संसद्‌मा विश्वासको मत मागेर कहाँ हिँडे प्रधानन्त्री ओली?

हिमाल प्रेस ६ साउन २०८१ १६:२५
478
SHARES
संसद्‌मा विश्वासको मत मागेर कहाँ हिँडे प्रधानन्त्री ओली? केपी ओली

काठमाडौँ- आज आइतबार प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल भइरहेको छ। सोहीअनुसार सभामुख देवराज घिमिरेको आग्रहपछि प्रधानमन्त्री ओलीले प्रस्ताव पेस गरे। आफ्ना केही राष्ट्रिय योजना पनि सुनाए। स्थिरताको लागि कांग्रेस-एमालेसहितको नयाँ गठबन्धन बनाएको बताए।

अहिले उनको प्रस्तावमाथि दलीय आधारमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। तर आफैँले आफूमाथि विश्वासको मत दिन आग्रह गरेका ओली भने संसद् बैठकमा छैनन्। ओली कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका सचिवसमेत रहेका सांसद गोकर्ण विष्टको भाषण चलिरहँदा भने रोस्टममै थिए।

उनी माओवादीका उपमहासचिवसमेत रहेका वर्षमान पुनको भाषण चल्दा चल्दै संसद् बैठक छोडेर निस्किएका हुन्। रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले बोल्दा पनि उनी संसद्‌मा थिएनन्। त्यस्तै राजेन्द्र लिङ्देनले बोल्दा पनि उनी थिएनन्। उनले त्यहाँ नभए पनि प्रधानमन्त्रीलाई बधाई सन्देश भन्दै भने, ‘प्रधानमन्त्रीले कतैबाट सुनिरहनुभएको होला, उहाँलाई बधाई दिन चाहन्छु।’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षसमेत रहेका माधवकुमार नेपालले प्रधानमन्त्रीमा धैर्य नभएको भन्दै आलोचना गरे। ‘सर्वप्रथम त प्रधानमन्त्री नियुक्त हुनुभएकोमा केपी शर्मा ओलीलाई औपचारिकरूपमा बधाई ज्ञापन गर्न चाहन्छु। मैले प्रधानमन्त्रीज्यूलाई देखिरहेको छैन। उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनुभएको छ,’ उनले भने, ‘तर उहाँ यो हलबाट बेपत्ता हुनुहुन्छ। उहाँले संसदलाई महत्त्व नदिएको लाग्यो। उहाँका लागि महत्त्वपूर्ण कुरा भनेको आजको सदनमा आजको पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचार, धारणाहरू सुन्ने धैर्य राख्नुपर्छ।’

ओली संसद् बैठक छोडेर संसद् भवनभित्रै रहेको प्रधानमन्त्रीको कार्यकक्षमा गएको बताइएको छ। ओली सचिवालयका अनुसार संसद् सचिवालयमै रहेको प्रधानमन्त्रीको कार्यकक्षमा केही सांसदहरूसँग छलफल गरिरहेका छन्। ओलीले प्रधानमन्त्री भएको एक हप्तामै विश्वासको मत लिन लागेका हुन्। उनी कांग्रेस-एमालेका सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन्।

अहिले ओली नेतृत्वको सरकारलाई साना दलहरू जसपा, जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टीले विश्वासको मत दिने बताइसकेका छन्।

प्रकाशित: ६ साउन २०८१ १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =