गोपी मैनालीलाई धेरैले प्रशासकका रूपमा चिन्छन्। नेपाल सरकारका पूर्वसचिव मैनाली कुशल साहित्यशिल्पी हुन्। त्यसो त प्रशासन र व्यवस्थापनसँग सम्बन्धित खोजमूलक कृति पनि प्रकाशित छन्। साहित्यका सातवटा र व्यवस्थापनका पाँचवटा कृति प्रकाशित गरिसकेका मैनालीका विभिन्न पत्रिकामा कथा, कविता, निबन्ध, समालोचना, नियात्रा र समसामयिक रचनाहरू प्रकाशित छन्। साहित्यमा उनी निबन्ध र समालोचना विधामा जमेका छन्। उनका अवसाद अभिनयी (निबन्धसङ्ग्रह), आँखाभरि रमिता, मनभरि वेदना (नियात्रा), युगकवि सिद्धचरण : कृत्ति र प्रवृत्ति विश्लेषण, अपेक्षा र अनुभूति (समसामयिक निबन्ध), घाउ आफैँलाई दुख्छ (निजात्मक निबन्ध), अभिव्यञ्जना यात्राप्रति (समालोचना) र रमेश विकल : समालोचनात्मक अन्वेषण (समालोचना) प्रकाशित साहित्यिक कृति हुन्। उनै मैनालीसँग साहित्यका विषयमा जयराम सापकोटाले गरेको कुराकानी :
यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो?
म सानैदेखि साहित्य र संगीत मन पराउँथेँ। मेरो घर काभ्रेपलाञ्चोक जिल्लाको कानपुर (हाल नमोबुद्ध नगरपालिका-५) हो, जहाँ प्राकृतिक सुन्दरताले भरपूर पहाडी वातावरण, तलतिर रोशी खोला र माथितिर तिमाल पर्वत शृंखला छ। यही प्रकृतिसँग हातेमालो गर्दा, रोशीखोलामा डुबुल्की मार्दा आफ्ना मनमा आएका सुखदु:खका भावना कापीमा भर्थेँ। मलाई सम्झना भएअनुसार कक्षा चारतिर पढ्दा कविता लेख्न सुरु गरेँ। त्यो नै मेरो लेखनीको सुरुवात थियो भन्ने लाग्छ। त्यसपछि निबन्ध लेखनतिर पनि थाहै नपाई मन अघि बढेछ।
कसबाट र कसरी प्रभावित हुनुभयो?
प्रकृति र परिवेशले प्रेरणा दिएको हो। प्रकृति र परिवेश नै मेरा प्रेरणाका स्रोत हुन्। अलिक बुझ्न थालेपछि भने घरपरिवार, विशेषत: मेरा हजुरबुवा सूर्यकान्त मैनालीको प्रेरणा रह्यो। उहाँ साह्रै धार्मिक प्रवृत्तिको व्यक्तित्व हुनुहुन्थ्यो। कथाकार गुरुप्रसाद मैनालीले हाम्रै गाउँघरका जीवनी र पात्र उठाएर कथा लेख्नुभएको पढेँ, त्यसले पनि प्रेरणा दियो। अलिपछि लक्ष्मी निबन्धसंग्रह र मुनामदनले प्रेरणा दियो।
वरिष्ठ समालोचक, कथाकार एवम् व्यंग्यकार युवराज मैनाली मेरा दाजु हुन्। उनको प्रोत्साहन रह्यो। युगकवि सिद्धिचरण श्रेष्ठ, दिदी पारिजात, मञ्जुल दाइ, धीरेन्द्र मल्ल, विश्वनाथ नेउपानेहरूसँग सम्पर्कमा भएपछि अरू लेख्न मन लाग्यो। आमाको सुम्सुम्याइ र वात्सल्यप्रेम लेखनीका ऊर्जा बने। सबैभन्दा ठूलो प्रेरणा आफ्ना भोगाइ, दु:ख र छटपटी र संघर्षबाट भयो। वास्तवमा प्रत्येक सिर्जनामा म आफैँ पोखिएको छु। अक्षरहरू मेरै दु:ख, पीडा, छटपटी र संघर्षका बिम्ब हुन्।
कसरी बढिरहेको छ त लेखन गतिविधि? वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ?
म फुर्सदमा लेख्छु। जति लेख्न चाहेँ- त्यति लेख्न सकेको छैन। कथा, निबन्ध र नियात्रा लेख्छु। मनले खाएको सिर्जना भेटेँ र पढ्ने फुर्सद पाए भने समालोचना पनि लेख्छु। प्रतिनिधि लेखकका प्रतिनिधि प्रवृत्तिको समालोचना गर्न मन छ। केही लेखेको छु, पूरा गर्न सकेको छैन। केहीअघि ‘युगकवि सिद्धिचरण : कृत्ति र प्रवृत्ति विश्लेषण’ प्रकाशन गरेपछि अर्को समालोचना ‘अभिव्यञ्जना यात्राप्रति’ प्रकाशन गरेँ। रमेश विकल समालोचनात्मक अध्ययन प्रकाशन गरेँ। मेरो पहिलो कथासंग्रह विशृंखलित सपनाहरू प्रकाशन हुँदैछ। निजात्मक निबन्ध ‘घाउ आफँैलाई दुख्छ’ प्रकाशन गरेँ।
अर्को निजात्मक निबन्धसंग्रह पूरा गर्न लागेको छु। पहिले जिम्मेवारीले पनि धेरै थिचेको थियो। सार्वजनिक ओहोदामा रहेकाले पनि पहिलो काम सार्वजनिक जिम्मेवारीको हुने भयो। लेख्नलाई समय चोर्नुपथ्र्यो, परिवेश पनि चोर्नुुपथ्र्यो (मलाई लेख्न एकान्त चाहिन्छ)। समय र परिवेशको जोहो गर्न असजिलो पथ्र्यो। संस्था र जिम्मेवारीप्रति न्याय गर्न सकिनँ भने मेरो लेखनी र सिर्जना पनि गलत हुन्छ भन्ने विचार ममा थियो। अझ भनौँ, जिम्मेवारी वा सार्वजनिक दायित्वलाई अन्याय गरेँ भने आफैँप्रति र साहित्यप्रति नै अन्याय हुन्छ भन्ने लाग्छ। आफैँलाई अन्याय गर्ने कसरी स्रष्टा बन्ने? यही भावनालाई अन्तरबोध गरेर नै सिर्जना गर्दै आएको छु।
पहिला आफ्ना दु:ख सिर्जनामा पोख्थे, भनौँ विरेचन गर्थेँ। अहिले परिवेशका पात्रलाई सिर्जनाका आधार बनाएर लेख्छु। नेपालको जीवनशैली, सीमान्तीकृत र विपन्नजनको जीवनवृत्ति, भोगाइ, पीडा, जीवनका जटिलतालाई जिम्मेवारीका क्षेत्रमा रहँदा बनाउने नीति कार्यक्रममा पनि अनुवाद गर्छु- जसलाई म कार्यमूलक साहित्य भन्न रुचाउँछु। मेरा जिम्मेवारीका क्षेत्रमा सदैव तिनै दीनदु:खीको जीवनवृत्ति प्रतिबिम्बित हुन्छन्। त्यसैले मैले निजामती सेवामा पनि यथार्थ साहित्य गरिरहेको छु।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ?
हजुर, म वर्तमान लेखनप्रति सन्तुष्ट छैन। सन्तुष्टि त जीवनमा हुँदैन नै। सन्तुष्टिमा साहित्य सिर्जिन्न पनि। त्यसैले म आफ्नो लेखनीबाट सन्तुष्ट छैन। लेखनीको वर्तमान प्रवृत्तिबाट पनि सन्तुष्ट छैन। विचार र प्रविधिको विश्वव्यापी विस्फोटले मानव जीवन र साहित्यमाथि धावा बोलेको छ। सर्जकहरू पनि अल्मलिएझैँ लाग्छ। निर्वैयक्तिता छ। पाठक र दर्शकहरू मनमा भन्दा शरीरमा रमाउन थालेका छन्। हृदयभन्दा आँखालाई स्वाद र सन्तुष्टि खोज्ने पाठकका कारण पनि साहित्य सिर्जना प्रभावित छ। त्यसैले फेरि अर्को साहित्यिक आन्दोलनको आवश्यकता छ, तेस्रो आयामभन्दा ठूलो आन्दोलन। सडक कविता क्रान्तिभन्दा पनि ठूलो।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि?
म दुई कृतिको प्रकाशन तयारीमा छु। पहिलो विशृंखलित सपनाहरू (कथासंग्रह) र अर्को साहित्य सिंहावलोकन र समालोचना। यी दुवै सामयिक जीवनका अभिव्यक्ति हुन्। पहिलोमा प्रतिनिधि सिर्जनाको मूल्य विवेचना गरेको छु। दोस्रो कथानिबन्धमा छुट्टै प्रयोग गरेको छु। प्रतिनिधि पात्रमार्फत समाजका उकुसमुकुस, कुण्ठा, अपेक्षा, अकांक्षा र उद्वेगलाई बिम्बात्मक प्रस्तुतिको प्रयत्न गर्दैछु। प्रयोगवाद पनि साहित्यमा नवप्रवत्र्तन हो भन्ने लाग्छ। त्यही गर्दैछु।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ?
साहित्य र स्रष्टाप्रति राज्यको जिम्मेवारी अहम् हुन्छ। यसको मतलब साहित्यकारलाई राज्यले पैसा देओस् भन्न खोजेको होइन। लेखनवृत्ति देओस भनेको पनि होइन। राज्य त सबैको अभिभावक हो। उसले वातावरण बनाइदिनुपर्छ। उसले प्रोत्साहन गर्नुपर्छ। साहित्यिक अनुष्ठानहरू प्रवद्र्धन गर्नुृपर्छ। साहित्यिक अनुष्ठानमा राम्रा सर्जक समेटिनुपर्छ। पढ्ने वातावरण पनि सिर्जना गर्नुपर्छ। सबैभन्दा ठूलो कुरा साहित्य र स्रष्टा समाजका पथप्रदर्शक हुन्। दिशाबोध गर्ने, सन्देश र शिक्षा दिने काम यसबाट हुन्छ भन्ने राज्यले बुझ्नुपर्छ। स्रष्टाहरू स्थायी प्रतिपक्ष हो भन्ने सोच कतै रहनुहुन्न। भजन र नारालाई साहित्य भन्ने अतिवादी प्रवृत्ति हुर्किन दिनुहुन्न। सिर्जनामार्फत सर्जकले समाजलाई अनन्त ऊर्जा दिन्छ भन्ने बुझाइका साथ राज्यले साहित्यलाई अन्तर्बोध निर्वाह गर्नुपर्छ।
तपाईँको साहित्यिक आदर्श के हो?
मेरो साहित्यिक आदर्श जीवनवृत्ति हो। कथा होस् वा निबन्ध- जहाँ पनि अक्षरले जीवनलाई बोकोस्। जीवनको भोगाइ, उद्वेग र उहापोह सिर्जनामा पोखिनुपर्छ। त्यही नै मेरो साहित्यिक आदर्श र मूल्य हो। अक्षरले जीवनका अनुभूति टिप्न सक्नुपर्छ। अक्षरमा जीवन हुनुपर्छ। यही मेरो सिर्जना आदर्श हो।
वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त?
सबै सर्जक आआफ्नै परिवेश र आग्रहका दास हुन्। म कसैलाई आरोप पनि लगाउन्नँ र कसैप्रति पनि आग्रह गर्दिनँ। तर सर्जकहरूले समाजलाई उथलपुथल गर्ने विचार ल्याउन सकेको छैन कि जस्तो लाग्छ। साहित्य सिर्जनाले त समाजलाई सिर्जनशील तनाव दिनुपर्छ, क्रिएटिभ टेन्सन। लेखकीय दायित्व कला कलाका लागि मात्र भनेर सिर्जिने होइन- कला स्वच्छन्दताको वयेलीमात्र होइन- समाजलाई शिक्षा, सन्देश, मनोरञ्जन र स्रष्टा मनको उदात्तीकरणजस्ता विषयको संगम हुनुपर्छ सिर्जना। केही प्रतिभा लेखकीय दायित्व पूरा गर्ने प्रवृत्तिमा छन्, बेजोड प्रतिभा पनि छन् तर ती ओझेलमा छन्, अस्तित्वको संघर्षमा पनि छन्।
तपाईँ आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ?
छैनँ। दुई कारणले आफ्ना कृतिबाट सन्तुष्ट छैन। पहिलो, मैले भन्न खोजेजति भन्न सकेको छैन। मेरा भावनालाई पोख्न सक्ने अक्षरको आविष्कार नै विज्ञानले गर्न सकेको छैन। जति लेखेको वा पोखेको छु- त्यो सम्प्रेषणका हिसाबमा पूर्ण छैनन्। अरू लेखकलाई यस्तो अनुभूति हुन्छ कि थाहा छैन।
दोस्रो, लेख्नपर्ने कुरा, उठाउन पर्ने पात्र, टिप्न पर्ने अनुभूति त्यही समयमा अभिव्यक्त गर्न समयले साथ दिँदैन। त्यसैले लेखनीमा जीवनको अन्तर्बोध पूर्ण रूपमा गर्न नसकिएकोमा पनि सन्तुष्ट छैन।
तेस्रो, सन्तुष्टि त सिर्जनामा कहिले पनि हुँदैन। तर सिर्जना वा कृतिप्रति माया लाग्छ। लाग्छ ती मेरा सन्तान हुन्, शुभम् र सुव्रत (बावुहरू) जस्तै हुन्। त्योभन्दा राम्रो बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ। सन्तानको माया कसलाई लाग्दैन?
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ?
साहित्यले समाज र परिवेशलाई प्रतिनिधित्व गर्छ। हिजोको समाज व्यवस्था, जीवनशैली र सामाजिक आर्थिक छटपटीलाई साहित्यले टिपेको थियो। आज पनि त्यसरी नै समाज, परिवेश र जीवनबृत्तिलाई साहित्यले बोकेको छ।
तर हिजोका साहित्यको कलामूल्य, अभिव्यञ्जना शैली र पात्र टिप्ने प्रवृत्ति केही बदलिएको पाएको छु। हिजो धेरै सिर्जना सर्वकालीन मूल्यका हुन्थे। तर अहिले त्यसबाट विषयान्तर हुँदैछ। हिजो साहित्य सिर्जनाले मन छुन्थ्यो, हृदयमा बस्थ्यो, अहिले मस्तिष्क र शरीरसँग नाता जोड्न गइरहेको छ। समाजको निर्वैयक्तीकरण र यान्त्रीकरणका कारण पनि यसो भएको हो। तर यही परिवेशमा जीवनलाई यान्त्रिकीकरणबाट उठाई मानवीकरण र हार्दिकीकरणमा लैजानु आवश्यक छ। यो नै सर्जकको युगीन दायित्व र चुनौती पनि हो।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ?
यथार्थ जीवनलाई बोक्ने, वास्तविक जीवनका अनुभूति र भावी जीवनका आकांक्षा टिप्ने साहित्य लेखिनुपर्छ। अक्षरमा जीवन र आशा देखिनुपर्छ। मन छुने, हृदयमा बस्ने र अक्षरहरू पढ्दा पाठकलाई आफैँ अक्षर भएको अनुभूति हुने सिर्जना हुनुपर्छ। अक्षर भएर के हुन्छ, भाव भए पो हुन्छ।
लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ?
प्रत्येक स्रष्टाका आफ्नै प्रेरक पक्ष हुन्छन्। मैले मेरो कुरा भन्ने हो। मलाई परिवेश र प्रकृतिले प्रेरणा दिन्छ। अभावमा भाव फुर्छ। दु:खमा प्रत्येक मानिस सर्जक हो, अक्षरमा सिर्जना नगरे पनि। त्यसैले मेरा भोगाइ, छटपटी, पीडा र अपेक्षा नै लेखनीलाई प्रेरणा दिने कारक हुन्। मेरा लेखनीका अक्षर मेरा अनुभूति पोख्ने माध्यम हुन्। म मेरा पीडा, भोगाई, अपेक्षा र उहापोह कसलाई बताऔँ सिबाय मेरा अक्षर। अक्षर मेरा मनका वारिस हुन्।
तपाईँको लेख्ने निश्चित समय छ कि?
हो, प्रत्येक सिर्जनाका समय हुन्छन्। लेखनीको आफ्नै वातावरण हुन्छ। कुनै वातावरणमा तत्काल लेख्न सकिएन भने त्यो सिर्जना त्यही अर्थ र ओजमा फेरि सिर्जिदैन। मलाई एकान्त चाहिन्छ, त्यै परिवेश चाहिन्छ- जुन परिवेशमा त्यो अनुभूति भएको थियो। त्यस्ता समय धेरै पाइँदैन, दु:ख वा उहापोहको अनुभूति भएको समयमा लेख्न नपाएर म छटपटिन्छु। तर सार्वजनिक जिम्मेवारीले त्यो लेख्न छेक्छ। समाज र पारिवारिक अवस्थाले पनि छेक्छ।
खास वातावरणमा मैले त्यै पात्र टिप्छु र उसको अनुभूति आफूमार्फत पोख्छु वा आफ्ना भावना कुनै पात्रमार्फत पोख्छु। प्रत्येक पात्रका लागि छुट्टै वातावरण चाहिन्छ, प्रत्येक वातावरणको छुट्टै पात्र हुन्छ। परिवेश र पात्र अनुभूतिमा संयोजन गर्ने सर्जक नै वास्तविक स्रष्टा हो।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ?
लेख्ने विषयवस्तु आफ्नै परिवेश, कार्य वातावारण र भोगाइबाट छान्ने गरेको छु। मैले काम गरिरहँदा सेवाग्राही नै लेखनीको विषय बन्छ। प्रकृति पनि लेखनीको विषय बन्ने गर्छ। जिम्मेवारीमा काम गर्दा दीनदु:खी सर्वसाधारणका बिम्ब मेरा लेखनीका विषय बन्ने गर्छन्। धेरै अवस्थामा म बिम्बमा समाजका कुरा लेखनीका विषय बनेका छन्। किनभने जीवन वा यसका भोगिँदो यथार्थ नटिपेको विषय साहित्य बन्न सक्दैन।
लेख्ने विषयवस्तु परिवेशले निर्धारण गर्छ। म सच्चा साहित्य परिवेशको पृष्ठभूमिमा उभिएको हुन्छ। जीवन्त सिर्जनाको विषय परिवेशले निर्धारण गर्दछ। अहिले म बाल्यानुभूति, बालहठ र बाल-मनोभावलाई सही अर्थमा उतार्न सक्दिनँ। लेखेँ भने पनि अक्षरले सम्प्रेषण गर्दैन वा कम गर्छ। मेरी आमा स्वर्गीय भएको परिवेशले मन, आमा र रोशी खोला जन्मायो। राजाले प्रत्यक्ष शासन गरेर नागरिकलाई दु:ख दिएको समय आन्दोलित मन र प्रजातन्त्र जन्मायो। सशस्त्र द्वन्द्वको पीडाकालमा संवेदना नभएका हामी जन्मियो। त्यो परिवेशमा अहिले त्यही अनुभूति टिप्न सकिँदैन। लेखियो भने इतिहास वा घटनावृत्ति मात्र बन्छ।
सफल स्रष्टाका आवश्यक गुण के/के हुन्?
पात्र, परिवेश र समाजलाई न्याय गर्ने सामथ्र्य स्रष्टाको गुण हो। लेखनाथ, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण, बीपी कोइराला, पारिजातहरूले पात्र परिवेश र समाजलाई न्याय गरे। राजा वीरेन्द्रले पञ्चायती शासनमा पञ्चायतको चाहना, शान्ति र सिर्जनाको स्तुतिगान गर्नेहरूले साहित्यप्रति न्याय गरेनन्। ज्ञानेन्द्रले प्रत्यक्ष शासन चलाउँदा ठूला भनिएका साहित्यकार र कलाकार पनि स्तुतिमा नै लागे, उनीहरूमा पनि स्रष्टा गुण रहेनछ। अभावमा देवकोटाले लेखे, पीडामा पारिजातले लेखिन्, कारागारमा बीपीले लेखे तर पात्र, परिवेश र समाजलाई न्याय गरे। त्यसैले उनीहरू सर्वकालीन छन्। जीवन उठाउने कला स्रष्टामा हुनुपर्छ। ऊ विचार, मूल्य, आग्रह र दर्शनको दास हुनुहुँदैन।
साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ?
सबै विधा उत्तिकै प्रिय र महत्त्वपूर्ण लाग्छ। निबन्धले मनका भावनालाई उदात्त रूपमा पोख्छ। कथाले खास घटनावृत्तिलाई उन्छ। कविता, नियात्रा, उपन्यास, नाटक, मुक्तक, सबै महत्त्वपूर्ण छन्। सबैले जीवनका अनुभूति र आकांक्षालाई अभिव्यक्त गर्ने हो। कुनै एक विधालाई महत्त्व दिनु अन्याय हो। प्रस्तुति र उद्बोधन महत्त्वपूर्ण हो, विधा सबै समान छन्। पाठकहरू आफ्ना स्वाद र सन्तुष्टिमा कहिले कुन कहिले कुन विधातिर लहसिन्छन्, फरक त्यत्ति हो।
सिर्जनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला?
साहित्य सिर्जनामा जीवन त हुन्छ नै, कल्पनाका अंश पनि हुन्छन्। कल्पना पनि जीवनको अंग हो। त्यसैले साहित्य सजीव हुनु भनेको कल्पना पनि हो। सजीवतामा कल्पना हुन्छ। कोरा घटनामात्र साहित्य हुँदैन, न कल्पनाको फेन्टेसी मात्र साहित्य हो। संयोजन कसरी गर्ने भन्ने हो। देवकोटा कल्पनामा आकाश छुन्थे तर ती जीवनका उद्वेग थिए। मेरा कथानिबन्ध मूलत: सजीवता र कल्पनाका संगम हुन्। त्यसैले मैले कथानिबन्ध भन्ने गरेको छु।
लेख्नुपर्ने बाध्यता कति बेला महसुस हुन्छ?
सिर्जनामा बाध्यता हुँदैन। सिर्जनामा कलाकारिता चाहिन्छ, बाध्यताले यान्त्रिकता जन्माउँछ। लेखनी बाध्यतामा भयो भने त्यो साहित्य नभई अरू नै बन्ने गर्छ। तर केचाहिँ हो भने खास परिवेशका जीवनवृत्ति उठाउने बाध्यात्मक अवस्था कहिलेकाहीँ आउन सक्छ र त्यसले अजीव सिर्जना गर्छ, त्यो साँच्चै अर्थवत्ताको हुनसक्छ।
किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन्?
त्यसो गर्छन् भने त्यो राजनीतिक दलको साहित्य हो- समाजको होइन। दल ‘पार्टी’ले चलाउँछ, पार्टी ‘पार्ट’ को मात्र हुन्छ- ‘होल’को हुँदैन। दलले विचार, दर्शन, भूगोल, सिद्धान्त, वर्गको भाग मात्र प्रतिनिधित्व गर्ने भएकाले त्यो पार्टी हो। साहित्य समग्रको हुन्छ, कुनै भागको हुँदैन। सर्वकालिक हुन्छ, समय र सिद्धान्तमा विभाजित हुँदैन, निष्ठामा खण्डीकृत हुँदैन। भागको आग्रह गर्नेहरूले जीवनका अनुभूति टिप्नै सक्दैनन् भन्ने मेरो धारणा हो। त्यसैले साहित्य दलको हुँदैन- जीवनको हुन्छ। पार्टको हुँदैन- होलको हुन्छ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि?
लेखक नयाँ र पुरानो हुँदैन। दृष्टिकोणले नै नयाँ वा पुरानो हुने हो। सिर्जना सर्वकालिक हुनुपर्छ। यहाँले भन्न खोज्नुभएको भर्खरै लेख्न थालेका भाइबहिनीलाई हो भने मेरो अनुरोध के छ भने अक्षरको संयोजन मात्र नगर्नुहोस्। जीवनका ब्यक्तिन नसकेका अनुभूतिको अभिव्यञ्जना सरल, मीठो र कलात्मक रूपमा प्रस्तुत गर्नुहोस्- जसले समाजलाई सिर्जनात्मक तनाव पनि देओस्। नामै लिँदा अन्याय हुन्न भने सुदेश सत्यालका छन्द कविताजस्ता सिर्जनाले समाजलाई केही दिन्छ। मैले नाम नलिएका अरू धेरै सर्जक पनि समाजमा छन्।
अन्त्यमा केही भन्न छुटेको भए?
नेपालमा राम्रा प्रतिभा वन, पाखा, अरबर मलेसियातिर लुकेका छन्। अब त सामाजिक सञ्जालका सस्ता खुराकमा समाज भुल्न थालेर अमूल्य जीवनलाई बर्बादी गर्ला कि जस्तो भएको छ। लुकेका प्रतिभा खोज्नु, प्रोत्साहन गरेर एकातर्फ नेपाली समाजलाई सिर्जनात्मक सन्देश दिन र अन्तत: नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउनु आवश्यक छ। सम्भावना छ, प्रोत्साहन छैन। प्रतिभा प्रोत्साहनले मौलाउने हो।
नेपाली साहित्यलाई यसरी प्रोत्साहन गर्नुपर्यो कि स्रष्टाहरूले अक्षरका आधारमा नै जीवन धान्न सकून्। सधैँ गुमेको अवसर बनाउनुहुन्न मुलुकलाई। यहाँको प्रकृति, संस्कृति, विविधता, सबै नै सिर्जनाका पृष्ठभूमि हुन्, केवल प्रोत्साहनको प्रतीक्षा छ। प्रोत्साहन नभए पनि सिर्जना त जन्मिन्छ, तर त्यो आत्मानन्द र दु:खको विरेचनमा सीमित हुन्छ।