प्रतिपक्षमा पुगेपछि माओवादीले सम्झियो एजेन्डा

किरण पौडेल ६ साउन २०८१ २१:१६
104
SHARES
प्रतिपक्षमा पुगेपछि माओवादीले सम्झियो एजेन्डा

काठमाडौँ– लामो समय सत्ता राजनीतिमा रुमल्लिएको नेकपा माओवादी केन्द्र सशक्त प्रतिपक्षीको भूमिका खेल्ने अभ्यासमा जुटेको छ। २०६३ मा खुला राजनीतिमा आएपछि सरकारमा गएको माओवादी त्यसपछि थोरै समयमात्रै प्रतिपक्षमा बसेको थियो।

कांग्रेस-एमालेको वर्तमान सत्ता समीकरणले विस्थापित गरेपछि माओवादी प्रतिपक्षको अभ्यासमा जुटेको हो। सत्तामा गएपछि आफ्नै एजेन्डा भुलेको माओवादी अब त्यसलाई प्राथमिकता दिने निष्कर्षमा पुगेको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए।

‘हामी समीक्षाको चरणमा पुगेका छौँ। विगतमा हामीबाट गल्ती भए। अब सच्याउन लागेका छौँ’, सापकोटाले हिमालप्रेससँग भने, ‘अब जनतामैत्री भएर काम गर्न लागेका छौँ।’
सापकोटाका अनुसार लामो समय सत्तामा बस्दा आफ्नै एजेन्डा कमजोर भएका छन्। यसबारे समीक्षा गर्न नभ्याएको उनी बताउँछन्। ‘प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रणाली र संघीयता हाम्रा एजेन्डा हुन्,’ सापकोटा भन्छन्, ‘यीमध्ये कति पूरा भए कति भएका छैनन्। अब हामी फेरि सशक्त रूपमा अघि बढ्दैछौँ।’

सापकोटाका अनुसार विगतमा कतिपय विषयमा ‘नोट अफ डिसेन्ट’ पनि देखिएको छ। यस्ता विषयलाई फेरि उठाउनुपर्ने जिम्मेवारी आफूसमक्ष रहेको सापकोटा बताउँछन्।
माओवादीले कुनै बेला संघीयताको सशक्त एजेन्डा उठाएको हो। जातीयताको तरंगले माओवादी पछि हट्न बाध्य भएको थियो।

माओवादी यी विषयमा पुनर्विचार गर्ने चरणमा पुगेको सापकोटाले बताए। संविधान संशोधनमा भने माओवादीले विमति राखेको छ। ‘ठूला दलहरूले संविधान संशोधन गर्ने भनेका छन् तर हामी त्यसमा खबरदारी गर्नेछौँ’, सापकोटा भन्छन्। संविधान संशोधनको मुद्दा अघि सारेर कांग्रेस-एमाले प्रतिगमनमा लाग्न खोजेको शंका माओवादीको छ।

सडक र सदन जोड्ने अभियान

सशक्त प्रतिपक्षमा उभ्याउन ‘सडक र सदन’ जोड्ने कार्यक्रम ल्याइने सापकोटा बताउँछन्। सरकारविरुद्ध खबरदारी गर्न बलियो प्रतिपक्षी चाहिने निष्कर्ष माओवादीको छ। ‘हामी सदनमा कमजोर छौँ। तर सडकबाट प्रश्नको जबाफ खोज्न सक्छौँ,’ सापकोटा भन्छन्, ‘यी दुवै पक्षलाई एकसाथ बढाउँदा हामीले हाम्रा एजेन्डा मर्न दिँदैनौँ।’ उनका अनुसार अब बस्ने पार्टी बैठकले सडक आन्दोलनका विषयमा योजना बनाउनेछ।

‘थोरै भए पनि कुन विषयमा कहाँ कसले बल्नेबारे बाँडफाँट गर्ने छलफल चलाउँछौँ’, सापकोटाले भने, ‘यसो भयो भने हाम्रा एजेन्डा टडकाको रूपमा उठ्नेछ।’ पहिलो चरणमा अहिलेका एजेन्डा मर्न नदिने माओवादीको योजना छ।

धर्म निरपेक्षता, संघीयता, समानुपातिक समावेशीकरणलगायतका एजेन्डामा सरकारसँग प्रतिकार गर्ने माओवादी योजना छ। यसैका लागि माओवादीले सडक र सदनको विकल्प खोजेको सापकोटा बताउँछन्। ‘यस्ता विषयमा अझै पनि हामी गम्भीर समीक्षा गर्नेछौँ,’ उनी भन्छन्, ‘हामी कहाँ चुक्यौँ त्यो पनि बुझ्नेछौँ।’

मोर्चा र सत्ताबाहिरका दल एकै ठाउँमा 

माओवादीले आफू मात्र होइन, अन्य घटकलाई पनि एक ठाउँमा उभ्याउने प्रयत्न गरेको छ। समाजवादी मोर्चा ब्युँताएर ‘मजबुत प्रतिपक्ष’ बनाउने माओवादी योजना रहेको सापकोटा बताउँछन्। मोर्चाको यसअघिको बैठकले सरकारले गरेका निर्णयमा खबरदारी गर्ने भनिसकेको छ।

‘कांग्रेस-एमाले प्रतिगमनमा गएमा एकजुट हुने योजना छ,’ बैठकमा सहभागी माओवादीका एक नेताले भनेका थिए, ‘सत्तारुढ गठबन्धनका कुरालाई एकजुट भएर अघि बढाउने बैठकको निष्कर्ष छ।’

नेताहरू एमाले-कांग्रेस गठबन्धनबाट प्रतिगमनको खतरा रहेको विश्लेषण गरेका थिए। यसका साथै मार्चाबाहिरका दललाई पनि एकत्रित गर्ने माओवादीको योजना छ।
‘हामी समाजवादी विचारधारा भएका दललाई मोर्चामा जोड्ने प्रयत्न गर्नेछौँ’, सापकोटा भन्छन्, ‘यसमा आउने-नआउने उहाँहरूकै कुरा छ।’

मोर्चाबाहिरका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई पनि जोड्न प्रयास गरिने सापकोटा बताउँछन्। मोर्चाले जनमोर्चा र नेमकिपालाई मोर्चामा आउन अनुरोध गरेको थियो। हालसम्म ती दल मोर्चामा सहभागी भएनन्।

‘बृहत् वामपन्थी एकता’ 

पहिलो कुरा त, माओवादीले आफ्नो विगतकै समीक्षा गर्ने भएको छ। यसअन्तर्गत संगठन चुस्त नहुनु, चुनावैपिच्छे जनाधार कमजोर हुनुका कारण खोजिनेछ। ‘हामी जनताका योजनामा चुक्यौँ कि भन्ने लाग्छ,’ सापकोटाले भने, ‘यसलाई हामी पर्गेल्ने चरणमा पुगेका छौँ।’ साथै माओवादीले ‘बृहत् वामपन्थी एकता’ को विषय उठान गर्ने योजना बनाएको छ। ‘वामपन्थी एक हुनुपर्ने बेला आएको महसुस भएको छ,’ सापकोटा भन्छन्, ‘कतिपय कम्युनिस्ट दल एकता हुँदैन भन्दैछन् तर हामी त्यो चाहदैनौँ।’

सापकोटाका अनुसार सुरुवातमा माओवादी घटक एकताको प्रयत्न चल्नेछ। ‘हामी विगतमा माओवादी घटकहरू एक भएकाले ठूलो पार्टी बन्यौँ। त्यसैले अब फेरि एक हुने योजना छ’, सापकोटाले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =