपेक्षा छ। युरोपमा चलिरहेको रुस–युक्रेन र खाडी बल्झिएको इजरायल–हमास युद्धमा बाइडेन केन्द्रित हुनेछन्।

प्रकाशित: ७ साउन २०८१ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =