मधेशमा कांग्रेस-एमालेविरुद्ध मोर्चाबन्दी!

हिमाल प्रेस ५ साउन २०८१ ८:०२
20
SHARES
मधेशमा कांग्रेस-एमालेविरुद्ध मोर्चाबन्दी!

काठमाडौँ- मधेश प्रदेशमा कांग्रेस–एमाले नेतृत्वको गठबन्धनविरुद्ध साना दलले मोर्चाबन्दी गरेका छन्। ठूला दलले बहुदलीय लोकतन्त्रलाई समाप्त पार्ने ध्येयले दुई दलीय व्यवस्थामा लैजाने षडयन्त्रहरू गरेको भन्दै साना चार राजनीतिक दलले मोर्चाबन्दी गरेका हुन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी, तराई मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीका नेताहरूले ठूला दलको विरुद्धमा उत्रिएका छन्। कांग्रेस र एमालेले असार १७ गते गरेको संविधान संशोधन सहितको सहमतिको विरोधमा साउन २६ गते जनकपुरधाममा बृहत् अन्तर्क्रिया गर्ने लगायत ७ बुँदे सहमति उनीहरूले गरेका छन्।

सहमतिविरुद्ध संघर्ष गर्न संयुक्त संघर्ष समिति गठन गरेको माओवादी केन्द्रको मधेसी मुक्ति मोर्चाका इन्चार्ज मातृका यादवले जानकारी दिए। विज्ञप्तिमा इन्चार्ज यादवसहित माओवादी मधेसका संयोजक जगतप्रसाद यादव, सहसंयोजक नन्दकिशोर यादवले हस्ताक्षर गरेका छन्।

यसैगरी एकीकृत समाजवादीबाट शीतल झा, तमलोपाबाट अध्यक्ष वृषेशचन्द्र लाल, वरिष्ठ नेता डा विजयकुमार सिंह र नेपाल सद्भावना पार्टीबाट अध्यक्ष रामकुमार महतो र महासचिव पवनकुमार साहले हस्ताक्षर गरेका छन्। विज्ञप्तिमा जनयुद्ध, संयुक्त जन आन्दोलन र मधेस आन्दोलन प्राप्त उपलब्धिहरु लाई समाप्त गरी एकात्मक शासन व्यवस्थालाई स्थापित गर्न खोजेको आरोप लगाइएको छ।

यद्यपि सबैतिरबाट व्यापक आलोचना भएपछि सहमति समेत सार्वजनिक नगरिएको जिकिर गरिएको छ। ‘सहमतिमा प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व समाप्त गर्ने, संघय संसदमा प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रिय सभाको वर्तमान भूमिका खतम गर्ने, अनुचित थ्रेसहोल्डमा झन् वृद्धि गरेर बहुदलीय लोकतन्त्रको स्वरूप सिद्ध्याई दुई दलीय स्वरूपमा लैजाने जस्ता षडयन्त्रहरू देखा परेका छन्। उल्टो संशोधनको दुष्प्रयास विरुद्ध हामी कडा संघर्ष गर्ने छौँ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ साउन २०८१ ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =