विश्वभरका कम्प्युटर सेवा प्रभावित

हिमाल प्रेस ४ साउन २०८१ १५:२२
154
SHARES
विश्वभरका कम्प्युटर सेवा प्रभावित आफ्नो सिस्टममा समस्या आएपछि भारतीय एयरलाइन्स इन्डिगोले जारी गरेको हस्तलिखित बोर्डिङ पास। तस्बिर स्रोत : सामाजिक सञ्जाल

काठमाडौँ– विश्वभरका टेलिभिजन च्यानल, एयरपोर्ट र बैंकहरूमा ठूलो आईटी समस्या देखा परेको छ। जसका कारण विन्डोज कम्प्युटरहरू अचानक बन्द भएका छन्। न्युयोर्क टाइम्सले साइबर सुरक्षा इन्जिनियरहरूलाई उधृत गर्दै क्राउडस्ट्राइकको सफ्टवेयरमा समस्या देखिएपछि विश्वभरका कम्प्युटरमा एकैपटक प्रभावित भएको  जनाएको छ।

यसबाट हजारौँ कम्प्युटर अचानक बन्द भएका छन्, जसले विश्वव्यापी रूपमा व्यापार, यातायात व्यवस्थापन र टीभी प्रसारणमा असर पारेको छ। संसारका धेरै एयरलाइन्स कम्पनीले विमान उडान स्थगित गरेका छन्। कैयौँ उडानमा विलम्ब भएको छ। विन्डोजमा समस्या आएपछि इन्टरनेट प्रणालीमा पनि असर देखिएको छ।

इन्टरनेट अवरुद्ध भएपछि बेलायतको स्काई न्युजको ‘ब्रेकफास्ट सो’ बन्द गरिएको थियो। त्यसपछि विश्वभरका सुपरमार्केट, एयरपोर्ट, बैंक, रेल्वेसेवामा पनि यस्तो समस्या देखिएको छ।

सुरुमा यो समस्या शुक्रबार बिहान बेलायतमा देखिएको थियो। प्रयोगकर्ताहरूले आफ्ना कम्प्युटरमा ‘नीलो स्क्रिन’ देखाउँदै र रिकभरी मोडमा प्रवेश गरेको देखेका थिए। क्राउडस्ट्राइकले विज्ञप्ति जारी गर्दै फाल्कन सेन्सरसहितको विन्डोज सिस्टममा समस्या आएको विषयमा जानकार रहेको जनाएको छ। फाल्कन सेन्सर अमेरिकी कम्पनी क्राउडस्ट्राइकको उत्पादन हो।

प्रकाशित: ४ साउन २०८१ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =