माधव सापकोटा : नयाँ तर प्रभावशाली

किरण पौडेल ४ साउन २०८१ २१:२८
1.7k
SHARES
माधव सापकोटा : नयाँ तर प्रभावशाली

काठमाडौँ- ‘गिरीबन्धुको कालो धब्बाले धपक्कै धपिएर, बेचन झाले बेचैन बनाएर भागदौड मच्चाएकाहरूले हामीलाई नैतिकताको पाठ सिकाउने?’ असार २३ गते माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ ले विपक्षीलाई दिएको जबाफ हो यो। कांग्रेस-एमालेले त्यतिबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नैतिकता भए राजीनामा दिन भनेपछि सत्तारुढ बेन्चबाट प्रचण्डलाई ढाडस दिँदै सापकोटाले यस्तो अभिव्यक्ति दिएका थिए।

सापकोटा त्यतिमै सीमित भएनन्। आफूहरूले सदनबाटै विपक्षीको सामना गर्ने बताए। उनले भने, ‘डुंगा प्वाल पर्नेबित्तिकै त मुसा भाग्छ, बहादुरहरूले त सामना गर्छन्।’ सापकोटाले यस्तो जबाफ फर्काउँदा समर्थनमा सत्तारुढ सांसदले ताली पिटेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली मुछिएको गिरीबन्धु र कांग्रेसका शीर्ष नेता जोडिएको भुटानी शरणार्थी (बेचन झा) को प्रसंग निकालेर सापकोटा दुई दलमाथि खनिएका थिए। उनको भनाइमा ठूला भ्रष्टाचारका फाइल खोलिने डरले कांग्रेस-एमाले मिलेको प्रस्ट थियो।

प्रचण्डमाथि विपक्षी सांसदले औँला उठाउँदा माओवादीबाट प्रतिकारमा उत्रने सम्भवतः एक्ला सांसद हुन् सापकोटा। माओवादी केन्द्रबाट ३२ जना सांसद रहे पनि सदनमा सापकोटाको तुलनामा अन्य सांसद छायामा पर्छन्। नेतृत्वलाई जोगाउन मात्रै होइन, मुलुकका समसामयिक विषय र आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक १ का समस्या प्रस्तुत गर्न पनि उनी प्रायः अघि सर्छन्। उनी २०७९ को आमनिर्वाचनमा पहिलोपटक निर्वाचित भएका हुन्।

एक वर्षअघि एमाले सचिव योगेश भट्टराईले ‘जनयुद्ध’ को विरोध गर्दा सापकोटाले बीपीको आत्मकथा पढेर कुरा बुझ्न अनुरोध गरेका थिए। प्रतिनिधिसभामा २७५ सांसद् छन्, जसमध्ये औलामा गन्न सकिने मात्र आवाजका कारण चिनिएका छन्। त्यसमध्येका एक सांसद हुन्, सापकोटा। ‘प्रतिनिधिसभामा चार चरणमा बोल्न पाइन्छ। यसमा पालो कुर्दा तीन/चारदिनमा एकजनाको पालो आउँछ,’ सापकोटा भन्छन्, ‘आवश्यकताअनुसार बोलिरहन पाइन्छ।’

सदनमा मात्र होइन, सापकोटा सञ्चारमाध्यममा पनि उस्तै छाएका छन्। उनी माओवादीको पक्षमा र अहिले समसामयिक विषयमा कुरा राख्न सञ्चारमाध्यममा पुगेका हुन्।
तथ्य अनि सम्बोधन

बोल्नुअघि सम्बन्धित विषयको गहिराइमा पुगेर अध्ययन गर्छन्। विज्ञहरूसँग जानकारी लिन्छन्। विषयमाथि कडा शब्दमा जबाफ दिन सक्छन्। यही कारणले उनी माओवादीको प्राथमिकतामा परेका छन्।
सदनको आकस्मिक समयमा होस् वा शून्य समयमा उनी खरो रूपमा प्रस्तुत हुन्छन्। विषयवस्तुको चुरोसम्म पुगेर तार्किक अभिव्यक्ति दिन्छन्। विवादित विषयमा तिखो प्रश्न गर्छन्।

संसद्‌मा प्रस्तुत हुँदा सधैँ एकै किसिमको तयारीले नपुग्ने सापकोटा बताउँछन्। कहिले त बिनातयारी बोल्नुपरेको उनको अनुभव छ। ‘नियमापत्तिमा त तयारी गर्न भ्याइँदैन। अरू बेलाचाहिँ अध्ययन गर्छु। विज्ञसँग छलफल गरेर मात्रै बोल्छु’, सापकोटा भन्छन्।

तथ्यपरक कुरा उठाउन उनले पुस्तक र पत्रपत्रिका पढ्ने गरेका छन्। सापकोटा सदनमा उठाउने कुरामा साथीभाइसँग राय लिने गरेको पनि बताउँछन्। ‘भाषणमा तथ्य लगाउन मनपर्छ। त्यही कारण यताउता खोजी गर्ने गरेको छु,’ सुबोध भन्छन्, ‘सबै विषय त जानिएको हुँदैन। मुख्य कुरा जानेर नै बोल्छु।’

सापकोटा आफूले भारतीय र बेलायती शासन व्यवस्थाको विशेष अध्ययन गरेको बताउँछन्। २०६२/६३ पछि उनी अन्तर्राष्ट्रिय कानुनको स्वाध्ययनमा लागेको उनको भनाइ छ। यस्ता विषयले अभिव्यक्तिमा निखारता ल्याउन थालेको उनी बताउँछन्।

विद्यार्थी राजनीतिबाट आएकाले पनि आफूलाई धेरै कुराको जानकारी रहेको उनको दाबी छ। आफ्ना कुरा राख्न सक्ने बन्नुपर्छ भन्ने बुझेपछि थप खोजी कार्यमा लागेका उनी सुनाउँछन्।

अन्तर्राष्ट्रिय कानुनको अध्ययन कै कारण उनले नेपाल संसद्को फरकपन बुझेका छन्। संसद्‌मा रहेका ‘विकारयुक्त’ शब्द फ्याँक्ने काम गरेका छन्। ‘आकस्मिक शब्दलाई ढ्यापढ्यापे भनिन्थ्यो। यो चाहिँ नेपाली मात्र भयो जस्तो लाग्यो,’ सापकोटा भन्छन्, ‘अंग्रेजी पनि हुने किसिमको बनाऊँ भन्ने सुझाव दिएँ। अनि नाम फेरियो।’ यसमा पनि सापकोटा ‘तार्किक’ जबाफ दिन्छन्। संसद्बारे विदेशीहरूले बुझ्न चाहे ‘ढ्यापढ्यापे’ शब्द नबुझ्ने भएकाले ‘आकस्मिक समय’ राख्न प्रस्ताव राखेको उनले बताए।

स्वाध्ययनलाई निरन्तरता

सुबोधको राजनीतिक ‘पानी ढलो’ विद्यार्थी राजनीति हो। औपचारिक अध्ययन भने बढाउन सकेनन्। सानैमा ‘जनयुद्ध’मा लागेकाले पढाइ पूरा हुन नसकेको उनी बताउँछन्। २०५१ सालमा अखिल (क्रान्तिकारी) मा लागेका सापकोटा २०५६ माघदेखि पूर्ण रूपमा भूमिगत भएर माओवादी आन्दोलनमा लागे। ‘जनयुद्ध’मा रहँदा औपचारिक शिक्षा लिने कुरै भएन। कमान्डर भएर खटिएका थिए। सापकोटा भन्छन्, ‘औपचारिक शिक्षा पूरै लिन पाएको भएको भए अझै राम्रो हुन्थ्यो।’

सापकोटा ‘जनयुद्ध’ मा कमान्डर भएर खटिएका थिए। खुला राजनीतिमा आएपछि पढ्ने वातावरण मिलेको उनी बताउँछन्। ‘त्यसबेला बाँच्नै गाह्रो थियो। सांसद हुने सपना थिएन,’ सापकोटा भन्छन्। खुला राजनीतिमा आएपछि उनले अध्ययनलाई निरन्तरता दिए।

‘परिवारवाद’ को आरोप

अघिल्ला चुनावमा अग्नि सापकोटाले उठेको क्षेत्रमा गएको निर्वाचनमा सापकोटा उम्मेदवार बने। उम्मेदवारबन्दा ‘काकाका ठाउँमा भतिजो उठेको’ आरोप लागेको थियो। पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा उनका साइँला काका हुन्। अग्निले भतिजालाई ठाउँ छाडिदिएको भन्नेहरू पनि थिए। अग्निले यसविषयमा बारम्बार खण्डन गरे। तर माधवले चुनाव जिते।

सापकोटा राजनीतिक परिवारमा जन्मिएका हुन्।  यस्तै अर्का काका कृष्णप्रसाद सापकोटा चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख छन्। उनका भाइ गणेश सापकोटा माओवादी प्रदेश सदस्य छन्।

यसबाहेक उनका दाजु विष्णु सापकोटा माओवादी निकट प्रेस सेन्टरमा आबद्ध छन्। यसबाहेक अग्निकै छोराहरू पनि राजनीतिमा छन्। आफू परिवारवादकै कारण मात्र यो स्थानमा नपुगेको माधवको दाबी छ। ‘लगाउनेले आरोप लगाउँछन्। म परिवारवादकै कारण यो स्थान पुगेको भने होइन,’ उनी भन्छन्, ‘सुरुसुरुमा धेरै कुरा आयो। संसद्को भाषण सुनेपछि भने धेरैले यो कुरा उठाउँदैनन्।’ उनी अहिले पनि सिन्धुपाल्चोकबाहिर केही व्यक्तिलाई मात्र यस्तो लागेको दाबी गर्छन्।

‘सापकोटाका अगाडि अरू फितला’

अग्रज पत्रकार ऋषिराम पौड्यालको बुझाइमा नयाँ सांसद भईकन त्यतिको विषयवस्तु बुझेर सदनमा प्रस्तुत हुने सांसद अरू छैनन्। केही वर्ष संसदीय मामिलामा पनि कलम चलाएका पौड्यालले भने, ‘नयाँ भईकन त्यतिको प्रभावशाली अभिव्यक्ति दिने माओवादीमा अरू कोही छैनन्। सापकोटा विषयवस्तुलाई गिजोलगाजल नगरीकन अध्ययन गरेर संसद्‌मा प्रस्तुत भएको देखिन्छ।’

संसद्‌मा पहिलोचोटि आएर सबै विषयमा प्रस्तुत हुने गरेका कारण सापकोटा माओवादीका अन्य सांसदभन्दा अगाडि रहेको पौड्याल बताउँछन्।

संसद् बैठकमा सम्बोधन गर्दै सांसद माधव सापकोटा ‘सुबोध’।  फाइल तस्बिर

अबको यात्रा

सापकोटासँग राजनीतिक भविष्यका विषयमा प्रस्ट जबाफ छैन। उनी राजनीतिलाई ‘आकस्मिक यात्रा’ भन्छन्। सम्भावनाका ढोका खुल्नेमा भने उनी आशावादी छन्। संसद्बाट सरकारको खबरदारी गर्ने उनको योजना छ। ‘अब त प्रतिपक्षमा पुगियो। सुशासन र कानुन निर्माणलाई प्राथमिकता दिने सोचमा छु,’उनी थप्छन्।

कुनै बेला उनी मन्त्री हुने हल्ला पनि चलेकै हो। कतिपय मिडियाले ‘सञ्चारमन्त्री’ बन्ने समाचार लेखेका थिए। तर त्यसमा सत्यता नभएको सापकोटा बताउँछन्। अब माओवादीलाई सशक्त बनाउने र संगठन विस्तारमा खटिने योजना उनको छ

‘अहिले पनि म सिन्धुपाल्चोकमा छु। पहिरो गएर क्षति भएकाले म यता आएको हुँ’, सापकोटाले फोन सम्पर्कमा भने, ‘जनताको घरदैलोमा पुगेर यस्तो समस्या बुझ्दा खुसी लाग्छ।’

संगठन र सैन्य मोर्चाको अनुभव

सापकोटा २०५१ सालमा माओवादी विद्यार्थी भ्रातृ संगठन अखिल (क्रान्तिकारी) बाल एकाइ समितिमा संगठित भएका थिए। २०५२ भदौमा संगठनको सेतीदेवी पञ्चकन्या मावि एकाइ समितिमा आबद्ध उनी २०५३ सालमा विद्यालय एकाइ समिति अध्यक्ष भए।

सापकोटा २०५४ सालमा क्षेत्रीय समिति सदस्य हुँदै २०५५ सालमा जिल्ला समिति सदस्य, २०५६ साल साउनदेखि जिल्ला उपाध्यक्ष भए। २०५६ साल पुसदेखि २०५८ सम्म अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्षको जिम्मेवारी निर्वाह गरे।

२०५७ साल तत्कालीन पूर्वी पहाडी क्षेत्रीय समन्वय समिति संयोजक रहेका सापकोटा २०५८ असोजमा संगठनको केन्द्रीय समिति सदस्य बने। विद्यार्थी राजनीतिकै क्रममा २०५४ असोजमा सापकोटाले पार्टी सदस्यता प्राप्त गरेर सेल कमिटीमा संगठित भए।

२०५५ सालमा सेल सेक्रेटरी भएर पूर्णकालीन बने। उनी २०५६ साल माघदेखि पूर्ण रूपमा भूमिगत भएर माओवादी आन्दोलनमा सक्रिय रूपमा लागेका थिए।

२०५६ चैतदेखि सिन्धुपाल्चोक र दोलखा संयुक्त जिल्लाअन्तर्गत ५ नं एरिया समिति सदस्य भएका सापकोटा २०५७ चैतदेखि सिन्धुपाल्चोक र दोलखा विशेष जिल्ला समिति सदस्य बने। २०५८ माघदेखि सिन्धुपाल्चोक र दोलखा जिल्ला सचिवालय समिति सदस्य भएका उनले २०६० जेठदेखि सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरेकमा थिए।

२०६० भदौदेखि उपक्षेत्रीय ब्युरो सदस्य भएका सापकोटा २०६१ देखि क्षेत्रीय ब्युरो सदस्य हुँदै २०६३ साउनदेखि सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिकामा फर्किए।

राजनीतिक संगठनका साथसाथै सापकोटा जनमुक्ति सेनामा पनि विशिष्ट भूमिकामा रहे। २०५८ मा तत्कालीन जनमुक्ति सेनामा स्क्वार्ड कमान्डर रहेका उनी २०५९ मा प्लाटुन कमान्डर बने। यस्तै उनले २०५९ मा कम्पनी सहकमिसारको जिम्मेवारी सम्हालेका थिए।

२०६१ चैतमा कम्पनी कमिसार भएका सापकोटा २०६२ असारमा ११औँ बटालियन सहकमिसार बने। सापकोटाले ‘जनयुद्ध’ कालमा कुशल कमान्डरका रूपमा केही आक्रमणमा नेतृत्व गरेका थिए।

२०६३ वैशाख १० गते सिन्धुपाल्चोक सदरमुकाम चौतारामा माओवादीले आक्रमण गर्दा कमान्डर सापकोटा थिए। आक्रमणका क्रममा उनलाई गोली लागेर उनी गम्भीर घाइते भएका थिए। अन्य दुई आक्रमणमा पनि घाइते भएको उनी स्मरण गर्छन्।

सापकोटाले २०६५ देखि ताम्सालिङ राज्य समिति सचिवालय सदस्य एवम् सिन्धुपाल्चोक जिल्ला सहसेक्रेटरीको भूमिका निर्वाह गरे। उनी २०७१ असार ११ मा सिन्धुपाल्चोक जिल्ला पार्टी अध्यक्ष भए। २०७३ मा पार्टीको केन्द्रीय सदस्य बने।

उनी २०७५ जेठ ३ गते पार्टी एकतापछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहइन्चार्ज बने। सापकोटा २०७८ देखि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सहइन्चार्ज बने। २०७९ वैशाखदेखि सिन्धुपाल्चोक जिल्ला पार्टी इन्चार्ज बनेका उनी २०७९ असारदेखि माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्जका रूपमा कार्यरत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =