रहिनन् प्रेरणादायी महिला उद्यमी अम्बिका श्रेष्ठ

हिमाल प्रेस ३ साउन २०८१ १८:०१
34
SHARES
रहिनन् प्रेरणादायी महिला उद्यमी अम्बिका श्रेष्ठ

काठमाडौँ- नेपालको पर्यटन, संस्कृति संरक्षण एवं महिला सशक्तीकरणकी प्रेरणादायी महिला उद्यमी अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा बिहीबार निधन भएको छ। निमोनिया र बाथ रोगबाट ग्रसित उनको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो। उनको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारिक स्रोतले जनाएको छ।

उनी द्वारिकाज होटलकी अध्यक्षसमेत हुन्। उनी र उनका पति द्वारिकादास श्रेष्ठले सानो गेस्ट हाउसबाट सुरु गरेको द्वारिकाज होटल अहिले विश्वमै चर्चित छ। यसलाई सम्पदा होटलका रुपमा पनि चिनिन्छ।

नेपालको पर्यटनमा उनको योगदान द्वारिकाजमा मात्रै सीमित छैन। उनले ट्रेकिङ एजेन्सिजहरूलाई संगठित गर्ने काम पनि गरिन्। सन् १९७० को दशकमा उनकै अगुवाइमा ट्रेकिङ एजेन्सिजहरूको संस्था टान स्थापना भएको हो। त्यतिबेला थोरै मात्रै पर्यटन व्यवसायीहरू थिए। त्यसपछि उनले साहसिक पर्यटनलाई उद्योगकै रूपमा विकास गर्न भूमिका खेलेकी थिइन्।

उनले आफ्ना पतिसँग मिलेर ट्राभल एजेन्सी र ट्रेकिङ एजेन्सीलाई पनि सँगै अघि बढाइन्, जसले नेपालको प्रकृति र संस्कृतिलाई विश्वसामु फैलाउन मद्दत गरेको छ।

श्रेष्ठले नेपालका लागि स्पेनका अवैतनिक महावाणिज्यदूतको रूपमा पनि काम गरेकी थिइन्। उनले नेपाल-स्पेन सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम र गतिविधिहरू गरेकी थिइन्।

भारतको दार्जिलिङमा जन्मिएकी उनी सन् १९५० को दशकमा द्वारिकादास श्रेष्ठसँग विवाह गरेर नेपाल आएकी थिइन्।

महिलाहरू घरेलु काममा मात्रै सीमित रहने त्यो बेलामा उनले त्यसलाई तोड्न सफल भइन् र एक सफल पर्यटन व्यवसायीका रुपमा स्थापित भइन्। उनले अमेरिकी दूतावासका लागि पनि काम गरिन्। साथै अंग्रेजी पनि पढाइन्। उनी द्वारिकादास मावि चितवनकी संस्थापक पनि हुन्।

प्रकाशित: ३ साउन २०८१ १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =