हामी विद्यार्थीमैत्री हुन सकेका छैनौँ : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस ५ साउन २०८१ १९:३३
520
SHARES
हामी विद्यार्थीमैत्री हुन सकेका छैनौँ : शिक्षामन्त्री भट्टराई

ललितपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धान समुदायसँग जोड्नुपर्ने बताएकी छन्।

काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा आज ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्थासम्बन्धी छलफलमा उनले अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्ने बताइन्।

उनले विश्वविद्यालयसँग समन्वय गरेर ७० प्रतिशत प्राविधिक शिक्षालाई जोड दिनुपर्ने जनाउँदै प्रदेश र स्थानीय तहसँग बसेर धेरै काम गर्न बाँकी छ भन्ने धारणा राखिन्। उनले युवाको चाहानमा देशको विकास गर्ने गरी उनीहरूकै चाहनामा ज्ञानसीप युक्त बनाउन तालिम र कोषको विकास गरिनुपर्छ भन्नेमा जोड दिइन्।

‘हामी विद्यार्थीमैत्री हुन सकेका छैनौँ, विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ, तीनै तहका सरकारले निर्धारण गरेका योजनालाई जोड्नुपर्छ’, उनले भनिन्।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विश्वविद्यालयको काम शिक्षा र सेवा दिने मात्रै हैन अनुसन्धान गर्ने पनि हो भन्ने धारणा राखे। माध्यमिक शिक्षकको हैसियतभन्दा प्राविधिक धारका शिक्षा दिने इञ्जिनियरको मान्यता विद्यालय तहमा नहुनुले समस्या छ भन्दै उनले विद्यार्थीले खोजेका चाहना पूरा गरेर ज्ञान पनि भरिदिनुपर्ने अहिलेको आवश्यकता रहेको बताए।

शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठप्रसाद अर्यालले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रदान गर्ने निकायमा विद्यार्थी भर्ना दर सन्तोषजनक नभएको बताए। उनले प्राविधिक शिक्षाका क्षेत्रमा लक्ष्य र बजारको तालमेल हुन सकिरहेको छैन भन्दै यसतर्फ सरकारको बजेट विनियोजन कम भएको धारणा राखे।

काठमाडौँ स्कुल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुइँटेलले विश्वविद्यालयले तीन वर्षयता समुदायसँग मिलेर काम गरिरहेको जानकारी गराए। उनले देशका १९ वटा पलिकाका समुदायमा पुगेर ३६ वटा शैक्षिक संस्थाका साथै अन्य निजी संस्थासँग मिलेर काम गरिरहेको बताए।

पूर्वडिन तथा प्राध्यापक डा.महेशनाथ पराजुलीले प्राविधिक र व्यावसायिक शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको विश्वविद्यालयले देशभरका विभिन्न पाँच स्थानमा कार्यक्रम गर्दै आएको र सात वर्षदेखि विभिन्न विषयमा अनुसन्धान गरेको जानकारी गराए।

प्रकाशित: ५ साउन २०८१ १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =