कृतिमा आधारित फिल्म कति सफल, कति असफल?

सुस्मिता बजगाईं ५ साउन २०८१ २०:२९
106
SHARES
कृतिमा आधारित फिल्म कति सफल, कति असफल?

काठमाडौँ– कथावाचक साइग्रेस पोख्रेलले केही समयअघि कोरियोग्राफर शिशिर खातीले निर्देशनमा आफ्नो श्रव्य–कथा ‘अधुरो प्रेम’मा फिल्म बनाउने घोषणा गरे।

दुई वर्षअघि भीमनिधि तिवारीको कथामा आधारित रहेर निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ’ फिल्म बनाए। फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका थिए। देवरानी र जेठानीबीचको झिँगेदाउ खेलले परिवारमा निम्तिएको कलहमा आधारित फिल्मले राम्रो प्रतिक्रिया पायो। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले तीन करोड ४१ लाख ग्रस कलेक्सन गरेको थियो।

नेपाली इतिहास पल्टाउने हो भने प्रारम्भिक चरणमा थुप्रै साहित्यिक कृतिमा फिल्म बनेको छ। तीमध्ये थोरैले मात्र व्यावसायिक सफलता पाएका छन्। पाठकको मस्तिष्कमा कृति पढेर बस्न सफल छापलाई कतिपय फिल्मले भत्काउन सके भने कतिपयलाई छुन पनि नसकेको समीक्षकहरु बताउँछन्। अब साइग्रेसको कथामा बन्ने फिल्मले सफलता पाउँछ पाउँदैन त्यो भन्न सकिन्न।

त्यसो त फिल्मको इतिहास पनि त्यति लामो छैन। नेपाली पहिलो फिल्म २००७ सालमा प्रदर्शन भएको ‘सत्य हरिशचन्द्र’ हो। यो फिल्म भारतमा बनेको थियो। नेपालमा पहिलो पटक २०२२ सालमा ‘आमा’ फिल्म बन्यो। दुर्गाप्रसाद श्रेष्ठको कथा रहेको फिल्मको निर्देशन बीएस थापा र हीरासिंह खत्रीले गरेका थिए। त्यसपछि ‘माइतीघर’, ‘परिवर्तन’, ‘हिजो आजका कुरा’ प्रदर्शनमा आए।

हालसम्म कृतिमा आधारित कति फिल्म बने त?

२०२७ सालदेखि नेपाली साहित्यले फिल्मको पर्दामा स्थान पायो। नेपालमा बनेको तेस्रो र नेपाली चौथो फिल्म ‘परिवर्तन’ जुन जनार्दन समको ‘चेतना’ नाटकमा आधारित छ। यसै फिल्मबाट नेपालको पहिलो छायाकार स्व. वैकुण्ठ पाण्डेको जन्म भएको थियो। फिल्म राष्ट्रप्रेमसँग सम्बन्धित थियो। त्यसयता दुई दर्जनभन्दा बढी साहित्यिक कृतिमा आधारित फिल्म बनेका छन्।

कृतिमा आधारित सफल फिल्ममा ‘परालको आगो’, ‘झोला’, बासुदेव, ‘सेतो बाघ’, ‘प्रेमपिण्ड’, ‘झिँगेदाउ’ लगायत पर्दछन् भने बाँकी पटकथाका आधारमा असफल मानिन्छन्।

कुन फिल्म कहिले?

परिवर्तन

साहित्य कृतिमा बनेको पहिलो फिल्म हो ‘परिवर्तन’। यो जनार्दन समको ‘चेतना’ नाटकमा आधारित छ। फिल्म हीरासिंह खत्रीले निर्देशन गरेका हुन्। यो फिल्म २०२७ सालमा प्रदर्शन भयो।
पञ्चायती व्यवस्थाको विषयमा बनेको फिल्ममा कलाकार मित्रलाल शर्मा, यज्ञनाथ घिमिरे, सुष्मा शाही र रीता थापा मुख्य भूमिकामा छन् भने अन्य कलाकार हरिप्रसाद रिमाल, रामलाल जोशी, नीर शाहलगायतको अभिनय छ।

कुमारी

२०३४ सालमा प्रदर्शन भएको फिल्म ‘कुमारी’ साहित्यकार विजय मल्लको उपन्यास ‘कुमारी शोभा’मा आधारित छ। यो साहित्यिक कृतिमा बनेको दोस्रो फिल्म हो। ‘कुमारी’ शाही नेपाली चलचित्र संस्थान (२०२८)को स्थापनापछि बनेको नेपालको पहिलो रंगीन फिल्म हो। फिल्म नेवारी समुदायमा देवीका रुपमा लिइने कुमारीको कथामा आधारित छ।

प्रेमबहादुर बस्नेतले निर्देशन गरेको फिल्ममा चैत्यदेवी सिंह र सल्यान केसी मुख्य भूमिकामा छन् भने अन्य कलाकार गौतमरत्न तुलाधर, आनन्द थापा, लक्ष्मी श्रेष्ठलगायत छन्।

परालको आगो

२०३४ सालमै प्रदर्शन भएको अर्को फिल्म ‘परालको आगो’ कथाकार गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ मा आधारित छ। फिल्ममा पतिपत्नीको क्षणिक आवेगबाट उत्पन्न समस्या र त्यसको समाधानलाई समेटिएको छ।

प्रताप सुब्बाको पटकथा र निर्देशनमा बनेको फिल्ममा बसुन्धरा भुसाल, टंक शर्मा, सुस्मिता ढकाल, मेनुका प्रधानलगायत कलाकारले अभिनय गरेका छन्। यो फिल्म व्यावसायिक रुपमा सफल मानिन्छ।

सिन्दूर

२०३६ सालमा प्रदर्शन भएको ‘सिन्दूर’ साहित्यिक कृतिमा आधारित अर्को फिल्म हो। फिल्म साहित्यकार दौलतविक्रम विष्टको ‘बादल फेरि फाट्छ’ कथामा आधारित छ। सिन्दूर नेपालको दोस्रो रंगीन फिल्म हो। प्रकाश थापाले निर्देशन गरेको फिल्मका पटकथाकार चेतन कार्की हुन्।

फिल्ममा कलाकार विश्व बस्नेत, मीनाक्षी आनन्द, गोपालराज मैनाली, वसुन्धरा भुसाल, हरिप्रसाद रिमाल, प्रदीप रिमाल, हरिवंश आचार्य, हरिहर शर्मा, नीर शाह, शान्ति मास्केलगायतको अभिनय छ।
काठमाडौँ उपत्यकाका विभिन्न हलहरूमा लामो समय (५२ हप्ता) सम्म चलेको यो पहिलो फिल्म हो।

वासुदेव

फिल्म ‘वासुदेव’ ध्रुवचन्द्र गौतमको उपन्यास ‘कट्टेल सरको चोटपटक’ मा आधारित छ। फिल्म नीर शाहले निर्देशन गरेका हुन्। २०४१ सालमा प्रदर्शन भएको फिल्ममा निर्देशक शाहसहित हरिहर शर्मा, कृष्ण मल्ला, शर्मिला मल्ल, सुभद्रा अधिकारीलगायत कलाकारको अभिनय छ।

लोभी पापी

वासु शशिको ‘नगद नारायण’ कृतिमा बनेको फिल्म हो ‘लोभीपापी’। फिल्मका निर्देशक, पटकथाकार, गीतकार यादव खरेल हुन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन केसी, गौरी मल्ल, कृश्टि मैनाली राजपाल थापा, राजाराम पौडेल, लक्ष्मी गिरीलगायत कलाकारले अभिनय गरेका छन्। फिल्मले भने सोचेअनुरुप सफलता पाउन सकेन्। फिल्म २०४७ सालमा प्रदर्शन भएको थियो।

प्रेमपिण्ड

फिल्म ‘प्रेमपिण्ड’ बालकृष्ण समको चर्चित नाट्यकृति प्रेमपिण्डमा आधारित छ। फिल्मका निर्देशक यादव खरेल हुन्। २०५२ सालमा प्रदर्शन भएको फिल्ममा राणा शासनका जर्नेलको कथा प्रस्तुत गरिएको छ। फिल्ममा नीर शाह, सरोज खनाल, सनी रौनियार, हरिहर शर्मालगायत कलाकारको अभिनय छ।

वसन्ती

फिल्म वसन्ती डायमनशमशेर राणाको उपन्यास ‘वसन्ती’ मा आधारित छ। नीर शाहले कृतिकै नामबाट फिल्म निर्देशन गरे। फिल्ममा गौरी मल्ल, करिस्मा मानन्धर, राजेश हमाल मुख्य भूमिकामा छन्। ‘वसन्ती’ राजा राजेन्द्रविक्रमकी कान्छी पत्नी र चौतरिया गगनसिंहको सम्बन्ध र कोतपर्वको कथामा आधारित छ। फिल्ममा राजेश हमाल गगनसिंहको भूमिकामा छन् भने करिस्मा राजेन्द्रविक्रमकी कान्छी पत्नीको भूमिकामा छिन्। यो फिल्म २०५७ सालमा प्रदर्शन भएको थियो।

मुनामदन

लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य ‘मुनामदन’ मा आधारित फिल्म २०६९ सालमा प्रदर्शन भयो। फिल्मका निर्माता नवराज ढकाल हुन्। फिल्मको निर्देशन ज्ञानेन्द्र देउजाले गरेका हुन्। फिल्ममा अभिनेत्री उषा पौडेल मुना र अभिनेता दीपक त्रिपाठी मदन बनेका छन्। अन्य कलाकार नीर शाह, विजय लामा, सुभद्रा अधिकारी फिल्ममा सनी रौनियार, सरोज खनाल, नीर शाह लगायको अभिनय छ।

झोला

सतीप्रथामा आधारित फिल्म ‘झोला’ चर्चित फिल्म हो। यो कृष्ण धरावासीको ‘झोला’ कथामा आधारित छ। गरिमा पन्तको मुख्य भूमिका रहेको फिल्ममा पतिको मृत्युपछि पत्नी सती जानुपर्ने तत्कालीन पुरुषप्रधान नेपाली समाजको चित्रण गरिएको छ। फिल्म यादवकुमार भट्टराईले निर्देशन गरेका हुन्।

अभिनेत्री गरिमाले यसै फिल्ममार्फत दक्षिण एसियाली फिल्म पुरस्कारसमेत जितेकी थिइन्। फिल्म २०७० सालमा प्रदर्शन भएको थियो।

सेतो बाघ

फिल्म ‘सेतो बाघ’ डायमनशमशेर राणाको सेतो बाघमा आधारित छ। फिल्म नीर शाहले निर्देशन गरेका हुन्। सेतो बाघमा गगनसिंहको पतनपछि नेपाली शासनको बागडोर सम्हालेका जंगबहादुर र उनका छोरा जगतजंगको कथामा आधारित छ।

‘सेतो बाघ’मा जंगबहादुरको शासनकालपछि श्री ३ हुन राणाभाइहरूबीच गरिएको षड्यन्त्रको कथा, प्रेम र दुस्मनीका कहानी छ। यो कृतिले मदन पुरस्कार पाएको थियो। फिल्म भने २०७१ सालमा प्रदर्शन भएको थियो।

तीन घुम्ती

फिल्म ‘तीन घुम्ती’ साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको मनोवैज्ञानिक उपन्यास ‘तीन घुम्ती’मा आधारित छ। फिल्म बाबुराम ढकालले निर्देशन गरेका हुन्। यसमा सामीप्य तिमिल्सिनाको पटकथा तथा संवाद छ। यसको कथा नारीको जीवनमा आइपर्ने तीन मोड प्रेमिका, पत्नी र आमाको भूमिकालाई प्रस्तुत गरिएको छ। यो कृतिमा आधारत सफल फिल्ममा पर्छ।

फिल्ममा गरिमा पन्तले मुख्य भूमिकामा अभियन गरेकी छन्। अन्य कलाकार ध्रुव दत्त, सुशान्त कार्की, लक्ष्मी गिरी, मोहनदास श्रेष्ठ, भुवन चन्दलगायत छन्। फिल्म २०७३ सालमा प्रदर्शन भएको थियो।

समर लभ

२०७५ सालमा प्रदर्शन भएको फिल्म ‘समर लभ’ सुविन भट्टराईको उपन्यासमा आधारित छ। यो उपन्यास २०६९ सालमा प्रकाशन भएको थियो। अन्तरजातीय प्रेमकथामा आधारित फिल्म मुस्कान ढकालले निर्देशन गरेका हुन्।

फिल्मको पटकथा सामीप्यराज तिमल्सिनाले लेखेका हुन्। फिल्ममा आशिष पिया र रेवती क्षेत्री मुख्य भूमिकामा छन्। उनीहरुले यही फिल्मबाट डेब्यू पनि गरे। तर फिल्म भने दर्शकले रुचाएनन्।

जीवन काँडा कि फूल

झमक घिमिरेको कथामा आधारित फिल्म हो ‘जीवन काँडा कि फूल’। यो उपन्यास निकै चर्चित छ। नवपुस्तामा पनि यो पुस्तक प्रेरणाको स्रोत बन्न पुगेको छ। साहित्यकार घिमिरेको जीवनकथा समेटिएको कृतिलाई मुक्ति उपाध्यायले पटकथा लेखे र फिल्मका लागि संवाद तयार पारे।

फिल्ममा साहित्यकार घिमिरेले अपांगता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिरस्कारको विषय प्रस्तुत गरिएको छ। फिल्मले भने कृतिको मर्मलाई न्याय दिन सकेन।

विनोद बिष्टको निर्देशनमा बनेको फिल्ममा निर्देशक बिष्टले नै लगानी गरे। फिल्ममा रोजिता बुद्धाचार्य, सारिका घिमिरे, किशन सुनार, उमा गिरी, स्वीकृति शर्मा, टीका सुवेदीलगायत कलाकारको अभिनय छ।

‘झिँगेदाउ’

भीमनिधि तिवारीको कथाकै नाममा आधारित फिल्म ‘झिँगेदाउ’ २०७९ सालमा प्रदर्शन भएको थियो। निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ’ बनाए। फिल्मको पटकथा भने प्रदीप भारद्वाजले लेखेका थिए।
झिँगेदाउ खेलले परिवारमा निम्तिने कलहको कथामा आधारित फिल्ममा देवरानी र जेठानीबीचको भएको झिँगेदाउ खेलले परिवारमा निम्तिएको कलहमा आधारित फिल्मले राम्रो प्रतिक्रिया पायो।

चलचित्र विकास बोर्डको तत्थ्यांकअनुसार फिल्मले तीन करोड ४१ लाख ग्रस कलेक्सन पनि गर्न सफल भयो।

अविरल बग्दछ इन्द्रावती

यो रमेश विकलको उपन्यासमा ‘अविरल बग्दछ इन्द्रावती’ मा आधारित टेलिसिरियल हो। जुन नेपाल टेलिभिजनमार्फत सार्वजनिक गरिएको थियो। सिरियलमा २०३८÷४० सालतिर इन्द्रवती नदीको आसपासमा बसोबास गर्ने माझी र दनुवार समुदायले भोगेको पीडालाई प्रस्तुत गरिएको छ।

बद्री अधिकारीको पटकथा लेखन, संवाद र निर्देशनमा बनेको टेलिफिल्ममा विष्णुभक्त फुयाल, रुद्रराज पाण्डे, भिमबरसिंह थापा, लोकमणि सापकोटा, वसुन्धरा भुसाल, रवी गिरी, दीपाश्री निरौलालगायत कलाकारले अभिनय गरेका छन्।

यसबाहेक लिलबहादुर क्षेत्रीको उपन्यास ‘बसाइँ’, मोदनाथ प्रश्रितको ‘सपनाहरू देशलाई’ मा आधारित ‘बलिदान’, केशवराज पिँडालीको उपन्यास ‘अन्त्यदेखि सुरु’मा आधारित ‘जीवनरेखा’, नीर शाहको निर्देशनमा बनेको गोपालप्रसाद रिमालको कृति ‘मसान’, पारिजातको उपन्यास ‘शिरीषको फूल’मा आधारित फिल्म बने। पटकथा र व्यावसायिक रूपमा यी असफल ठहरिएका छन्।

प्रकाशित: ५ साउन २०८१ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =