मधेशमा टर्‍यो संकट : कांग्रेसलाई अर्थ मन्त्रालय दिन जनमत तयार, साँझ शपथ

हिमाल प्रेस ३ साउन २०८१ १५:५३
50
SHARES
मधेशमा टर्‍यो संकट : कांग्रेसलाई अर्थ मन्त्रालय दिन जनमत तयार, साँझ शपथ

काठमाडौँ-  मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सामेल हुने भएको छ। जनमत नेतृत्वको मुख्यमन्त्री सतिशकुमार सिंह अर्थ मन्त्रालय दिन सहमत भएपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको हो।

कांग्रेसका तर्फबाट सुनिलकुमार यादव (रौतहट) ले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। त्यस्तै ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्रीमा शेषनारायण यादव (धनुषा), कृषिमन्त्रीमा जनार्दनसिंह क्षेत्री (पर्सा) र श्रममन्त्रीमा कौशल राय (सर्लाही) लाई कांग्रेसले सरकारमा पठाउने भएको छ।

नवनियुक्त मन्त्रीहरूले साँझ ५ बजे शपथ लिने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ। यसअघि जनमत पार्टीले अर्थ मन्त्रालय नदिने अडान लिएपछि विश्वासको मत दिए पनि कांग्रेस सरकारमा सहभागी भएको थिएन।

विश्वासको मत प्राप्त गरेको दुई सातासम्म मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय नदिने संकेत दिएपछि कांग्रेस प्रदेश समिति र संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो।

कांग्रेसले समर्थन फिर्ता लिँदा सरकार नै नटिक्ने अवस्था देखेपछि जनमत पार्टी अर्थ मन्त्रालय नछोड्ने अडानबाट ‘ब्याकु भएको हो।

जनमत पार्टीका प्रवक्ता शरतसिंह यादवले बिहीबारमात्रै सरकारको नेतृत्व गर्ने दलले नै अर्थ मन्त्रालय लिने परम्परा रहेकाले आफूहरू यो अडानबाट पछि नहट्ने बताएका थिए। २५ जेठमा एमाले तथा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका जनमतका सिंहले २२ असारमा प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए।

मुख्यमन्त्री नियुक्त भएको केही दिन नबित्दै केन्द्रमा सत्ता समीकरण फेरिएपछि त्यसको बाछिटा मधेशमा पनि पर्‍यो।  माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरेसँगै सिंह अल्पमतमा परेका थिए। कांग्रेस, एमाले र लोसपालगायतका दलले विश्वासको मत दिएपछि सरकार जोगाउन सिंह सफल भएका थिए।

विश्वासको मत दिनुअघि अर्थसहित चार मन्त्री र दुई राज्यमन्त्री कांग्रेसले पाउने सहमति जनमतले गरेको थियो। तर अर्थ मन्त्रालयमा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको थियो। शीर्ष तहमै सहमति बनेपछि जनमत पार्टी कांग्रेसलाई अर्थ मन्त्रालय दिन तयार भएको छ।

मधेश प्रदेश : आफ्नै ‘हठ’ ले संकटमा जनमत सरकार

प्रकाशित: ३ साउन २०८१ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =