प्रधानसेनापतिमा सिग्देल निश्चित, जंगी अड्डा भन्छ : उमेरमा कैफियत छैन

हिमाल प्रेस ४ साउन २०८१ १७:२७
1.5k
SHARES
प्रधानसेनापतिमा सिग्देल निश्चित, जंगी अड्डा भन्छ : उमेरमा कैफियत छैन

काठमाडौँ- जंगी अड्डाले एक महिनापछि नेपाली सेनाको नेतृत्व  लिने तयारीमा रहेका रथी अशोकराज सिग्देलको उमेरमा कुनै पनि विवाद नरहेको प्रस्ट पारेको छ। सिग्देलको जन्ममितिका विषयमा विभिन्न सञ्चारमाध्यममा ‘भ्रामक’ समाचार आउन थालेपछि सेनाले पत्रकार सम्मेलनमार्फत भाबी नेतृत्वको नागरिकताबारे प्रस्ट पारेको हो।

सेनाका केही बहालवाला र केही सेवानिवृत्त अधिकारीहरूले भ्रम सिर्जना गर्न भूमिका खेलेको र सञ्चारमाध्यम त्यसमा उपयोग भएको सैन्य अधिकारीहरूको निष्कर्ष छ। भाबी प्रधानसेनापतिको उमेरका विषयमा गलत समाचार आएपछि नेपाली सेनाले बिहीबार जंगीअड्डामा आयोजना गरेको पत्रकार सम्मेलनमा  डिजिटल प्रस्तुति दिएको थियो।

सैन्य अधिकारीहरूले नेपाली सेना विधिसम्मत ढंगले चल्दै आएको र यसमा दोषी भेटिँदा विगतमा कारबाही भएको तथा भविष्यमा यस्ता कारबाही हुने स्पष्ट पारेका छन्। बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका रथी सिग्देलका पुर्खा तनहुँबाट भैरहवा बसाइँ गएका हुन्। उनलाई केही सञ्चारमाध्यमले बर्माबाट आएको भनेर लेखेका थिए।

नेपाली सेनाका प्रवक्ता एवम् सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको उमेरबारे रथीमा बढुवा हुने क्रममा र त्यसपछि पनि छानबिन भएको जानकारी दिँदै उनको नागरिकतामा कुनै  कैफियत नभएको बताए। सिग्देलको उमेरमा कुनै विवाद नरहेको विषयमा प्रधानसेनापति प्रभुराम शर्माले संघीय संसद्को राज्य व्यवस्था समितिमा पुगेर स्पष्टीकरण दिएका थिए।

सेनाभित्रबाट पनि भाबी प्रधानसेनापतिका बारेमा नचाहिँदो हल्ला फिँजाउनाले र त्यसमा सहयोग गर्नेहरूलाई प्रमाणसहित कारबाहीको तयारी भएको एक सैन्य अधिकारीले जानकारी दिए। सिग्देलको उमेर विवादमा ल्याउन सक्रिय ती अधिकारीलाई नेपाली सेनाले निगरानीमा राखेको छ। केही सञ्चारमाध्यमले कसैको निर्देशनमा सेनालाई हिलो छ्याप्ने काम गरेको पनि बताइएको छ। ‘सैन्य नेतृत्व गर्ने भनेको चानचुने काम होइन। त्यो तहमा पुग्ने व्यक्तिबारे पहिल्यैदेखि माथिल्लो तहबाट निगरानी हुन्छ नै। सबै चुस्तदुरुस्त नभई त्यहाँ पुग्ने भन्ने नै हुँदैन,’ सेनाका एक अधिकारीले भने, ‘समाचारमा भ्रामक विषय आएका छन्। सञ्चारमाध्यम आफू सच्चिनुपर्ने अवस्था छ। जसले जे डकुमेन्ट दियो त्यो पक्का भन्ने आधार के?’

हुनेवाला प्रधानसेनापतिकश मानमर्दन गरेको भन्दै  सिग्देलको नागरिकतामा विवाद रहेको खबर निरन्तर बाहिर ल्याउने सञ्चारमाध्यमविरुद्ध मुद्दामा गएमा के होला? भन्ने  यो सोचनीय रहेको ती सैन्य अधिकारीले बताए। भ्रम फिँजाउने र नभएका कुरालाई लेख्ने सञ्चारमाध्यमलाई कसरी हर्जना गराउने भन्ने विषयमा समेत बहस हुनुपर्ने केही अधिकारीको धारणा छ।

नेपाली सेनाका प्रधानसेनापति शर्माको कार्यकाल भदौ २४ गते सकिँदैछ। उनी साउन २४ गतेबाट घरबिदामा बस्नेछन्। उनी बिदामा बसेपछि रथी सिग्देलले प्रधान सेनापतिको कार्यभार लिनेछन्।

सेनामा बढुवा विवाद नयाँ होइन। तर यहाँ एक समूहले सिग्देललाई विवादमा ल्याउन पाए माओवादी निकट मानिने जर्नेललाई रथी बनाएर प्रधानसेनापति बनाउने तयारी भइरहेको थियो। त्यसमा प्रधानसेनापति र राष्ट्रपतिको अडान बाधक हुने भएकाले सहज थिएन। यसअघिका सरकारमा बसेका केही व्यक्ति प्राविधिक उपरथीपछि सैन्य अधिकारीलाई प्रधानसेनापति बनाउने तयारीमा लागेका थिए। जबकि ती सैन्य अधिकारी चार तह कनिष्ट उपरथी हुन्। ती अधिकारी कैयौँपटक कारबाही परेर संरक्षित हुँदै यहाँसम्म आएका हुन्।

रथीमा बढुवा हुने बेलादेखि नै सिग्देलको उमेरलाई लिएर विवादमा तान्ने प्रयास भएको थियो। उनी रथीमा बढुवा हुनुअघि उपरथी ताराध्वज पाण्डे रथीमा सिफारिस भएका थिए। पाण्डेको नागरिकता विवाद थियो। उनले किर्ते आरोपमा भन्दा पनि सेनाको अनुशासनमा गम्भीर धक्का लाग्ने काम गरेकाले राजीनामा दिएका थिए। पाण्डेको राजीनामापछि सिग्देलको बढुवा भएको हो। अस्ट्रेलियामा रहेका पाण्डेले त्यहाँबाट फर्केपछि यी सबै विषय सार्वजनिक गर्लान् नै।

प्रवक्ता केसीले भने, ‘म अशोक जर्साबले तत्कालीन जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट २०४० साउन २९ गते लिएको नागरिकता देखाउन चाहन्छु।’ त्यस क्रममा उनले सिग्देलले लिएको पहिलो नागरिकता देखाए। उक्त नागरिकतामा उमेर १७ वर्ष उल्लेख छ। त्यो नागरिकताको प्रतिलिपि २०५८ जेठ ८ गते जाजरकोटबाट लिइएको हो। सरकारी कर्मचारी जहाँ भए पनि उसले आफ्नो नागरिकताको विवरण जारी भएको जिल्लाबाट मगाउन सकेमा प्रतिलिपि लिन पाउँछ।

सिग्देलले लिएको प्रतिलिपि र पुरानो नागरिकतामा कुनै विवरण फरक नरहेको प्रवक्ता केसीले जानकारी दिए। पत्रकार सम्मेलनमा दुवै नागरिकतामा एउटै नागरिकता नम्बर र जारी मिति पनि पुरानै रहेको नागरिकता मोनिटरमा देखाइएको थियो। सेनाले रथी सिग्देलको एसएलसीको प्रमाणपत्र सार्वजनिक गरी त्यही जन्ममिति रहेको प्रस्ट पारेको छ। ।

‘मैले जर्साबको एसएलसीको प्रमाणपत्र देखाएँ। प्रमाणपत्रको जन्ममिति र पुरानो नागरिकताको जन्ममिति जारी सबै उही छ। अनि जाजरकोटबाट लिएको प्रतिलिपिमा पनि त्यही विवरण छ भने कसरी के नक्कली भयो?’ प्रवक्ता केसीले प्रश्न गरे, ‘सेनासँग २०४३ भदौ १२ मा सुपिङ बहुमुखी क्याम्पसबाट जारी भएको सिग्देलको प्रमाणपत्र छ। त्यसमा पनि त्यही उमेर प्रस्ट छ। त्यसपछि सेनाभित्रै अध्ययन गर्ने हो। अध्ययनमा पनि उहाँ ब्याच टपर हुनुहुन्छ। अरू के चाहियो?’

कसैले आफूखुसी सच्याएर जे दिए पनि सञ्चारमाध्यमले कुनै अध्ययन र त्यसलाई प्रमाणित नगरी छापेर चरित्रहत्या गरिदिन पाइन्छ कि पाइँदैन भन्ने विषयमा सेना गम्भीर भएको पनि केसीको भनाइ छ। सेनाभित्रबाट नचाहिँदा डकुमेन्ट पठाउने र त्यसका लागि लबिङ गर्नेहरु कारबाहीमा पर्छन् नै। सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठेकाले गम्भीर हुनुपर्ने सैन्य अधिकारीहरू बताउँछन्।

‘तिनै गलत कागजपत्रका आधारमा समाचार बने कतिपयले अनेक भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेका छन्। जसले गर्दा पत्रकारिताको विश्वसनीयता र सामाजिक सञ्जालको भद्दा मजाक भइरहेको छ’, सेनाका एक अधिकारीले भने, ‘अनेकन् कागज जोडेर भाबी प्रधानसेनापतिलाई गलत साबित गर्न निकै प्रयास भइरहेको छ।’

‘सेनामा बहाल रहेका र सेनाका तर्फबाट घरमा सहयोगी राखेर कतै जान पर्दा गाडीसमेत माग्ने निवृत्तहरु नै सेनालाई बदनाम गर्न लाग्नु गलत हो’, ती अधिकारीले भने, ‘कहिले साइकलमा सेनाको संकेत राखेर हिँड्ने, कहिले आफ्नो वरिष्ठ सैन्य अधिकारी पोस्टिङ भएको स्थानमा गएर चियोचर्चो गर्ने प्रवृत्ति त मानसिक बिरामीको अवस्था हो।’

त्यस्ता व्यक्ति मिडिया हाउसमा मात्र होइन आफूले चिनेजानेका नेता, संसद् सचिवालय, संसदीय समितिमा समेत उपस्थित भएर सेनाको सिटरोल भन्दै फेक डकुमेन्ट उपलब्ध गराउन सक्रिय भएपछि सेनाभित्र खैलाबैला मच्चिएको ती अधिकारीले बताए। संसद्‌को समितिमा समेत भ्रामक डकुमेन्ट देखाएर बहस गरिएको ती अधिकारीको भनाइ छ। त्यही संसद्ले छानबिन गरेर प्रस्ट पारिसकेको विषयमा संसद्का सदस्य बोलेपछि सबै आश्चर्यमा परेका थिए। पछि सेनाले त्यो लहरो के हो भन्ने थाहा पाएपछि सेनाले भित्र पनि कारबाही प्रक्रिया अघि बढाएको छ।

नेपाली सेना देखाएर निहित स्वार्थका लागि काम गर्नेहरूको सक्रियता पुरानो होइन। कोही सेनापतिको मानिस भन्दै अवैध काम गर्दै आएका छन्। ती सैनिक अधिकारीले भने, ‘पृतना कसरी अब्बल बनाउन सक्रिय हुनुपर्ने जर्नेलहरू अब हुने सेनापति आफ्नो लाइनको होइनन् भनेर मिडिया र सामाजिक सञ्जाल व्यवस्थापनमा लाग्ने काम भइरहेको छ। यसरी एक व्यक्ति देखाएर समग्र सेनाप्रति प्रहार गर्नेहरू पनि सलबलाएका छन्।’ यसमा सैनिक नेतृत्व र राजनीतिक नेतृत्वले पनि ध्यान दिन आवश्यक रहेको ती अधिकारीले बताए।

सेनाको नेतृत्व र नेतृत्वमा आउन लागेकाले कुनै कारबाही नगरिरहँदा नेपाली सेनाभित्र एक प्रकारको अन्योल उत्पन्न भएको जंगीअड्डाका अधिकारीहरू बताउँछन्। सेनामा माथिको आदेशबिना काम गर्न पाइन्न। एउटा उदाहरण हो, दुई हप्ताअघि एक सैन्य अधिकारी सिभिल ड्रेसमा संसद्को राज्य व्यवस्था समितिमा पुगे। उनले निकै गह्रुंगो भएर पत्र झिके। पत्र दर्ता गराउन खोजे तर उनले आफ्नो नाम नम्बर र ठेगाना दिन चाहेनन्। अख्तियारमा बेनामे उजुरी हुन्छ भने यहाँ किन नहुने भनेर तर्क दिए।

उजुरीकर्ताको नाम र ठेगाना गोप्य रहने तर चाहिने भनेपछि उनले कसैलाई फोन गरेर दर्ता नगरी फर्केको संसद्को राज्य व्यवस्थाका एक कर्मचारीले सुनाए। ती सैनिक अधिकारी प्रधानसेनापतिको रोलक्रममा रहेका रथी सिग्देलविरुद्ध उजुरी दिन पुगेका थिए। ‘कसलाई सोधेर उजुरी दिए तर ठेगाना धुलिखेलको थियो’, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले भने। सेनाको हुर्मत सेनाभित्रैबाट भइरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ।

कैफियत देखिन्थ्यो भने सिग्देल तीनतारेमा बढुवा हुँदैन थिए। यस्तो विषयलाई भुलेर अहिले केही मिडिया र सामाजिक सञ्जालले उनको हुर्मत लिइरहेका छन्। जानकारहरूका अनुसार सेनासँग बदला लिने खोज्ने सशस्त्र द्वन्द्वबाट आएका नेताहरू हुन्। यसमा सेना पनि सचेत हुनुपर्छ भने प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीले पनि सेनाका विषयमा गम्भीर हुन आवश्यक छ। चेन अफ कमान्डमा चल्ने सेनालाई यसरी जथाभाबी गर्न दिने अनि किर्ते गरिएका कागज पठाएर व्यक्तिलाई हतोत्साही गराउन मिल्दैन।

सेनाभित्र शान्त तर कडा स्वभावका भनेर चिनिने सिग्देल आफैँमा एक अब्बल सैनिक अधिकारी हुन्। उनी सैन्य अधिकृतका रूपमा सेनामा प्रवेश गर्दैमा आफ्नो ब्याचमा टपर थिए। नेपालभित्र र बाहिर लिएका प्रशिक्षण र एकेडेमिक वर्कमा उनी सधैँ पहिलो नम्बरमा पर्दै आएका छन्। उनी सेनामा कम बोल्ने, काममा प्रोत्साहन गर्ने, आफ्नो अर्को नगर्ने, ग्रुप नबनाउने, बरु सबै काम आफैँ गर्ने अब्बल जर्नेलका रूपमा परिचित छन्।

सिग्देलले युद्धकार्य विभाग, निरीक्षण विभाग, कल्याणकारी निर्देशनालय, व्यवस्था, नीति तथा योजना विभाग, प्रबन्ध रथी, सम्भार रथी, मध्य तथा उपत्यका पृतना प्रमुख भएर काम गरिसकेका छन्। उनलाई उपरथी हुने समयमा पनि जन्ममिति विवाद निकालिएको थियो। त्यति बेला पूर्णचन्द्र थापाले घर पठाउन सक्दो प्रयास गरेका थिए। कुनै कैफियत नभेटेपछि सिग्देल रथी भएका हुन्।

सिग्देल भारत चीन र अमेरिका बुझेका रथी हुन्। सिग्देलले अध्ययन र प्रशिक्षण पनि तीनै मुलुकमा लिएका थिए। सिग्देलले अन्तर्राष्ट्रिय प्रशिक्षण पनि लिएका छन्। नेपाली सेनालाई अन्य मुलुकको जस्तै व्यावसायिक र अब्बल बनाउन लिइने सबैखाले प्रशिक्षणमा उनले आफूलाई अब्बल बनाउन सफल भएका छन्। उनले छोटो अवधि, मध्यम अवधि र लामो अवधिका सबैखाले प्रशिक्षण लिएका छन्। प्रधानसेनापति हुन आवश्यक पर्ने हाइअर कमान्ड तथा म्यानेजमेन्ट प्रशिक्षणमा पनि सिग्देल प्रथम भएका थिए।

कुनै पनि कैफियत नभएकाले उनी ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। नेताको घरघर धाउने, रेस्टुरेन्टमा बसेर योजना बनाउने काममा उनी कहिल्यै लागेनन्। उनी निकै अनुशासित सच्चा सिपाही हुन्। सेनाभित्र उनलाई नेपाली सेनाको मेरुदण्ड र रणनीतिकार ठानिन्छ। सिग्देल ढुक्कले आफ्नो काम गरिरहेका छन्। उनलाई थाहा छ आफू गलत छैन। तर अरूले दुःख दिइरहेको विषयले उनलाई खासै छोएको छैन। आफूभन्दा माथि पनि नेतृत्व रहेको कारण सिग्देल सक्रिय नबनेका हुन्। अहिलेको नेतृत्वभन्दा अघि रोलक्रममा रहेकाले कमान्ड लिने, आफू नै सेनापति हुँ भन्दै सबै स्थानमा जाने चलन थियो। सिग्देल त्यसमा लागेनन्। उनी स्वाभाविक रूपमा नेतृत्वमा पुग्नेमा ढुक्क छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =