काम खोज्न बिदेसिए साढे सात लाख नेपाली, कुन देशमा कति?

रमेश भारती ६ साउन २०८१ १२:४६
42
SHARES
काम खोज्न बिदेसिए साढे सात लाख नेपाली, कुन देशमा कति?

काठमाडौँ– गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी नेपाली खाडी मुलुक र मलेसिया गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार ९३ प्रतिशत नेपाली काम खोज्न खाडीका देश र मलेसिया गएका हुन्।

गत आर्थिक वर्षमा ७ लाख ४१ हजार २ सय ९७ नेपाली वैदेशिक रोजगारीमा गएका छन्। उनीहरू १ सय ४९ देशमा पुगेको विभागको तथ्यांक छ। यसरी बिदेसिनेमा ६ लाख ६१ हजार १ सय २५ पुरुष र ८० हजार १ सय ७२ महिला छन्। गत वर्ष म्यानपावर कम्पनीमार्फत ३ लाख ५३ हजार १ सय ६३ र व्यक्तिगत ३ लाख ८८ हजार १ सय ३४ जना वैदेशिक रोजगारमा गएको विभागको तथ्यांक छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले गत वर्ष नेपाली कामदारको रोजगार गन्तव्य खाडीका देश र मलेसिया रहेको जानकारी दिए। उनका अनुसार उनीहरू संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा गएका हुन्। ९३ प्रतिशत नेपाली कामदार खाडीका देश र मलेसिया गएको घिमिरेले बताए।

विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी नेपाली रोजगारीका लागि यूएई गएका छन्। यस वर्ष यूएईमा १ लाख १० हजार १ सय ७३ नेपाली रोजगारीका लागि गएको विभागको तथ्यांक छ।

यूएईपछि मलेसिया धेरै कामदार रोजगारीका लागि पुगेका छन्। गत वर्ष मलेसियाका लागि ८१ हजार १ सय ८१ जनाको श्रम स्वीकृति जारी भएको विभागको तथ्यांक छ। त्यसपछि नेपाली कामदारको रोजगारीमा साउदी अरेबिया परेको छ। गत वर्ष साउदीमा ७२ हजार ८ सय ६४ जना नेपाली गएका छन्।

गत वर्ष नेपाली कामदारको चौथो गन्तव्यमा  कतार परेको छ। गत आर्थिक वर्षमा ३४ हजार १ सय ६८ जना नेपाली  कतार गएका छन्। यसैगरी कुवेतमा २७ हजार ४ सय ८० जना, बहराइनमा ४ हजार ८ सय ४ जना, जोर्डनमा १ हजार ९ सय ७१ जना र ओमनमा १ हजार ९ सय १६ जना नेपाली रोजगारीका लागि गएका छन्।

साइप्रसमा ५ हजार ८ सय ९५ जना, मौरिससमा ४ हजार ९ सय ७५ जना, रोमानियामा ४ हजार २ सय ३६ जना, जापानमा १ हजार २ सय १ जना र माल्टामा १ सय ५ जना नेपाली कामका लागि गएका छन्।

गत वर्ष रुसमा २ सय ३० जना, अल्वानियामा ३३ जना, ब्रुनाईमा १ सय ४३ जना, क्रोएसियामा ९ सय ८ जना, हङकङमा ८१ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ। यसैगरी मकाउमा ४ सय ५३ जना, माल्दिभ्समा ७८ जना, सर्भियामा २५ जना, २ हजार ३ सय ६५ जना, टर्कीमा २ सय २४ जना, स्लोभाकियामा ३ सय ८९, सोल्भेनियामा ३ सय ३२ जना र उज्वेकिस्तानमा १ सय १९ जना नेपाली कामका लागि गएका छन्।

अमेरिकामा ३ सय ९९ जना, सिंगापुरमा २ सय ७ जना, पोर्चुगलमा ६ सय २२ जना, पोल्यान्डमा १ हजार ६ सय ४९ जना, न्युजिल्यान्डमा ४ सय ७० जना, नर्वेमा ४६ जना मंगोलियामा १ सय ४६ जना, अफगानिस्तानमा २८ जना, अस्ट्रेलियामा ३ सय ७५, अस्ट्रियामा ७ सय १२, अजरबैजानमा २ सय ७ जना र बेलारुसमा १ सय ८३ जना रोजगारीका लागि गएको विभागले जनाएको छ।

रुसी सेनामा गएको नेपालीको मृत्यु भएपछि सरकारले गत कात्तिकदेखि रुसको श्रम स्वीकृति बन्द गरेको छ।

गत आर्थिक वर्षमा युरोपको रोजगारीमा २५ हजारभन्दा बढी कामदार जान नसकेको विभागको तथ्यांक छ। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी सरकारले समस्या सिर्जना गर्दा गत वर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको बताउँछन्। चारचार महिनामा सरकार परिवर्तन हुँदा त्यसको असर वैदेशिक रोजगारीमा क्षेत्रमा परेको उनको भनाइ छ। ‘युरोपका देशमा कामदार पठाउन समस्या छ। मागपत्र प्रमाणीकरण गर्न समस्या हुँदा त्यहाँबाट आउने डिमान्ड गुमाइरहेका छौँ’, उनले भने।

गत आर्थिक वर्षमा खाडीका देश र मलेसियामा पनि मागपत्र प्रमणीकरणमा समस्या हुँदा कामदारको माग घटेको उनी बताउँछन्।

आर्थिक वर्ष २०७९/०८० मा ७ लाख ७१ हजार ३ सय २७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए। गत आर्थिक वर्ष वैदेशिक रोजगारमा जानेको संख्या अघिल्लो आर्थिक वर्षभन्दा ३० हजार ३० जना कम हो। विभागका अनुसार मागपत्र प्रमाणीकरण गरेका अथवा भिसा लागेर जान प्रतीक्षामा रहेका कामदारको संख्या ५० हजारभन्दा बढी छ। श्रम स्वीकृति जारी भए पनि टिकट र अन्य समस्याका कारण उनीहरू चालु आर्थिक वर्षको साउनमा मात्र उड्ने विभागले जनाएको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीले आव २०८०/८१ को ११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ।

प्रकाशित: ६ साउन २०८१ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =