स्मृति मानिसको जीवन्तताको प्रतीक हो। संस्मरण शक्ति विकास हुने वयदेखि जीवनका हरेक मोडमा भएका, देखेका, सुनेका, भोगेका विषयहरूको स्मृति राख्न सक्ने विशेष खुबी भएको मानिस विगतको स्मृति र संस्मरणसँगसँगै बाँच्दछ। विगतको सुमधुर सम्झनाहरूले उसका बाँकी जीवनलाई निर्देशित गरिरहेका हुन्छन् भने कतिपय सम्झनाहरू ताडना र त्रासदीका रूपमा पनि मानसपटलमा गहिरो प्रभावसहित रहन जान्छन्। स्मृति हराउँदा मानिस चेतनाशून्य हुन्छ। चेतनाशून्य मानिसले न आफू बाँचेको अनुभूत गर्न सक्छ न न्यूनतम मानवीय दायित्व नै पूरा गर्न सक्छ।
अल्जाइमर्सजस्ता असहनीय रोग लागेका मानिसले स्मृति लोप हुँदै जाँदा भोग्नुपर्ने पीडाको बयान भोग्नेलाई मात्र थाहा हुन्छ। यसर्थ, स्मृतिलाई जीवन्त र जागृत गराइराख्न पनि संस्मरण लेखिनु, पढिनु र चर्चा गरिनुपर्दछ। त्रासदपूर्ण स्मृति लेख्दा लेखकको पीडा केही मात्रामा हलुका त हुन्छ नै यसले आफूलाई परेको जस्तो परिस्थिति अरूले भोग्न नपरोस् भन्ने शिक्षा प्रदान गर्ने कार्य पनि गरिरहेको हुन्छ।
नेपालमा संस्मरण लेख्ने चलन धेरै पुरानो होइन। मौखिक रूपमा विगतका कथा एकआपसमा कहने संस्कृति र एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान, अनुभव र अनुभूति पुस्तान्तरण गर्ने परम्परा रहेको नेपाली समाजमा कतिपय महत्त्वपूर्ण विषयसमेत लिखितंमा संरक्षण गरिराख्ने चलन प्राय: थिएन। आफूले देखेका, सुनेका, भोगेका,अनुभूत गरेका विषयहरू, कथाव्यथाहरू लेख्य रूपमा राख्दा एकको अनुभव र सिकाइ अरूका निमित्त ज्ञानको स्रोत हुन सक्दछ। यस अर्थमा आत्मपरक संस्मरण लेखनको ठूलो महत्त्व छ भन्न सकिन्छ।
खुसीको कुरा हालका वर्षहरूमा नेपाली साहित्याकाशमा संस्मरण लेखन एक लोकप्रिय विधाको रूपमा विकसित हुँदैछ। समाजमा आएको खुलापनले आफ्ना विगतका तितामिठा, राम्रानराम्रा घटनापरिघटनाहरू, अनुभव र अनुभूति, दृष्टिकोण र विचारहरू लेख्न सकिने सहज वातावरण बन्दै गएकोले सम्भवत: संस्मरण लेखन कार्यले तीव्रता पाएको छ। अहिले त पत्रकार, कलाकार, कर्मचारी, सैन्य अधिकारी, गायक, संगीतकार, चलचित्रकर्मी, राजनीतिज्ञ, सामाजसेवी आदिका आत्मपरक संस्मरणहरू लेखिने र प्रकाशन हुने क्रममा एक प्रकारको बाढी नै आएको जस्तो देखिन्छ। धेरै जस्तो यस्ता संस्मरण कृतिहरू आफूले लेख्ने नभई घोस्ट राइटर (गुमनाम लेखक)द्वारा लेखाउने चलन पनि बढेको छ।
दिनदिनै विमोचन हुने यस्ता आत्मपरक लेखन वा आत्म-संस्मरणहरूले नेपालको विभिन्न कालखण्डको वस्तुस्थिति, अवस्था र ईतिहास बुझ्न सघाउने गरेका छन् भने केही कृतिहरू भने ज्ञान बढाउनुको साटो केवल सम्बद्ध व्यक्तिका आत्म-प्रशंसा, अहं र अहंकार प्रदर्शन गर्ने साधन त बन्न पुगेको होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ।
यसै सन्दर्भमा साहित्य, संगीत, कला सम्बद्ध विभिन्न संस्थाहरू काठमाडौँको पूर्वी क्षेत्रमा पर्ने जोरपाटी, गोकर्ण, आरुबारी आदि क्षेत्रमा आआफ्नो विषयगत विधा प्रवर्धन गर्न सक्रिय रूपमा क्रियाशील छन्। हास्यव्यंग्यका क्षेत्रमा भैरव अर्याल पुरस्कार गुठी, साहित्यका विविध क्षेत्रमा रमेश विकल साहित्य प्रतिष्ठान, सुरभि साहित्य प्रतिष्ठान, साहित्य सदन आदि निरन्तर रूपमा सक्रिय छन्। जोरपाटीमा स्थापित अर्को संस्था अभिनव साहित्य समाज पुराना, नयाँ लेखक र सर्जकहरूलाई आबद्ध गर्दै साहित्यको श्रीवृद्धि गर्ने ठूलो दायित्व लिएर दुई दशकभन्दा बढी समय देखि क्रियाशील छ। जोरपाटीको बाहुनधाराबाट मासिक साहित्य रचनावाचनबाट सुरु भएको यो संस्था साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को सक्रियतामा स्थापना भएको हो। यसले नेपाली साहित्यलाई जनस्तरमा पुर्याउन महत्त्वपूर्ण योगदान गरिरहेको छ।
संस्थाका संस्थापक अध्यक्ष घिमिरे र उपाध्यक्ष समाजसेवी/कवि विमल अर्याललगायतका साहित्यकारहरूको सक्रिय नेतृत्वको फलस्वरूप यो संस्था निरन्तर रूपमा विविध साहित्य र कलासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न सफल हुँदै आएको छ। विविध साहित्यिक कृतिहरू प्रकाशन गर्ने, विभिन्न पुरस्कारहरू र सम्मान अर्पण गर्ने, विद्यालय वा नगरपालिका स्तरीय साहित्य/कला सम्बद्ध प्रतियोगितात्मक साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थामा हाल १४९ आजीवन सदस्य रहेको यो क्षेत्रकै एक नमुना साहित्यिक संस्था बनेको छ।
अभिनव साहित्य समाजले २०८० सालदेखि ‘अभिनवप्रभा’ नामक त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्न थालेको हो। साहित्यका विविध विधाहरू समावेश गरी प्रकाशन हुने गरेको ‘अभिनवप्रभा’ को वर्ष २, अंक ८ (वैशाख, जेठ, असार, २०८१) ‘नारी संस्मरण विशेष’ का रूपमा प्रकाशन भएको छ। कवि/लेखक परशुराम पराशरको सम्पादन रहेको यो अंकको संयोजन नारी साहित्यकार/कवि शारदा पराजुलीको छ। यो विशेषांक गोकर्णेश्वर नगरपालिकाको सहयोगमा चार चरणमा ‘महिला साहित्यिक जागरण अभियान’ सम्पन्न गरी पुरस्कृत भएका संस्मरणहरू संकलन गरी प्रकाशित गरिएको छ।
साहित्यमा सिर्जनारत नारी श्रष्ठाहरू लगायत शिक्षक, विद्यार्थी, गृहिणी र कर्मचारीको रचनाहरू यसमा समावेश गरिएका छन्। साहित्य, संगीत, कलाको समुचित विकास र सम्बर्द्वन गर्न सकिए मात्र राष्ट्रको सही मानेमा उन्नति हुने तथा विविध साहित्य, संस्कृति र सभ्यताको संरक्षण हुने भएकोले यस्ता सिर्जनात्मक क्रियाकलापहरूलाई प्रोत्साहन गर्ने कार्यमा संलग्न अभिनव साहित्य समाजका प्रयासहरू स्तुत्य छन्।
‘अभिनवप्रभा’ भित्र नियाँल्दा
अभिनवप्रभाको यो अंकले नेपाली समाजको हरेक क्षेत्रमा नारीहरूको स्थान क्रमिक रूपमा अग्रपंक्तिमा आउने क्रम बढ्दै गएको इंगित गर्दछ। शिक्षा, चेतना र जागरुकताले नारी पुरुषभन्दा कुनै पनि क्षेत्रमा कम छैनन् र आफ्नो कथाव्यथा निर्भीक भएर स्वयं लेख्न, सम्प्रेषण गर्न र बताउन सक्छन् भन्ने मान्यता स्थापित हुँदै जानु नेपाली समाजको विकासक्रमको सुखद पक्ष हो। यस अंकभित्रका संस्मरणबारे संक्षेपमा चर्चा गर्नु यो आलेखको उदेश्य हो।
भवानी खतिवडाको ‘म किन फर्किए’ नामक संस्मरणबाट यो संग्रहको सुरुवात भएको छ। एक ८ वर्षीय बालिकाको स्वैरकल्पनाजस्तो प्रतीत हुने संस्मरणले करिब ४०/४२ वर्ष अघिको नेपाली गाउँठाउँको यथार्थ अवस्था चित्रित गरेको छ। रोचक ढंगमा लेखिएको यो संस्मरणले बाल्यकालका दिनहरूमा सहजै पुर्याउन सक्दछ। मृत्युको मुखबाट फर्किन सफल लेखिकाको यो अनुभव कुनै आख्यान पढे जस्तो लाग्दछ। तत्कालीन नेपाली गाउँघरमा रहेको अन्धविश्वास र दयनीय स्वास्थ सेवाको अवस्था देखाउनुका साथै सन्तानको निमित्त आमाबाबुले गर्ने भगीरथ प्रयास पनि झल्किएको छ। शान्ति सापकोटाको ‘प्यासी सर मेरा भगवान्’ ले महिलामाथि हुने यौनहिंसा र शोषणको कथा भनेको छ।
महिलाले आफ्नो बाल्यकालमा पाएका यौनजन्य हिँसा र प्रताडनाबारे खुलेर बोल्न लेख्न सक्ने समाजको विकास हुँदै जानु आफैँमा तारिफयोग्य छ। यस प्रकारको खुलापनले अब महिला पनि आफूमाथिको अन्यायविरुद्ध कुनै पनि समय बोल्नेछन् भन्ने भएपश्चात् यस प्रकारका दुष्कर्ममा लागेका वा लाग्ने व्यक्तिहरूको मुखुण्डो मात्र उतार्दैन त्यस्ता कुत्सित मनसाय भएका पुरुषहरूलाई दुरुत्साहित पनि पार्न सक्दछ। यो स्मृति आलेख एक आमाबाबुविहीन टुहुरी बालिका र उनको आत्मसम्मानको संरक्षणमा साथ दिने आफ्ना गुरुप्रतिको एक भावपूर्ण स्मृति अर्पण पनि हो।
‘धन्न बाँचे म’ मा कवि शारदा पराजुलीले आफू ११/१२ वर्ष हुँदा नबुझी औषधि सेवन गर्दा झन्डै ज्यान गुमाएको परिघटना वर्णन गरेकी छन्। नेपालको पूर्वी सिमाना झापाजस्तो विकसित मानिने जिल्लामा समेत करिब ३० वर्षअघि स्वास्थ्य सेवाको कुनै राम्रो पहुँच नभएको देख्दा नेपाल कति पिछडिएको रहेछ भन्ने बोध हुन्छ। ज्वरोको बेहोसीमा समेत नौटिकेले तर्साएको प्रसंगले बालबालिकामा कसरी मनोवैज्ञानिक असर पर्दोरहेछ भन्ने बुझ्न पनि सघाउँछ।
शिक्षिकाहरूको संस्मरण
यस वर्गमा प्रथम स्थान प्राप्त ‘समय सिकार’ शिक्षिका रचना मोक्तान तामाङले आफू माओबादी लडाकु बन्नु पर्दाको अनुभव र अनुभूति संगालेकी छन्। पढाइमा होनहार विद्यार्थी ९ कक्षामा पढ्दै गर्दा माओवादी क्रियाकलापमा संलग्न हुनुपर्ने परिबन्दमा कसरी पर्न गइन् र २०५९ मा भूमिगत भएर सशस्त्र द्वन्द्वमा सामेल भइन् भन्ने वर्णन छ। शान्तिसम्झौतापछि पढ्नमा रुचि भएकी लेखिका सेनामा भर्ना हुनुको साटो पढाइ रोज्छिन् र आफ्नो अध्ययनमा क्रमिक रूपमा सफलता प्राप्त गर्दै शिक्षिकासम्म हुन् पुग्छिन्। यो रचनाले सशस्त्र द्वन्द्वबारे न्यूनतम ज्ञान नहुँदै कसरी किशोरकिशोरीहरू यसतर्फ तानिएका थिए भन्ने कुरा बोध गराउँछ।
निर्मला घिमिरे (सापकोटा) को ‘संघर्षपछिको सफल जीवन’ शीर्षकको संस्मरणले अनेक समस्याहरूसँग जुध्दै आफ्नो लक्ष्यमा लाग्नेले अवश्य सफलता पाउँछ भन्ने शिक्षा दिन्छ। द्वितीय स्थान प्राप्त यो आलेखले जिन्दगीमा कहिल्यै हार नखानु भन्ने सन्देश पनि प्रवाहित गर्दछ। पढ्न नदिने वातावरण भएको घरमा विवाह गरेर गएपछि पढाइको निमित्त गरिएको संघर्षको गाथा हो यो। महिलाले घरको काम गर्न किन पढ्नुपर्छ र भन्ने पुरातन मान्यता भत्काएर शिक्षाका माध्यमबाट आफूलाई समाजमा स्थापित गर्न महिला सक्दछन् भन्ने देखाएको छ।
‘लामो यात्राले सिकाएको पाठ’ शीर्षकमा लेखिका लक्ष्मी बस्नेतले आफ्नो बाल्यकालमा आमासँग खोटाङको अनकन्टार ठाउँमा यात्रा गर्दा समयको ख्याल नगर्दा नदीको बगरमा रात बिताउनुपरेको आमा र छोरीको रोमाञ्चक र ज्ञानवर्धक यात्रा वर्णन गरेकी छन् भने अमृता खरेलले ‘अमिलो बालापन’ संस्मरणमा पिताको छत्रछाया गुमाएकी एक टुहुरी बालिकामाथि समाजले गर्ने निष्ठुरी व्यवहारले कलिलो मनमस्तिष्कलाई छियाछिया पारेको यथार्थ मार्मिक ढंगमा अभिव्यक्त भएको छ। त्यस्तै प्रेरणा खालिङ राईको संस्मरण ‘पढाइको महत्त्व’ ले पढ्ने र पढाउने हुटहुटी र इख भएपछि मान्छेले जस्तोसुकै समस्या भए पनि आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ र बाधाअड्चनसँग डराएर होइन जुधेर निरन्तर लागिपरिरहे आफ्नो लक्ष्य प्राप्त गर्न सम्भव हुन्छ भन्ने सन्देश दिएको छ।
विद्यार्थीहरूको संस्मरण
‘अँध्यारोले खोसेको मेरो उज्यालो’ मा मनीषा सुनुवारले ‘बहिनी’ भनेर सम्बोधन गर्ने ‘दाजु’ जस्तो रूपमा आएको पुरुषले गरेको यौन दुर्व्यवहारले पुरुष प्रतिको उनको विश्वास कसरी कुण्ठित हुन पुग्यो भन्ने आफ्नो पीडा पोखेकी छन्। अबोध बालिकाकिशोरीहरूमाथि हुने यौनशोषण र बलात्कारका अनगिन्ती मुद्दाहरू आज पनि नेपाली समाजमा छन्। यो संस्मरणले समाजको त्यो कुरूप चित्र खुलस्त पारिदिएको छ। आफूमाथि भएको अत्याचारबारे नडराई बोल्दा धेरै पीडितलाई हौसला मिल्दछ भने पीडक यस प्रकारको खुलापनबाट दुरुत्साहित हुन सक्छन्।
दीपशिखा राई ‘मैले भोगेको बालापन’ मा छोरा नजन्मेको कारणले बाबुले छोरीमाथि क्रोध र घृणा पोख्ने परम्परा र संस्कार बोकेको समाजका यावत् पीडा र संघर्ष व्यहोरेको एक बालिकाको हृदयविदारक एवं प्रेरणात्मक स्मृति आलेख प्रस्तुत गर्दछिन् भने स्नेहा कार्कीको ‘आमा बुबाको बिछोड’ संस्मरणमा आमाबाबुको सम्बन्धमा आउने खटपट र वैदेशिक रोजगारी, कुलत आदिले ल्याएको समस्यालाई एक ७ वर्षीया बालिकाले कसरी व्यहोरिन् भन्ने कारुणिक वर्णन गरिएको छ।
‘हारपछिको जित’ नामक संस्मरणमा पूर्णकुमारी सुनुवारले आफू २०७७ मा कक्षा ६ मा पढ्दाको अनुभव अभिव्यक्त गरेकी छन्। इन्टरनेट, टीभी आदिले ल्याएको परिवर्तनले समाजका साना बालबालिकामा कुन प्रकारको मनोवैज्ञानिक असर पर्दो रहेछ भन्ने अनुभूत गराउँछ। किशोर वयमा कसैप्रति आकर्षण हुनु स्वाभाविक हो। अध्ययन गर्दै गरेकी बालिकालाई प्रेमरोगले अनायास कसरी च्याप्दछ र आफूले मन पराएको मान्छेले आफूलाई कस्तो रूपमा लिएको छ भन्ने ज्ञात भएपछि मानसिक रूपमा परेको आघात र त्यसले अध्ययनमा समेत पारेको असरबाट मुक्त हुन लेखिकाले गरेको प्रयास र अठोट प्रशंसनीय छ। श्रेया खत्रीले ‘दिदी भएको पहिलो अनुभव’ शीर्षकमा दिदीभाइबीचको आपसी स्नेह र मायाका विषयमा मर्मस्पर्शी संस्मरण लेखेकी छन्।
गृहिणीहरूको संस्मरण
गृहिणीहरूमध्येका सर्जकमा प्रथम पुरस्कार प्राप्त ‘जिउँदो मृत्यु’ मा सर्वानन्द सरस्वती सानो हेल्चेक्र्याइँले जीवन कसरी बरबादसरह हुन पुग्दछ भन्ने दृष्टान्त अभिव्यक्त गर्दछिन्। यसमा सद्दे मान्छे सानो गल्तीबाट दृष्टिविहीन हुन पुगेको अवस्थाको वर्णन छ।
मीना तामाङको ‘समाजमा हुने हिंसामा आमाको भूमिका’ संस्मरणमा एक १३/१४ वर्षकी किशोरीको यौन हिंसामा पर्दाको पीडा मात्र झल्किएको छैन किशोर अवस्थामा भएको यौनहिंसाविरुद्ध आवाज उठाएर छोरीको न्यायको निमित्त डटेर समाजमा आवाज उठाउने आमाको साहसिलो कदमको चित्रण भएको छ। गृहिणीहरूमध्ये द्वितीय पुरस्कार प्राप्त यो संस्मरण नारी शक्तिको सशक्त आवाज बनेको देखिन्छ। शीर्षक ‘समाजमा हुने हिंसाविरुद्ध आमाको भूमिका’हुन उपयुक्त देखिन्छ।
‘मिठो सुन्तलामा हराएकी म’ मा इन्दु सञ्जेलले आफू ६ वर्षको हुँदा बजारबाट घर फर्कने क्रममा बाटो हराएको अवस्थाको मनस्थिति र मनोविज्ञान तथा एक अञ्जान मानिसले गरेको सहयोगबाट फेरि बजारसम्म आई दाजुसँग भएको भेटको वर्णन रोचक ढंगबाट गरेकी छन्।
‘पपुवा न्युगिनीले दिएको उपहार’ मा विदेशी भूमिमा अरुको न्यायप्राप्तिको लडाइँमा होमिने साहस र सामर्थ्य भएको नेपालकी छोरीको साहसिक संस्मरण पाउन सकिन्छ। यसले ‘लडाइँको मैदानमा उत्रिसकेपछि युद्धभूमिबाट भाग्न हुँदैन’ भन्ने शिक्षा दिएको छ। लक्ष्मी थापा मगरको ‘मेरो बुबाको सम्झना’ ले छोरीले बुबाको किरियाकर्मसमेत गरेको र परिवारको धरोहर बनेको मार्मिक स्मृति प्रस्तुत गरेको छ।
कर्मचारीहरूको संस्मरण
महिला कर्मचारीतर्फ प्रथम स्थान प्राप्त संस्मरण ‘छापामार लिखी’ चन्द्रप्रभा उपाध्यायले लेखेकी छन्। नेपालमा चलेको १० बर्से सशस्त्र द्वन्द्वमा कति निर्दोष युवायुवतीको ज्यान गुमाउनुपर्यो भनिसाध्य छैन। सामान्य घरायसी काम गरेर बसिरहेकी कम्लरी लिखीहरूजस्ता किशोरकिशोरी कसरी यो द्वन्द्वमा फसे र मृत्युवरण गर्न पुगे भन्ने यथार्थ चित्रण यसमा छ। नेपालको पश्चिम क्षेत्रमा विद्यमान कम्लरी प्रथाको जानकारी दिँदै एक किशोरीले अर्को किशोरीप्रति दर्शाएको स्नेहले जात र वर्गको सीमारेखा पार गरेको एक मार्मिक संस्मरण हो यो।
जानकी अर्यालको संस्मरण ‘गलगाँड’ले समयमा आयोडिनयुक्त नुन खान नपाएका कारण गलगाँडबाट ग्रसित एक महिलाको मनोविज्ञान चित्रित गरेको छ। गलगाँड भएका महिलाप्रतिको दृष्टिकोण किन घृणा मिश्रित हुन पुग्दछ? उनको विवशातामा मानिसहरू किन सहानुभूतिको सट्टा हेय दृष्टि राख्छन् भन्ने मानिवीय प्रश्नहरू उठाइएका छन्। जीवनमा आफूले पाएजस्तो दु:ख अरूले नपाऊन् भन्ने पवित्र मनसायले आफ्नो शारीरिक अवस्थाको वर्णन गरेर संस्मरणका रूपमा आलेख प्रकाश गर्नु पनि एक साहसिक काम हो।
गोकर्णेश्वर नगरपालिकाकी जनप्रतिनिधि कमला नेपालीले आफ्नो ‘कालो दिन’ शीर्षकको संस्मरणमा दसैँको रमझमका बीच आफ्नो पिताको असामयिक ढंगबाट भएको निधन हुँदाको क्षणको वर्णन गरेकी छिन्। कोभिडको महामारीमा अस्पतालमा बेड पाउनेदेखि उपचार गराउन परेको कठिनाइ असंख्य हुन पुगेको थियो। त्यस जटिल परिस्थितिमा जुध्दै पिताको उपचार को क्रममा निधन हुन पुग्दा छोरी र परिवारमा परेको चोट अवर्णनीय नै हुन्छ।
अन्य दुई संस्मरणहरू प्रजु थापाको ‘प्रियजनको बिदाइ’ र मीनाकुमारी गुरुङको ‘गरिबको घरमा खोज्दै गरेको भगवान्’ रहेका छन्। आफ्नो हजुरआमाको निधन र त्यसले ल्याएको परिवर्तनको साक्षी भएकी नातिनीको हजुरआमा प्रतिको श्रद्धाञ्जली लाग्ने संस्मरणले सबैलाई आदर सत्कार स्नेह गर्ने व्यक्ति नै सधैँ मानिसबीच बाँच्दछ भन्ने सन्देश दिन्छ। सबैको ‘प्रिय हुन नाता होइन व्यवहार चाहिने रहेछ’ भन्ने बोध लेखिकाले गरेको देखिन्छ। मीनाकुमारी गुरुङको संस्मरणले गरिबी, अभाव र अशक्त परिवारमा जन्म भएको अवस्था चिर्दै एक महिला सक्षम बन्न सक्दछिन् भन्ने बोध गराउँछ। गरीबी, अभाव र पीडाविरुद्धको यो अदम्य साहस र संघर्षको गाथाले धेरै असहाय र निराश मानिसहरूलाई प्रेरणा दिन्छ।
उपसंहार
सृष्टिको अर्को नाम नारी हो। नारीबिना यो संसार असम्भव छ। नारीहरू जैविक सृष्टिमा मात्र होइन सिर्जनात्मक लेखनमा पनि अब्बल हुन्छन्। उनीहरूलाई अवसर, स्थान र उपाय उपलब्ध हुने हो भने साहित्य, संगीत र कला क्षेत्रमा पनि उनीहरूको उपस्थिति बेजोड हुनेमा कुनै शंकै छैन। नर र नारीको संयुक्त योगदानबाट मानव समाज अगाडि बढ्ने कुरामा दुईमत नहोला। जब नरनारी दुवै सक्षम र सबल हुन्छन् अन्ततोगत्वा समाज, संकृति र सभ्यताको वास्तविक प्रवर्धन र विकास हुने हो।
यसर्थ, अभिनव साहित्य समाजले नेपाली नारीहरूलाई आफ्ना मनका कुरा स्मृतिका रूपमा लेख्न लगाएर समाजमा उनीहरूको सिर्जनात्मक पहलकदमीलाई बढावा दिने, उनीहरूको आवाज मुखरित गर्न मञ्च प्रदान गर्ने र नारी हस्ताक्षरको पहिचान स्थापित गर्ने जुन किसिमको अहम् भूमिका आफ्नो नियमित प्रकाशन अभिनवप्रभाको ‘नारी संस्मरण विशेष’बाट गरेको छ यो कार्यको जति सराहना गरे पनि कम हुन्छ।
वर्तमान नारी लेखनलाई प्रतिबिम्बित गर्ने यो अंकजस्ता अन्य विशेष अंकहरू भविष्यमा पनि अभिनव साहित्य समाजले प्रकाशित गर्ने अभियानलाई निरन्तरता दिँदै नेपाली साहित्य, समाज र संस्कृतिको थप श्रीवृद्धिमा योगदान दिनेछ भन्नेमा विश्वस्त हुँदै यो आलेख अन्त्य गर्दछु।अस्तु!
कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक जर्मनीका लागि नेपालका पूर्वराजदूत हुन्।