धरानले ल्यायो १ अर्ब ८९ करोडको बजेट

हिमाल प्रेस ६ साउन २०८१ २१:००
28
SHARES
धरानले ल्यायो १ अर्ब ८९ करोडको बजेट

इटहरी- धरान उपमहानगरपालिकाले १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८१/०८२ को लागि उपमहानगरले आइतबार १५ औँ नगरसभामार्फत बजेट सार्वजनिक गरेको हो। असार मसान्तभित्रै बजेट आइसक्नुपर्ने भएपनि विभिन्न विवादका कारण धरानले बजेट सार्वजनिक गर्न सकेको थिएन।

मेयर हर्कराज राई (हर्क साम्पाङ) र कार्यपालिका सदस्यहरूबीचको बेमेलका कारण धरानले बजेट ल्याउन नसकेपनि आइतबार भने उक्त बजेट सार्वजनिक गरिएको हो। यसअघि असार १० गते सैनिक भवन र असार ३१ गते वीपी प्रतिष्ठानको अडोटरियम हलमा आह्वान गरिएको नगरसभा विवादको कारण हुन सकेको थिएन।

करारका कर्मचारीको सम्झौता थप गर्ने विषयमा भएको विवाद समाधान हुन नसक्दा कार्यापालिका बैठक र नगरसभा हुन सकेको थिएन। जसको कारण असारभित्र नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम पास हुन नसकेपछि धरानमा अत्यावश्यक सेवाबाहेक सबै शीर्षकको खर्च रोकिएको थियो।

उपमेयर आईन्द्रविक्रम बेघाका अनुसार आइतबारको कार्यपालिका बैठकमा २०७४ असोज २९ भन्दा अगाडि र पछाडिका करार तथा अस्थायी कर्मचारीहरूले स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन २०८० को दफा १६ को (ग) (३) वमोजिम लोकसेवामा भाग नलिनेहरूका लागि विशेष सुविधा उपलब्ध गराउने निर्णय भएको छ।

विशेष सुविधा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक प्रतिवेदन तयार गर्न र बजेट व्यवस्थापनको लागि लेखा प्रमुख भेषराज अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गर्ने निर्णय भएको उनले जनाए। यो निर्णयसँगै करार कर्मचारीहरूलाई विशेष सुविधा (गोल्डेन ह्याण्डसेक) दिएर विदा गर्ने बाटो पनि खुलेको बेघाले बताए। बैठकमा मेयर साम्पाङले धरानको विकासमा सबै जनप्रतिनिधिहरू सँगै रहनुपर्ने सन्देश दिए।

कार्यपालिका बैठकपछि दिउँसो ३ बजे भएको नगरसभाले कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ।

आन्तरिक राजश्वबाट ४८ करोड ४१ लाख ३४ हजार २८०, सङ्घीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजश्व बाँडफाँडबाट २१ करोड ३४ लाख प्रदेश राजश्व बाँडफाँडबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ।

उक्त अनुमान मध्ये २० वटै वडा तर्फ २१ करोड तथा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी हुन नसकेको क्रमागत आयोजनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा विषयगत तर्फ सहरी योजना तथा भौतिक पूर्वाधार विकासमा ४५ करोड ८२ लाख २९ हजार, शिक्षा युवा तथा खेलकुदमा ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

स्वास्थ्यमा ८ करोड ३ लाख ८४ हजार, सामाजिक विकासमा ४ करोड ४१ लाख, आर्थिक विकासमा १ करोड ८४ लाख ९४ हजार, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनमा १ करोड ४० लाख, पर्यटनमा ९० लाख ५० हजार विनियोजन गरिएको छ। सूचना तथा सञ्चारमा २५ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनमा १० लाख, सार्वजनिक जग्गा संरक्षणमा २० लाख, राजश्व परिचालनमा २३ लाख, वडा पूर्वाधार निर्माण कार्यक्रममा २५ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी मेयर भिजन कार्यक्रममा ५ करोड, उपमेयर भिजन कार्यक्रममा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित: ६ साउन २०८१ २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =