काठमाडौँ- नेपालमा नेपालीसँगै अन्य भाषामा पनि फिल्म बनेका छन्। ती फिल्म कम संख्यामा निर्माण हुनुका साथै निश्चित भेगमा मात्र सीमित छन्। भाषाको बाहुल्यता भएका दर्शकमाझ मात्र प्रदर्शन भइरहेका छन्। यद्यपि तराई क्षेत्रमा बोलिने मैथली भाषालाई लक्षित गर्दै फिल्म निर्माण रोकिएको झैँ छ।
तराईमा फिल्म भवनको संख्या राम्रो भए पनि हिन्दी र भोजपुरी भाषामा तयार भएका फिल्मको दबदबा छ। तराईमा बोलिने मैथली भाषामा फिल्म निर्माण नभएपछि ती फिल्म भवनमा फाट्टफुट्ट नेपाली भाषाका फिल्म प्रदर्शन हुन्छन्। मैथली भाषामा बन्ने फिल्म, लघुफिल्मको संख्या निकै कम छ।
मिथिला संस्कृति र मैथली भाषालाई प्रवर्द्धन गर्ने उद्देश्यले केही समय अगाडि जनकपुरधाममा पहिलोपटक दुई दिने ‘मैथली अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ आयोजना गरिएको थियो। उक्त महोत्सवमा नेपालसँगै भारतमा रहेर मैथली भाषाका फिल्म, लघुफिल्म र वृतचित्र निर्माण गरिरहेका व्यक्तिहरू उपस्थित थिए। त्यहाँ प्रदर्शन भएका फिल्ममा नेपालबाट बनेको कुनै मैथली भाषाको फिल्म थिएन। स्वदेशी मैथली भाषाको फिल्म नहुनु दुःखद् रहेको निर्देशक तथा कलाकार रमेश रञ्जन झाले बताए।
‘छोटा फिल्म बनेका छन् तर ठूला फिल्म नबन्दा जनशक्ति बाहिरका उद्योगमा गएर काम गरिरहेका छन् तर हामी आशावादी छौँ, किनकि अब नयाँपुस्ताले नवीतम सोच र कथा ल्याउने छन्,वीरगञ्जदेखि जनकपुर हुँदै तयारको बजारलाई लक्षित गर्दै कसैले त अवश्य प्रयास गर्नेछन्’, झाले भने।
उनी निर्माता तथा निर्देशकलाई प्रोत्साहन गर्न ‘मैथली अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ हरेक वर्ष आयोजना गर्ने तयारीमा छन्। उनका अनुसार अहिले निर्माण हुने ससाना फिल्म रहरिया (रहर गर्ने)ले तयार गरेका छन्। अभिनेता तथा निर्देशक नीर शाहले फिल्मकर्मी अन्तर सांस्कृतिक हुन नसकेका कारण त्यसको प्रभाव फिल्ममा परेको विश्लेषण गरे। उनले विविधतायुक्त देशको संस्कृतिले एकअर्कालाई एकताको सूत्रमा आबद्ध गरेको बताए।
‘अहिले विदेशी फिल्मकर्मीसँग लगानीको अभाव छैन। धेरै ठूला बजेटमा फिल्म बनेको खबर सुन्ने गरिन्छ तर त्यसमा विषयवस्तुको अभाव देखिन्छ,त्यसकारण हामीले हाम्रो कथालाई हाम्रो भाषा र शैलीमा फिल्ममा प्रस्तुत गर्न ढिलो गर्न हुँदैन, यसमा सम्बन्धित निकायको सहयोग र सहभागिता पनि जरुरी छ, नत्र हाम्रो कथालाई विदेशीले विदेशी भाषामा तयार गर्नेछन् र हामी हेर्न बाध्य हुनेछौँ, यो अवस्था नआउला भन्न सकिन्न’,अभिनेता शाहले भने।
‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’,‘गामक घर’, ‘ललका पाग’ जस्ता मैथली भाषामा बनेको फिल्म नै अहिले पनि तराईमा स्मरण गरिन्छ। त्यसलाई भारतीय कम्पनीले निर्माण गरेको हो। पछिल्लो समय डिजिटल प्लेटफर्ममा केही फिल्म उपलब्ध छन्। यद्यपि जनकपुर लगायतका तराईमा फिल्म भवनमै प्रदर्शन गरिने फिल्म लगभग छैन।
मैथली फिल्ममा नयाँ पुस्ताले नवीतम सोच र कथा ल्याएको निर्देशक पुर्णेन्दु के झाको बुझाइ छ। विदेशमा मैथली भाषामा बनिरहेका फिल्म हेर्नुका साथै ती फिल्मकर्मीसँग संवाद गरेर उनी आफैँ पनि नयाँ फिल्मको तयारीमा छन्। उनी ‘लेवर’ नामक फिल्म मैथली भाषामा तयार गरेर नेपाली र भोजपुरीमा स्वराङ्कन गराउने तयारीमा छन्। यसले नेपालमै छरिएको बजारमा एउटै फिल्ममार्फत पुग्न सकिने उनको बुझाइ छ।
‘लगानीकर्ताले सुनिश्चित्ता चाहेका छन्,यहाँ उत्पादन भएका जनशक्ति बाहिरका फिल्म उद्योगमा काम गरिरहेका छन्, हामीले गर्ने महोत्सवलगायत गतिविधिले मैथली फिल्मकर्मीलाई जोड्ने काम गरिरहेका छौँ, यसले आगामी दिनमा संयुक्त रुपमा फिल्म निर्माण गर्न प्रेरणा दिन्छ, आउँदो समय विस्तारै राम्रो हुन्छ भन्नेमा पूर्ण आशावादी छु’, निर्देशक झाले भने।
तराईमा विशेषत कोशी र मधेश प्रदेशमा मैथिली फिल्मको राम्रो बजार बन्न सक्ने जानकारहरूको बुझाइ छ। किनकि त्यहाँ ‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’ फिल्मले गरेको व्यापारको चर्चा आज पनि हुन्छ। पछिल्लो समय फिल्मसँगै गीत संगीतस्तरीय नबन्दा दर्शकले चासो देखाएका छैनन्। यसले गर्दा पनि मैथली भाषामा फिल्म नबनेको धेरै समय भइसकेको छ।