काठमाडौँ- राष्ट्रिय जनमोर्चा नेपालका सांसद चित्रबहादुर केसीले कांग्रेस-एमालेको गठबन्धनले संविधान संशोधनको रटान लिइरहेकोप्रति टिप्पणी गरेका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमाथिको प्रस्तावमा छलफल गर्दै उनले दुई दलले संविधान संशोधन गर्ने नै भए प्रदेश खारेज गरेर सुरु गर्नुपर्ने बताएका हुन्।
‘संविधान सशोधन नै गर्ने भए प्रदेश खारेज गरौँ,’ उनले भने, ‘खै प्रदेशमा समावेशीता?हिमाल, पहाड र तराई छुट्याएर हुन्छ? सबैलाई तराईसँग जोड्ने, अनि मधेश प्रदेशलाई हिमालसँग जोडेको खै?’
केसीले संसद्मा निरन्तर चलिरहेको विश्वासको मत लिने खेललाई रमिता मानेर हेरिरहेको बताए। उनले केपी ओली चौथोपटक प्रधानमन्त्री बनेको बताउँदै २०७४ सालमा पहिलोपटक प्रधानमन्त्री भएको बेला समर्थन गरेको बताए। तर पछि बिना कारण दुई–दुई पटक संसद् विघटन गरी ओलीले बदमासी गरेको, प्रतिगमनतिर गएको त्यो बेठिक थियो भनेर किन आत्मालोचना नगरेको भन्दै प्रश्न गरे।
‘हामी यहाँ संसद्मा भ्रष्टाचार भयो, राष्ट्रियता खतम भो भन्छौँ। त्यो कसले गर्छ? नेपाली जनताले गर्छ? यहाँ सुन तस्करी भयो, यहाँ सरकारी जग्गा बेचियो, सहकारी हिनामिना भयो, बाहिर जनताले गरेका छन्?,’ उनले सोधे, ‘यहीँ हामी सत्तामा बस्ने, चुनाव जित्ने, माननीय हुने, मन्त्री हुने, प्रधानमन्त्री हुने, हामीबाटै भएको हैन?’