लुम्बिनीका मुख्यमन्त्री महराले दिए पदबाट राजीनामा

विनोद परियार ६ साउन २०८१ १५:१९
84
SHARES
लुम्बिनीका मुख्यमन्त्री महराले दिए पदबाट राजीनामा

लुम्बिनी-  केन्द्रीय सत्ता समिकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको प्रदेशसभा बैठकमा नेकपा माओवादी संसदीय दलका नेता महराले पदबाट राजीनामा दिएका हुन्। महराले संसद्‌बाट सभामुख, मन्त्रिपरिषद्का सदस्य, प्रदेशसभा सदस्य र कर्मचारीहरूलाई समेत धन्यावाद दिदैं आफुहरू सशक्त प्रतिपक्षको भूमिकामा उभिने प्रतिबद्धतासहित पदबाट राजीनामा दिए।

सत्ता साझेदार दल नेकपा एमालेले कांग्रेससँग गठबन्धन गरेपछि महरा अल्पमतमा परेका थिए। राजीनामा अघि संसद्‌मा बोल्दै महराले ठूलो पार्टीले सरकारको नेतृत्व गर्न असफल भएपछि नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको बताए। उनले कांग्रेस र एमाले दुवै दलहरू असफल भएको बताए।

उनले संसदीय राजनीतिमा ठूलो दलले सरकारको नेतृत्व गर्ने, दोस्रो दल विपक्षीमा बस्नुपर्नेमा त्यसो नभएकाले दलहरू कमजोर बनेको बताए। ‘कांग्रेस र एमालेका नेतृत्वहरू संसदीय राजनीतिमा असफल भए, ’ उनले भने, ‘यो हिसाबले माओवादी अध्यक्ष प्रचण्ड सबैभन्दा सफल नेता हुन्।’ उनले माओवादी नेतृत्वको सरकारले सुशासन कायम गर्नका लागि भ्रष्टाचारविरुद्ध जेहाद छेडेपछि कांग्रेस र एमालेबीच सहकार्य बनेको बताए।

महराले संसद्‌मा बोल्दै क्रान्ति अझै पुरा नभएको बताए। उनले नयाँ पुस्तालाई फेरी क्रान्ति गर्न नपरोस भनेर चाहेको तर क्रान्ति गर्नुपर्ने अवस्था आएको बताए। उनले विगतमा क्रान्ति सम्झौतामा टुंगिएको बताए। २००७ साल, २०३६, २०४६ साल र ०६२/०६३ को क्रान्ति शान्तिपूर्ण नभई रगत बगेर क्रान्ति भएको बताए।

‘क्रान्तिलाई सम्झौता गर्ने होइन, सत्ता खोसेर लिने हो’ उनले भने। उनले जनतामा निराशा भएको बताए। महराले श्रमको मूल्य नपाएर युवाहरू विदेशीन बाध्य भएको बताउँदै अब युवा पुस्ताले फेरि क्रान्ति गर्नुपर्ने अवस्था आएको बताए। उनले प्रदेशमा आफूलाई सहयोग गर्ने सबै मन्त्री र प्रदेशसभा सदस्यहरूलाई धन्यवाद दिए।

उनले सबै पक्षलाई समेटेर बजेट ल्याएको बताउँदै त्यो कार्यान्वयन नहुनेमा शंका रहेको बताए। उनले योजना काट्ने र जनतालाई निराशा बनाउने काम नगर्न समेत आग्रह गरे।

एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने

महराको राजीनामासँगै एमाले संसदीय दलका नेता लिला गिरी अब छैटौं मुख्यमन्त्री हुने भएका छन्। एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा गिरीलाई अगाडि बढाउने सहमति गरिसकेका छन्। एमालेको जिम्मामा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री गिरीलाई बनाउने निर्णय भएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए। दुवै दलको तर्फबाट मुख्यमन्त्रीमा गिरीलाई नियुक्तिको लागि प्रदेश प्रमुखसक्षम आइतबार नै दाबी पेस गर्ने बताए।

एमालेसहित ५ दलका ४८ सांसदहरूको समर्थनमा चैत २३ मा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। चैत २५ मा शपथ लिएका उनले चैत ३० गते विश्वासको मत लिएका थिए। महराले तीन महिनामा सत्ता छाड्नुपरेको हो।

८७ सदस्यीय प्रदेशसभामा एमालेका २९ र नेपाली कांग्रेसका २७ सांसद गरी ५६ सांसद हुन्छन्। सरकार निर्माणका लागि ४४ भए पुग्छ। यसअघि केन्द्रीय समिकरणका कारण लुम्बिनीमा कांग्रेस माओवादीको सरकार ढलेको थियो।

कांग्रेस संसदीय दलका नेता डिल्लिबहादुर चौधरी नेतृत्वको सरकार परिवर्तन गराएर एमाले माओवादीको समिकरणबाट महरा मुख्यमन्त्री बनेका हुन्। लुम्बिनीमा २०७९ को निर्वाचनयता तीन जना मुख्यमन्त्री परिवर्तन भइसकेँ।

निर्वाचन लगत्तै एमाले-माओवादीको समर्थनमा एमालेका लिला गिरी मुख्यमन्त्री बने। त्यसपछि कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका डिल्ली चौधरी, फेरी एमाले–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका जोखबहादुर महरा। महरा प्रदेश संरचना बनेपछि मुख्यमन्त्री बन्ने पाँचौ हुन्। अब फेरि एमाले संसदीय दलका नेता गिरी छैटौं मुख्यमन्त्री बन्ने छन।

प्रकाशित: ६ साउन २०८१ १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =