काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र स्वकीय टिम बिस्तार गरिरहेका छन्। यसपटक उनको टिममा विगतकै व्यक्तिहरूलाई अवसर दिइएको छ।
अधिकांश पुराना अनुहारले उनको स्वकीय टिममा जिम्मेवारी पाएका छन्। हालसम्म ओलीले मुख्य सल्लाहकारमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल नियुक्त गरेका छन्। उनी राजनीतिक सल्लाहकारका रूपमा सिंहदरबार छिरे पनि उनको पद मुख्य सल्लाहकार हो। गत विहीबार मन्त्रिपरिषद् बैठकले रिमाललाई नियुक्त गरेको हो।
यसअघि पनि ओली तीन पल्ट प्रधानमन्त्री बन्दा ओलीले उनलाई नै प्रमुख सल्लाहकारको जिम्मेवारी दिएका थिए। रिमाल विगतबाटै ओलीका निकटस्थ मानिन्छन्। सल्लाहकार पदमा नरहँदा पनि रिमालले ओलीलाई नियमित सल्लाह दिने गरेका छन्। त्यसैगरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन्। यता महान्यायाधिवक्तामा रमेश बडाल नियुक्ति भएका छन्। यसअघि संसद् विघटनमा ओलीको पक्षमा वकालत गरेका वडाल एमाले-कांग्रेस गठबन्धन बन्दा साक्षी पनि थिए। कांग्रेस-एमालेबीच अन्तिम सम्झौता उनी पनि सोही स्थान पुगेका थिए।
आर्थिक सल्लाहकार खतिवडा २०७४ सालको निर्वाचनपछि प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्री बनेका थिए। यसअघि पनि आर्थिक विषयमा ओलीले खतिवडामार्फत नै सल्लाह लिने गरेका थिए। यता प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन्। उनी यसअघि बालकोटमा समेत ओलीको स्वकीय पदमा कार्यरत थिए।
यस्तै प्रधानमन्त्रीको प्रेस संयोजकमा रामशरण बजगाईं नियुक्ति पाएका छन्। उनीसँगै सचिवालयमा दिपेन्द्र दाहाल पनि कार्यरत छन्। योसँगै स्वकीय उपसचिवका रूपमा रोशनी मेचु कार्यरत छिन्। उनी प्रशासन हेर्ने मामिलामा पर्छिन्।
ओलीले परराष्ट्र र प्रेस सल्लाहकार नियुक्त गर्न बाँकी छ। परराष्ट्रमा यसअघि ओलीले राजन भट्टराईलाई नियुक्त गरेका थिए। अहिले पनि भट्टराई एमालेका परराष्ट्र विभागका प्रमुख साथै ओलीलाई सल्लाह दिने नेता हुन्। योसँगै अब प्रेस सल्लाहकार नियुक्त पनि ओलीले गरेका छैनन्। प्रेस सल्लाहकारमा डा. महेन्द्र विष्टलगायतका नेताले आकांक्षा देखाएका छन्।